सुनचाँदी पसल लुटपाटमा पूर्वनेपाली सेना र पूर्वमाओवादी लडाकु संलग्न

मोरङ प्रहरीले लुटपाटका घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरूको साथबाट प्रहरीले अत्याधुनिक हातहतियारसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेमध्ये एकजना पूर्वनेपाली सेना र एकजना पूर्वमाओवादी लडाकु रहेको मोरङ प्रहरीले जनाएको छ । गएको साउन १ गते मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक सुनचाँदी पसलमा हातहतियारसहित लुटपाट गर्न पुगे पनि उनीहरू असफल भएका थिए । त्यसयता फरार रहेका अभियुक्तहरूलाई प्रहरीले सुनसरी मोरङका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभा घर भई इटहरीको तरहरा बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिकाका ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा घर भई तरहरा बस्ने ३० वर्षीय चिरञ्जीवी राई र मोरङको सुन्दरहरैंचाका २२ वर्षीय मिसन राई छन् । यसैगरी भोजपुर घर भई इटहरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैंचाका ३१ वर्षीय सन्तोष राई छन् ।
पक्राउ गरिएका अभियुक्तहरूले साउन १ गते ७ जनाको समूह बनाएर सुन्दरहरैंचा १० को त्रिवेणीचोकमा रहेको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी ज्ञानेन्द्र जिसीले बताए । घटनाको एक दिन अगाडिसमेत लुटेराहरूको समूहले सोही पसलमा लुटपाटको प्रयास गरे पनि त्यस दिनसमेत असफल भएको उनले बताए ।
घटनामा संलग्न ६ जना पक्राउ परे पनि समूहका एकजना अभैm पनि फरार रहेको र उनको खोजी जारी रहेको एसपी जिसीले जानकारी दिए । पक्राउ परेका मध्ये चन्द्रबहादुर राई नेपाली सेनाका पूर्वजवान र डाइमण्ड भन्ने प्रमोद चौधरी पूर्वमाओवादी कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तहरूले लुकाइ राखेको हतियारसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूबाट एसएमजी मेसिन गन १ थानसहित त्यसमा लाग्ने म्याग्जिन र ६२ थान गोली बरामद गरेको छ । यसैगरी १ थान कटुवा पेस्तोल, १ थान अटोमेटिक पेस्तोलसहित म्याग्जिन र गोलीहरू र एमपीआर लेखिएको सञ्चारसेटसमेत प्रहरीले बरामद गरेको छ ।
अभियुक्तहरूले ती सामग्रीहरू घटनापछि सुन्दरहरैंचा नगरपालिकाको वडानम्बर ५ मा रहेको नमुना सामुदायिक वनभित्र रुखको टोड्कामा लुकाई राखेका थिए । यसका साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ६ थान मोटरसाइकल, अटो एकथान र ८ थान मोबाइलसमेत बरामद गरेको छ ।
अभियुक्तविरुद्ध संगठित अपराध, हातहतियार र डकैतीसहितका विभिन्न मुद्दामा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।