एलजीको विश्वकै पहिलो मोड्न मिल्ने टेलिभिजन «

एलजीको विश्वकै पहिलो मोड्न मिल्ने टेलिभिजन

अमेरिकामा चलिरहेको सीइएस २०१९ मा प्रविधि कम्पनी एलजीले विश्वकै पहिलो मोड्न मिल्ने (रोलेबल) टेलिभिजन सार्वजनिक गरेको छ । फोल्डेवल फोनको चर्चा मात्र चलिरहँदा कम्पनीले फोल्डेबल टेलिभिजन नै सार्वजनिक गरेको हो ।
एलजी इलेक्ट्रोनिक्सले सार्वजनिक गरेको मोड्न सकिने टेलिभिजन ओएलईडी गुणस्तरको हो । सिग्नेचर ओएलईडी टिभी आर नामक टिभीलाई प्रयोग नभएको बेला एउटा बक्समा मोडेर राख्न सकिन्छ । यो रोलेबल टिभी कन्सेप्ट कम्पनीले गत वर्षको सीईएस २०१८ मा देखाएको थियो भने अहिले हेर्न मिल्ने गरी सार्वजनिक गरेको छ । ६५ इन्चको यो सिग्नेचर ओएलईडी टेलिभिजन यसै वर्षभित्र बजारमा ल्याउने घोषणा कम्पनीले गरेको छ ।
यो टिभी हेर्नको लागि पावर अन गरेपछि रोल गरेको बक्सबाट विस्तारै टिभीको डिस्प्ले बाहिर आउँछ भने विद्युत् अफ गरेपछि बिस्तारै पुनः सोहि बक्समा गएर रोल भएर बस्दछ । एलजीका अनुसार यो रोल गर्न मिल्ने टिभीलाई ५० हजार पटक मोड्ने र खोल्ने परीक्षण गरिएको छ । दिनको ८ पटक मात्र पावर अन अफ गरियो भने यो टेलिभिजन कम्तिमा १७ वर्षसम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्