मैलुङ खोला जलविद्युत्को आईपीओमा आजदेखि आवेदन खुला «

मैलुङ खोला जलविद्युत्को आईपीओमा आजदेखि आवेदन खुला

Print

मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले बिक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि बिक्री गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । छिटोमा साउन १८ गतेसम्म बिक्रीमा रहनेछ भने उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म आईपीओ बिक्रीमा रहने कम्पनीले बताएको छ ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिटै पूरा गर्न नसक्ने संकेत गर्दछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
आयोजना प्रभावित स्थानीयमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता सेयर वितरण गरेको छ । उक्त कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ कायम हुनेछ । यो सेयरमा संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।

प्रतिक्रिया दिनुहोस्