उद्योग संगठन मोरङले प्रदेश सरकारसँग सहकार्य गर्ने «

उद्योग संगठन मोरङले प्रदेश सरकारसँग सहकार्य गर्ने


देशको आर्थिक एवं औद्योगिक विकासमा टेवा पुुर्याउँदै आएको उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखी यस क्षेत्रलाई चलायमान बनाउन सञ्चालनमा ल्याउने कार्यक्रमहरुमा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षसँग छलफल गरेको छ ।
छलफलमा संगठना अध्यक्ष सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राइजिङ इस्ट र सीप विकास इकाईको स्थापना जस्ता कार्यक्रमले प्रदेशकै गरिमा अभिवृद्धि गर्दै यस क्षेत्रलाई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने भएकाले यस प्रकारका बहुआयामिक कार्यक्रमहरुमा प्रदेश सरकारलाई सहकार्य गर्न अनुरोध गरेका छन् । सरकार, निजी क्षेत्रबीच समन्वय गरेर सञ्चालन गरिने यस प्रकारको कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलता रुपान्तरण नया आयाम थपि दिगो इकोसिष्टमविकास गर्न सहयोग पु¥याउने अध्यक्ष प्याकुरेलले बताए ।
त्यसैगरी उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले संयुक्त रुपमा सञ्चालन गरेको ‘मेरो देश, मेरै उत्पादन’का साथै संगठन, संघ, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तीव्रता दिन प्रदेश सरकार समक्ष अध्यक्ष प्याकुरेलले अनुरोध गरे ।
कार्यक्रममा प्रदेश–१ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश कै समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको बताए । मन्त्री राईले समाजका हरेक तप्काका युवाहरु वैदेशिक रोजगारीको लालायित भएकाले त्यस्ता युवाहरुलाई स्वदेश मै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र निजी क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीन खम्बे अर्थतन्त्रलाई महत्व दिएको बताउँदै संगठनबाट प्रस्तुत योजनाले प्रदेश कै पहिचानलाई स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयको तर्फबाट पूर्ण सहयोग गर्ने बताए । उनले संगठनका तर्फबाट प्रस्तुत कार्ययोजनाले निजी क्षेत्र र प्रदेश सरकारको सहअस्तित्वलाई थप मजवुत बनाउने पनि बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशिलताको इको सिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह विश्वास व्यक्त गर्दै वर्तमान युग स्र्टाटअपको युग भएकाले स्र्टाटअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने धारणा राखे । उनले परम्परागत ढंगको सोच र अवधारणाबाट द्रूत आर्थिक विकासको लक्ष्य प्राप्त हुन नसक्ने भएकाले सोचमा परिवर्तन दिगो आर्थिक विकासको लक्ष्यसहित काम गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी उद्योग संगनठ मोरङले नविनतम व्यावसायिक योजनालाई उद्यमशिलता रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिक उत्तर दायित्व वहन गर्दै प्रारम्भ गरेको स्टार्टअप कार्यक्रममा प्रदेश–१ का पालिकाको युवाहरुको बढी सहभागिता सुनिश्चित गराउन १५ भन्दा बढी पालिकाहरुको उपप्रमुख र प्रशासकीय अधिकृतहरुका साथ भर्चुअल बैठक पनि आयोजना गरेको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सृजनात्मक सोच भएका युवाहरुलाई उद्यमशिलता विकास तथा व्यावसायिक रुपान्तरणका लागि सहजीकरण गर्दै वित्तिय पहुँच स्थापनाका साथै अन्य सेवाहरु उपलब्धताका लागि उद्योग संगठन मोरङले यस कार्यक्रममार्फत सहजिकरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्