नेपाल खोप परीक्षण गर्ने प्रयोगशाला नबनोस् «

नेपाल खोप परीक्षण गर्ने प्रयोगशाला नबनोस्

सन् २०१९ को डिसेम्बरबाट फैलिएको कोभिड–१९ आज विश्वका सबै देशमा महामारीका रूपमा फैलिएको छ । विश्वलाई त्राहि–त्राहि बनाउँदै यसले लगभग लाखौं मानिसको ज्यान पनि लिइसकेको छ । यसले अर्थतन्त्रलाई ध्वस्त त बनायो नै, सामाजिक मानवीय सम्बन्धलाई समेत जर्जर बनाइदियो । मानिसहरू कहाँ कतिखेर के हुन्छ भन्दै त्रसित बनिरहेका छन् । यसको छिटो समाधानको पर्खाइमा आमनागरिक कुरिरहेका छन् । यस महामारीविरुद्धको खोप विभिन्न देशहरूमा प्रतिस्पर्धात्मक रूपमा उत्पादन र वितरण पनि भइरहेको पाइन्छ । तर, यो परीक्षणका रूपमा थोरै सीमित मात्र देशमा भित्रिरहेको छ । यसबाट हामी परीक्षणका रूपमा प्रयोग त भइरहेका छैनौं ? आशंकाको वातावरण सिर्जना नगरोस् ।
नेपालले यही वैशाख १६ गतेबाट तेस्रो चरणको बन्दाबन्दी सुरु गरेको थियो । यसको सुरुवातीसँगै भारतले दिएको कोभिसिल्ड र चीनले दिएको भेरोसिल्ड नामक कोरोनाविरुद्धको खोपको पहिलो डोज लगभग ७ प्रतिशतलाई मात्र दिइयो । थप खोप नभएका कारण बन्द गरियो । कोरोना संक्रमण उकालोलाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोडभन्दा बढी नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ २०७७ देखि खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनहरूलाई खोप दिइयो । भारतको सेरम इस्टिच्युटसँग २० लाख खोप किन्ने सहमति भए पनि १० लाख डोज मात्र नेपाल आइपुगेको थियो । भारतीय सेनाले नेपाली सेनालाई दिएको ३ लाख ४८ हजार डोजसमेत जोड्दा कुल २३ लाख ४८ हजार कोभिसिल्ड खोप नेपालमा आइपुगेको थियो ।
यसैगरी चीन सरकारले भेरोसिल्ड अनुदानमा दिएपछि नेपालीहरूले पहिलो डोज चिनियाँ भेरोसिल्ड लगाउने अवसर प्राप्त गरे । उपत्यकामा भेरोसिल्डको पहिलो डोज चैत २५ गतेदेखि लगाउन सुरु भएको थियो भने कोभिसिल्डको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाउन सुरु गरिएको थियो । करिब २ करोड १५ लाख जनालाई निःशुल्क कोरोनाविरुद्धको खोप दिने लक्ष्य सरकारले लिएको छ । अहिले पहिलो चरणमा भारत र चीन दुवै देशले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराए ।
नेपाललाई २० लाख डोज भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता गरेको भारतमा कोरोना महामारी भयावह बनिरहेको छ । दिनमै लाखौँ संक्रमित र हजारौंको संख्यामा मृत्यु भइरहेको स्थितिमा नेपाललाई भ्याक्सिन दिनु आफ्नो देशमा अभाव भइरहेको छ; तसर्थ नेपालमा कोभिसिल्ड परीक्षण त भइरहेको होइन ? शंका उत्पन्न हुने वातावरण बन्दै जानु राम्रो होइन । त्यसैगरी चीनले नेपाललाई मात्र ८ लाख डोज भेरोसिल्ड अनुदानका रूपमा उपलब्ध गराउनु परीक्षण नभएर के हो ? अनुदानमा फकाएर परीक्षण गर्ने र परिणाम हेरेर उत्पादन गर्ने रणनीति उत्पादकहरूले गरिरहेका छन् । विश्वका विकसित तथा उत्पादक देशहरूले उत्पादन गरेको औषधिजन्य वस्तुहरू अतिकम विकसित वा विकासशील मुलुकमा परीक्षण गर्दै आइरहेका छन् । त्यसैले सित्तैंमा भन्दै घरघर सुई लाउँदै हिँड्ने, घरघरमा औषधि बाँड्दै प्रयोगमा बाध्यता सिर्जना गर्ने गरेको आजसम्मको अनुभवले बताइरहेको छ । हात्तीपाइले रोगको औषधिले धेरैको ज्यान लिएको अनुभव पनि हामीबाट टाढा छैन ।
