वीरगन्जमा आईटी मेला हुँदै «

वीरगन्जमा आईटी मेला हुँदै

वीरगन्ज – आर्थिक तथा औद्योगिक राजधानी वीरगन्जमा प्रदेश २ कै पहिलो सूचना प्रविधि मेला हुने भएको छ । वीरगन्जलाई आईटी हब बनाउन कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) पर्साले वीरगन्जमा पुस २७ गतेदेखि ३० गतेसम्म आईटी मेलाको आयोजना गर्ने भएको हो ।
क्यानका जिल्ला अध्यक्ष आलोक चौरसियाले ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’ आयोजना गर्न लागेको जानकारी गराउँदै अहिले सूचना प्रविधि हरेक व्यक्तिसँग दिनदिनै जोडिनुपर्ने साधन भएकाले प्रदेश २ लाई नेपालकै आईटी हब बनाउने संकल्प लिएर मेला आयोजना गर्न लागेको बताए । करिब ५० लाखको लागतमा वीरगन्जको नगर गृहसभामा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष चौरसियाले जानकारी दिए ।
मेलामा आईटीसम्बन्धी विभिन्न ७० वटाभन्दा बढी स्टल राखिनेछन् । काठमाडौंपछि दोश्रो स्थानका रूपमा क्यानले आईटीसम्बन्धी ठूलो मेलाको आयोजना गर्न लागेको हो । प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिले परिकल्पना गरेको स्मार्ट सिटीका आधारभूत पूर्वाधारलाई मध्यनजर गर्दै क्यानले आईटी मेलाको आयोजना गरेको बताइएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि आईटी मेला उपयोगी हुने आयोजकले विश्वास लिएको छ ।
मेलामा प्रमुख आकर्षणका रूपमा रोबोट, हार्डवेयर स्टल, सफ्टवेयर, थ्रिडी शो, भर्चुअल रियलिटी सो, स्मार्ट फोन, मोबाइल फोन, इन्टरनेट, अल्ट्रानेट र बालबालिकाका लागि प्लानिटेरियम लगायत आधुनिक युगमा विकसित तथा अद्यावधिक प्रविधिको प्रदर्शनी हुनेछ । इन्फर्मेसन, कम्युनिकेसन र टेक्नोलोजी क्षेत्रमा भएका पछिल्ला विकासबारे उपभोक्ताले यस मेलामार्फत् प्रत्येक दिन फरक खालका जानकारी पाउन सक्ने दाबी आयोजकको छ ।
मेलामा आईटीका इन्जिनियर तथा विशेषज्ञ र संघीय सांसददेखि जनप्रतिनिधिसँग आईटीलाई अगाडि बढाउने र सफ्टवेयर विकासबारे अन्तरक्रियात्मक कार्यक्रम समेत हुनेछ । मुनाफाका लागि नभई आईटीसम्बन्धी जनचेतना फैलाउनका लागि आयोजना गर्न लागिएको मेलामा सहभागीले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ उपकरण अवलोकन तथा खरिदसमेत गर्न पाउने व्यवस्था मिलाइएको क्यानका उपाध्यक्ष प्रशान्त साहले बताए । करिब एक लाखभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्