‘विपन्नलाई ऊर्जामा न्याय देऊ’ «

‘विपन्नलाई ऊर्जामा न्याय देऊ’


ऊर्जा क्षेत्रका सरोकारवालाहरुले गरिब र विपन्न वर्गलाई ऊर्जामा न्याय दिनुपर्ने बताएका छन् ।
अझै पनि ७ प्रतिशत जनतामा ऊर्जाको पहुँच नपाएको तथा विद्युत् पुगिसकेको क्षेत्रमासमेत गरिबीको कारण धेरै जनताले बिजुली पाउन नसकेको बताउँदै उनीहरुले विपन्न वर्गलाई ऊर्जा न्याय आवश्यक रहेको बताएका हुन् । नेपाल इनर्जी फाउण्डेसनले मंगलबार आयोजना गरेको विपन्न तथा सीमान्तकृत वर्गको लागि ऊर्जाको पहुँच कार्यक्रममा सहभागीहरुले सरकारले गरिबीको रेखामुनि रहेका परिवारका लागि सस्तो बिजुली दिनुपर्ने बताए । उद्यमशिलतामा समेत सहभागी हुने गरी निश्चित युनिट तोकेर निःशुल्क बिजुली दिनुपर्ने आवश्यकता रहेको बताउँदै उनीहरुले यसका लागि सरकारले आफूले ल्याएको संविधान तथा गरिब र विपन्नलाई लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
अधिवक्ता दिलराज खनालले ऊर्जामा वितरणात्मक न्याय मात्र नभई पहिचानमुखी र कार्यविधिगत न्याय पनि दिइनुपर्ने बताउँदै संविधान, कानुन र नीतिमा उल्लेख गरिएएका विपन्न तथा गरिब परिवारको ऊर्जा उपलब्धता बारेको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने बताए ।
ऊर्जा विज्ञ स्वस्थी अर्यालले आर्थिक रुपमा सम्भावयता, वातावरणमैत्री र समाजबाट स्वीकृत ऊर्जाको प्रविधि र पहुँच मात्र दीर्घकालीन नहुने बताउँदै अझै पनि ६८.७ प्रतिशत नेपालीले परम्परागत ऊर्जाको उपयोग गरिरहेकाले यसलाई घटाएर स्वच्छ ऊर्जाको विकास गर्नुपर्ने बताए । इनर्जी फाउण्डेसनका अध्यक्ष डिल्ली घिमिरेले ऊर्जाको पहुँच पुग्दा यसले आर्थिक सामाजिक र मानव विकासका लागि ठूलो योगदान पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्