सर्वसाधारणलाई हवाई टिकट पाउनै मुस्किल «

सर्वसाधारणलाई हवाई टिकट पाउनै मुस्किल


जुम्लाको हवाई सेवा अस्तव्यस्त बन्दै गएको छ । स्थानीय एजेन्टले टिकट वितरणमा मनपरी गर्न थालेपछि हवाई यात्रुले सास्ती पाएका छन् ।
चिनजान आफन्तले भनेकै बेला पाउने र सर्वसाधारण हप्ता दिनसम्म पनि हवाई टिकट नपाउने समस्या छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार, समिट एयरले शुक्रबार नेपाल एयरलाइन्सले हरेक आइतबार उडान भर्ने गरेको छ ।

तर, लामो समयदेखिनै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका अनुसार उडान हुँदैनन् ।
जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भएपनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्री वितरण गर्दा हवाई सेवा ठूलाबडामैत्री मात्रै भएको छ । सामान्य नागरिकले भनेकै बेला टिकट पाएपनि हप्तादिन कुर्नुपर्ने समस्या छ । एजेन्टले यात्रु दुवैतर्फ हुँदा उडान गर्ने र एकतर्फी मात्रै हुँदा पनि महंगो भाडा उठाउने गरेको गुनासो सर्वसाधारणको छ । कतिपय अवस्थामा एकतर्फी मात्रै यात्रु हुँदा घाटा हुने भन्दै उडान समेत रद्द हुने गरेका छन् ।
तालिका अनुसार हुने उडान र चार्टर उडानमा कुनै भिन्नता नभएको पाइएको छ । नेपालगञ्जबाट खाली आउनुपर्ने बहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् । यसले गर्दा यहाँका जनताले तालिका अनुसार उडान भर्न सकेका छैनन् । समिट एयरलाइन्सका स्टेशन म्यानेजर सन्तोष शाही भन्छन्, “यसमा हाम्रो कुनै हात हुँदैन । हामी आफैं टिकट पाउँदैनौं । निजी विमान कम्पनी एजेन्टसँग सम्झौता गरेको हुन्छ । यसको जिम्मेवार कम्पनी र एजेन्ट हुन् ।” नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख प्रकाश शर्माले टिकट बिक्री वितरणमा भएको महङ्गीबारे यात्रुले लिखित रुपमै निवेदन दिएको खण्डमा कारबाही हुने बताए ।
जुम्लादेखि नेपालगञ्जसम्मको भाडा ५ हजार ३ सय ३५ रुपैयाँ तोकिएको छ । तर जुम्लाका यात्रुबाट विमानका एजेन्टहरुले भने ७ हजारदेखि ८ हजारसम्म असुल्ने गरेका छन् । गत आइतबारमात्रै परीक्षा दिन नेपालगन्ज गएकी जुम्लाकी भीमा रावलले नेपालगञ्जसम्मको भाडा ७ हजार रुपैयाँ तिरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्