सात घण्टाको आगलागीमा ७० करोडको क्षति «

सात घण्टाको आगलागीमा ७० करोडको क्षति

अढाइ दशक पुरानो कार्पेट उद्योग ६ महिनासम्म उत्पादन नै गर्न नसक्ने गरी क्षतिग्रस्त भएको छ । भक्तपुरको सल्लाघारीस्थित मुलुककै सबैभन्दा ठूलो यति कार्पेट उद्योग आगलागीका कारण क्षतिग्रस्त भएको हो ।

उद्योगमा शनिबार राति साढे ११ बजे विद्युत सर्ट भए लागेको आगो आइतबार विहान ७ बजे मात्र नियन्त्रणमा आएको आयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आठ वटा दमकलमार्फत निरन्तर प्रयास गर्दा साढे सात घण्टामा आगो निभेको हो ।

आगो निभ्दासम्म उद्योगका २ वटा भवन, पाँच वटा टहरा, कच्चा पदार्थ, २ वटा गाडी र डिजेल स्टोर नष्ट भएका थिए । उद्योगका संचालक अनिल केडियाले आगलागीबाट ७० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । यो क्षति आगलागीबाट भएको अहिलेसम्मकै सबैभन्दा ठूलो औद्योगिक क्षति हो ।

उद्योगमा केही कामदार समेत रहेकामा आगलागीबाट कुनै मानवीय क्षति भने भएन । वार्षिक १० लाख मिटर कार्पेट उत्पादन गर्दै आएको उद्योगले नेपाली कार्पेट बजारमा ६० प्रतिशत हिस्सा ओगट्दै आएको छ । तर आगलागीले गर्दा भएको क्षतिका कारण उद्योग संचालनमा ल्याउन अब कम्तिमा ६ महिना लाग्ने संचालक केडियाले बताए ।

प्रतिक्रिया दिनुहोस्