बढ्दै व्यापारघाटा, खुम्चिँदै नाफा व्यापार गर्ने मुलुक «

बढ्दै व्यापारघाटा, खुम्चिँदै नाफा व्यापार गर्ने मुलुक

नेपालको वैदेशिक व्यापार फैलिँदै गएको छ । गत आर्थिक वर्षमा नेपालले विश्वका १ सय ६१ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ सय ५५ वटा मुलुकसँग मात्रै व्यापार गरेको नेपालले गत आर्थिक वर्षमा थप ६ मुलुकसँग व्यापार सुरु गर्नु सकारात्मक संकेत हो । तर, नेपालको वैदेशिक व्यापारमा सदावहार समस्या छ । सुरुमा ती मुलुकसँग नेपालको व्यापार नाफा हुन्छ अनि बिस्तारै ती मुलुकले आफ्नो निर्यात नेपालमा बढाउन थाल्छन्, नेपालको ती मुलुकमा निर्यात सुक्न थाल्छ । नेपाली व्यापारी पनि सुरुमा जति सक्रिय रूपमा निर्यातमा जोड दिन्छन्, बिस्तारै आयातमा मात्रै संकुचित हुन थाल्छन् । सरकारको आफ्नै नीति आयातमुखी हुनु तथा उत्पादनशील उद्योगमा प्रशासनिकदेखि प्रक्रियागत एवं अन्य विभिन्न समस्याका चाङका कारण नेपाली उद्यमीहरू बिस्तारै व्यापारमा रमाउन थालेका छन्, जसका कारण नेपालको आयात बढ्दै जाने र निर्यातमा त्यति केन्द्रित नभएको स्थिति छ । जसका कारण नै नेपालले गत आर्थिक वर्ष २०७७-०७८ मा १ सय ६१ मुलुकसँग वैदेशिक व्यापार गर्दा करिब–करिब सबै मुलुक अर्थात् १ सय ४० मुलुकसँग नेपालको व्यापारघाटा रहेको छ भने जम्मा २१ वटा मुलुकसँग मात्र व्यापार नाफामा रहेको छ । एक आर्थिक वर्षअगाडि १ सय ५५ मुलुकसँग वैदशिक व्यापार गरेको नेपालले जम्मा २५ वटा देशसँग नाफा व्यापार गरेको थियो । तर, गत आर्थिक वर्ष २०७७-०७८ मा वैदेशिक व्यापार गर्ने मुलुक बढे पनि नेपालको व्यापार नाफा हुने देश भने घटेका छन् । व्यापार नाफामा रहेका मुलुकहरूमध्ये मोनाको, मादिभ्स, लेबनान, कंगो, इस्टोनिया, अजरबैजान, होन्डुरसलगायतका मुलुक रहेका छन्, जुन मुलुकसँग वास्तवमा नेपालले आयात गर्नु पर्ने खासै उत्पादन छैन । त्यसैले ती मुलुकबाट आयात कम हुँदा नाफामा रहेका हुन् ।
नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भारत नै हो । त्यसपछि पछिल्ला वर्षहरूमा उत्तरी छिमेकी चीनसँग पनि नेपालको व्यापारघाटा बढ्दो गतिमा रहेको छ । सबैभन्दा धेरै व्यापार हुने भारतबाट गत आर्थिक वर्ष २०७७-०७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको आयात हुँदा भारततर्फ मात्र ९ खर्ब ७१ खर्ब ६० करोड ३९ लाख ४५ हजार रुपैयाँ निर्यात भएको छ । नेपालबाट १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको कुल निर्यात भएको छ, जुन नेपालको हालसम्मको उच्च निर्यात हो । कुल निर्यातमा भारतको अंश पनि केही बढेको छ । तर, नेपालको सबैभन्दा धेरै व्यापारघाटा भारतसँग नै छ । जुन गत आर्थिक वर्ष २०७७-०७८ मा ८ खर्ब ६५ अर्ब २३ करोड १८ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै, चीनबाट २३ अर्ब ३९ करोड २३ लाख ६० हजार रुपैयाँको आयात हुँदा जम्मा १ अर्ब १६ करोड ५७ लाख रुपैयाँको मात्र निर्यात भएको छ । यसरी उत्तरतर्फको विश्वको सबैभन्दा ठूलो बजारबाट पनि नेपालले लाभ लिन सकेको छैन । भारत तथा चीनपछि नेपालको व्यापारघाटा गत तीन आर्थिक वर्षदेखि अमेरिकासँग पनि बढ्दै गएको छ । गत आवमा अमेरिकबाट १९ अर्ब ५० करोड १४ लाख १६ हजार रुपैयाँको आयात हुँदा अमेरिकातर्फ १३ अर्ब ७९ करोड ३५ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै, नेपालको भुटानसँग पनि व्यापारघाटा रहेको छ । गत आव २०७७-०७८ मा भुटानबाट १ अर्ब २० करोड ३३ लाख ७१ हजारको सामान आयात हुँदा भुटानतर्फ ६३ करोड ६३ लाख ३२ हजारको वस्तु निर्यात भएको छ । यसरी निर्यात व्यापारमा नेपालको प्रतिस्पर्धी लाभ नहुँदा मुलुक बिस्तारै आयातित अर्थतन्त्र बन्दै गइरहेका कारण सरकारले तत्काल अर्थतन्त्रको संरचनागत परिवर्तनमा ध्यान नदिए निर्यात बढाउन असम्भव छ ।

प्रतिक्रिया दिनुहोस्