तङ्ग्रिँदै चितवन मिल्क «

तङ्ग्रिँदै चितवन मिल्क

चितवन-घाटामा गइ दुई वर्ष बन्द भएको मुलुककै सबैभन्दा ठूलो दूध पाउडर प्लान्ट तङ्ग्रिँन थालेको छ । तत्कालीन समयमा मिल्क होलिडे अन्त्यको उद्देश्यसमेत राखेर सरकारी पहलमा खुलेको उद्योग २०७२ को भूकम्पपछि भने बन्द भएको थियो ।
मुलुकका तीन वटा पाउडर प्लान्टमध्ये चितवन मिल्कले दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । पोखरामा रहेको सुजल डेरीको क्षमता १ लाख लिटर छ भने दुग्ध विकास संस्थानको विराटनगरस्थित पाउडल प्लान्टको क्षमता बढाएर हाल ६० हजार लिटर प्रतिदिन झोल दूधबाट पाउडर बनाउनसक्ने बनाइएको छ । “तीनवटै प्लान्ट सञ्चालमा रहिरहने हो भने अबको १० वर्षसम्म नेपालको मिल्क पाउडरको माग पूरा गर्न सक्ने क्षमता हामीमा छ,” चितवन मिल्कका अध्यक्ष राजुबाबु श्रेष्ठ भन्छन्, “यसै पनि घाटमा थियौं त्यसमाथि सरकार परिवर्तनसँगै परिवर्तन भइरहने सरकारी नीतिका कारण उद्योग नाफामा नजाने अवस्था देखिँदै गर्दा भैकम्पले पनि क्षति ग-यो, अब पूर्ण क्षमतामा चलाउन थालेका छौं ।”
अहिले कम्पनीले नाफा नोक्सान नहेरेको बरु किसानसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले पनि अब उद्योग बन्द नहुनेगरी सञ्चालनमा आएको उनको भनाइ छ । चितवन मिल्कले बटर र एसएमपी बनाउदै आएको छ भने डेरी ह्वाइटर्न छिटै नै उत्पादन थाल्ने जनाएको छ । १ लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । उद्योगबाट अहिले ७ देखि ८ टन उत्पादन भइरहेको छ । पाउडर मिल्कको ४ सयदेखि ५ पाँच सयको बीचमा मूल्य पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहको चितवन मिल्कका म्यानेजर दुर्गाप्रसाद पराजुलीले बताए । दुई वर्षसम्म बन्द भएकाले जनशक्ति कटौती गरेर २५ जनामा झारी काम गरिरहेको उनले जानकारी दिए ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) समेतको सेयर रहेको चितवन मिल्क पछिल्लो समयमा भने निजी डेरीहरूको पहल र साथले पुरानै अवस्थामा सञ्चालनमा आउन थालेको हो । दुग्ध विकास संस्थानलगायत करिब २८ वटा डेरीले बढी भएको दूध यहाँ ल्याउने र पाउडरमा कन्भर्ट गर्ने गरिरहेका छन् । चितवन मिल्कबाट अहिलेसम्म अढाई लाख लिटर दूध उद्योगीले ल्याएर पाउडर बनाइसकेका छन् ।
चितवन मिल्क खुल्ने समयमा दूधको मूल्य दुई सिजनमा फरक थियो । उत्पादन बढी हुने सिजनमा कम र उत्पादन कम हुने सुक्खा सिजनमा दूधको खरिद मूल्य बढी हुने अवस्था थियो । जुन व्यवस्था हट्नु पनि चितवन मिल्क घाटामा जाने अवस्था आएको उद्योगको दाबी छ । चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने सिजनमा उद्योगीहरूले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्यांकेर विरोध समेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले जिल्ला जिल्लामा आन्दोलनसमते गरेको थियो । चितवन मिल्क समेत देशभरीका तीनवटै पाउडर प्लान्ट सञ्चालन भएका कारण अब मिल्क होलिडेको समस्या नआउने भन्दै सहकारी संस्था, निजी डेरीहरू र स्थानीय किसानहरूले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्