टाटाको विद्युतीय गाडी नेपालमा सार्वजनिक «

टाटाको विद्युतीय गाडी नेपालमा सार्वजनिक

टाटा मोटर्सको लागि आधिकारिक बिक्रेता सिप्रदि ट्रेडिङ प्रालिले टाटाको नेक्सन ईभी नेपालमा सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक बिक्री भइरहेको बहुप्रतिक्षित नेक्सन इभी नेपाली बजारमा सार्वजनिक भएको हो । टाटाले अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदुषणरहीत तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएका जनाएको छ ।
नेक्सन ईभीले १२९ पीएस पावर र २४५ एनएम जेनेरेट गर्छ । ईभी केवल ९.९ सेकेण्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्दछ । टाटा नेक्सन ईभीको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको छ ।

३ वटा कलर र ३ वटा भेरियन्टमा नेक्सन ईभी उपलब्ध रहेको छ । जसमा एक्सएमको ३५ लाख ९९ हजार, एक्सजेट प्लस ३७ लाख ९९ हजार र एक्सजेट प्लस लक्जरीको ३९ लाख ९९ हजारमै गाडी उपलब्ध हुने भएको छ । टाटाले नेक्सन ईभी भित्र्याइ नेपालमा ‘टेस्ट ड्राइभ’ गरिसकेको छ । नेपालका तराई र पहाडी क्षेत्रका सडकमा टेस्ट ड्राइभ सफल भएको छ । गत आर्थिक वर्षमा भारतको विद्युतीय सवारी साधनको बजारमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।
नेपालभर रहेका २४ वटा नेटवर्क मध्ये अधिकांशमा नेक्सन ईभी सर्भिस उपलब्ध गर्ने व्यवस्था गरिसकेको छ । कम्पनीले उत्कृष्ट विद्युतीय गाडी भित्र्याउनुको अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्ग लगाएतका सुविधाहरु प्रदान गर्नेछ । कम्पनीले नेपालका मुख्य सडकमा १५ बढी चार्जिङ स्टेसन, सय बढी एसी चार्जिङ स्टेसन निर्माण गर्ने जानकारी दिएको छ । कुन ठाउँमा चार्जिङ स्टेसन रहेको छ भन्ने मोवाइल एप मार्फत पत्ता लगाउने सिस्टम समेत विकास गरिरहेको छ ।

यो गाडीमा भारतमा एक पटकको फुल चार्जमा ३१२ किलोमिटरसम्म गुडेको छ । नेपालमा टेस्ट ड्राइभ गर्दा कम्तिमा २५० किलोमिटर गुडेको छ ।
गाडीको ब्याट्रिमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको छ भने गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किमीसम्म वारेन्टी रहने छ । ‘इम्प्याक्ट डिजाइन २.०’ अवधारणा अन्तर्गत तयार पारिएको यसको बनावट अरु भन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ । गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको लागि बिशेष व्यवस्था पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्