कर तिर्न काठमाडौं महानगरपालिकाको अल्टिमेटम «

कर तिर्न काठमाडौं महानगरपालिकाको अल्टिमेटम

A woman approaches a car parked outside the premises of National Planning Commission in Singha Durbar, Kathmandu, in April, 2017. Photo courtesy: Laxmi Gautam via Google Maps


काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै बुधबारदेखि ३ दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । उनीहरूबाट करिब ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ ।
तोकिएको समयभित्र पनि अटेर गरेर कर नतिरे ती करदाताको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारबाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताए । उनले भने, “कर दाखिला तीन दिनभित्र पनि नगरे राजस्व ऐन, स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित कानुन, नीति, नियमअनुसार उनीहरूको व्यवसाय तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेलगायत कडा कारबाही गरिनेछ ।”
काठमाडौं महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लब, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाइटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, सहिद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् । त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ वटा ठूला कर दाताले अटेर गरेपछि ३ दिनभित्र कर असुल गर्न माइकिङसमेत गरेर ताकेता गर्नुपरेको महानगरले जनाएको छ । विभागीय प्रमुख अधिकारीले कतिपय करदातालाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताए ।
राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ । तर ठूला करदाताले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैले गर्नु परेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पारे । तत्काल सबैै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिनभित्र ३ वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदातालाई सूचितसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्