सर्लाहीको एक पोखरीमा ९ दिनको शिशुसहित ३ जनाको शव फेला «

सर्लाहीको एक पोखरीमा ९ दिनको शिशुसहित ३ जनाको शव फेला

। सर्लाहीमा बह्मपुरी गाउँपालिकाको एक निजी पोखरीमा ९ दिनको शिशुसहित ३ जनाको लास (शव) फेला परेको छ ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको हो ।
मृतक फेला पर्नेमा सोही ठाउँ निवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोरा छ ।
गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव बुधबार बिहान स्थानीयवासीले सूर्यवंश चौधरीको पोखरीमा देखेपछि घटना सार्वजनिक भएको ब्रम्ह्पुरी ३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।
महिलाको मानसिक सन्तुलन ठीक नभएको उनले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ ।
उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्