यो महामारीबाट आक्रान्त बनेका आमनागरिकले पानीलाई भ्याक्सिन भन्दा पनि पत्याउने स्थिति छ । रोगबाट थलिएकालाई औषधि भनेर जे दिए पनि स्वीकार गर्ने मनस्थिति बन्छ । यो समयमा बिनास्वार्थ उपचारको खाँचो छ । ३ करोड जनसंख्या भएको मुलुकमा १० लाख डोज, ८ लाख डोज, त्यो पनि अनुदानमा । परीक्षण गरी परिपक्व बनाएर परिपक्व भ्याक्सिन नेपाललाई नै बेच्न सजिलो हुन्छ भन्ने रणनीति उनीहरूले लिइरहेका छन् । किनभने हिजो अनुदानमा पनि दिएको त हो नि । यसरी हामी नेपालीको ज्यान परीक्षणको प्रयोगशाला नबनोस्, नेपालीले परिपक्व तयारी वस्तुको उपयोग गर्न पाऊन् । ३ करोडमा २०-२२ लाखलाई मात्र लगाइएको भ्याक्सिनले कुनै अर्थ राख्दैन, जुन परीक्षण हो जस्तो मात्र देखिन्छ । सुनिन्छ, कतिपय देशहरू भ्याक्सिनको प्रयोग पर्ख र हेरको अवस्थामा छन् । हामी सित्तैं पाएपछि प्रयोग गरिहाल्ने संस्कृतिबाट हुर्किएका छौं ।
हरेक समयको अन्तरालमा विश्वमा कुनै न कुनै रोग महामारीको रूपमा फैलिँदै आइरहेको छ । यो प्रकृतिप्रदत्त रोग हो, जुन मानिसको वशमा छैन । एक मानिसबाट अर्को मानिसमा सर्ने र मानवीय क्षति गराउने कोभिड–१९ आज महामारी बनेर विश्वमा फैलिरहेको छ । समग्रमा भन्नुपर्दा यस्ता रोग समय–समयमा आउने र मानवीय क्षति गराएर जाने प्रवृत्ति परापूर्व कालदेखिकै हो । यो नौलो होइन । यसर्थ यसबाट डराएर खुट्टा कमाउनुभन्दा पनि यसबाट सावधानी अपनाउनुपर्छ । डराएर रोग थप्नुभन्दा पनि साहसका साथ रोगको मुकाबिला गर्नुले हामी सुरक्षित हुन सक्छौं । यस्ता रोगहरूको प्राचीन इतिहासबाट सावधानीको साहस बटुलौं । परिस्थितिअनुसार सामाजिक संरक्षण र सामाजिक सुरक्षा आमनागरिकको चासोको विषय बन्ने गर्छ । शिथिलले सक्षमको आशा गर्छ, यो मानवीय परम्परा हो । सरकार सक्षम हुन्छ । आमनागरिक सरकारसमक्ष सामाजिक बचाउ र सुरक्षाको आशामा बाँचिरहेका हुन्छन् । नागरिकले आफ्ना आधारभूत आवश्यकताको परिपूर्ति आफैं गर्न नसक्ने अवस्थामा मानवीय मर्यादाका लागि आधारभूत आवश्यकताको सुनिश्चितता सरकारसँग निहित रहेको हुन्छ । अहिले आमनेपालीलाई रोग र भोकबाट बचाउनुपरेको छ । यतिखेर परीक्षणको प्रयोगशालाभन्दा पनि प्रयोगबाट रोग र भोक मेटाउन जरुरी भएको छ ।
मानवको संरक्षण मानवीय पुँजीको संरक्षण हो । समाजमा आर्थिक, सामाजिक र शारीरिक रूपले कमजोर एवं गरिबी तथा विपन्नताले जोखिमपूर्ण अवस्थामा रहेका मानिसलाई उनीहरूको अवस्थामा थप कमजोर हुन नदिन सरकारले निर्वाह गर्ने भूमिका सामाजिक बचाउ वा संरक्षण हो । यस विषम परिस्थितिमा सरकारले हुनेखानेभन्दा पनि हुँदा खाने नागरिकलाई ध्यान दिनुपर्छ । हुँदा खाने वर्गलाई सरकारको संरक्षण बढी आवश्यक हुन्छ । तिनीहरूको शारीरिक, मानसिक पक्षलाई स्वस्थ र स्वच्छ राख्न उनीहरूको बचाउ गर्ने अभिभावक भनेको सरकार मात्र हो । समय र परिस्थितिले सिर्जना गरेको समस्याबाट उन्मुक्ति दिलाउने काम सरकारसँग जोडिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्