४५ सय दुग्ध उत्पादक किसानलाई सवा १५ करोड अनुदान «

४५ सय दुग्ध उत्पादक किसानलाई सवा १५ करोड अनुदान

बागमती प्रदेशमा दूध उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले गत आर्थिक वर्ष २०७७/०७८ मा दुग्ध उत्पादक किसानलाई करिब सवा १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । दूध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँका दरले १६ करोड रुपैयाँ छुट्याइएकोमा तोकिएको प्रक्रिया पूरा गरी आउने दुग्ध उत्पादक सहकारीमार्फत करिब ४५ सय जना किसानलाई १५ करोड १५ लाख ४४ हजार रुपैयाँ वितरण गरिएको हो ।
बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले अनुदानका लागि दुग्ध उत्पादक सहकारीहरुलाई प्रस्ताव आह्वान गरेकामा प्रदेशका १३ वटा जिल्लाका २ सय ५० वटा दुग्ध उत्पादक सहकारीले अनुदान माग गरेका थिए । त्यसमध्ये तोकिएको कार्यविधिको आधारमा विश्लेषण गर्दा १७९ वटा सहकारी मात्रै छनौटमा परेका थिए । त्यसमध्ये चितवनका ७६, मकवानपुरका ३७, काभ्रेका ३१, ललितपुरका २७, सिन्धुपाल्चोकका ३ वटा दुग्ध उत्पादक सहकारी अनुदानका लागि छानिएका थिए । त्यस्तै सिन्धुली र धादिङका २÷२ र रामेछापको एउटा सहकारी पनि छनौटमा परेका थिए ।
किसानले सहकारीमा बिक्री गरेको दूधको आधारमा प्रतिलिटर दुई रुपैयाँका दरले तोकिएको सहकारीमार्फत अनुदान दिनेगरी सहकारीलाई भुक्तानी दिइएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले जानकारी दिए । “हामीले ८ करोड लिटर दूधको २ रुपैयाँका दरले अनुदान दिने गरी सहकारीहरुसँग प्रस्ताव मागेका थियौं” प्रधानले भने, “प्रदेश सरकारले बनाएको कार्यविधिमा तोकिएअनुसारका मापदण्ड पूरा गरेर आउने सहकारीहरु अनुदानका लागि छनौट भए, र सोहीअनुसार अनुदान पनि वितरण ग¥यौं ।” प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत कार्यान्वयन गर्नेगरी चालु आर्थिक वर्ष २०७८÷०७९ मा पनि दूध उत्पादनमा १६ करोड रुपैयाँ अनुदान दिनेगरी बजेट छुट्याएको छ ।
भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाएको कार्यविधिअनुसार अनुदान पाउनको लागि दुग्ध सहकारीहरुलाई पनि मापदण्ड तोकिएको थियो । अनुदान प्राप्त गर्न किसानले सहकारीमार्फत नै दूध बेच्नुपर्ने अनिवार्य गरिएको थियो । अघिल्लो वर्ष दूध बिक्री गरेको आधारमा गत आर्थिक वर्ष किसानलाई अनुदान दिइएको हो । अनुदान पाउन सम्बन्धित दुग्ध सहकारी संस्थाले दैनिक कम्तिमा ३ सय लिटर दूध संकलन गरेको हुनुपर्ने साथै वार्षिक कम्तीमा २ सय दिन दूधको कारोबार गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । एउटै दुग्ध उत्पादक सहकारी संस्थालाई ३ वर्षसम्म मात्र अनुदान उपलब्ध गराइने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
तोकिएको प्रक्रिया पूरा गरी अनुदान लगेका सहकारी संस्थाहरुले किसानलाई रकम बुझाएको भरपाई निर्देशनालयमा पठाउनुपर्ने निर्देशनालयका सूचना अधिकारी डा. बबलु ठाकुरले जानकारी दिए । “सहकारीहरुले बुझेको रकम सबै किसानको हातमा पुगोस् भन्ने उद्देश्यले भरपर्दो तरिकाले कार्यविधि बनाइएको छ” डा ठाकुरले भने, “हामीले किसानको भरपाई लिनुका साथै प्रत्यक्ष अप्रत्यक्ष निगरानीसमेत गर्छौं ।” दूधमा दिइने अनुदानलाई अझ पारदर्शी र किसानकै हातमा पु¥याउने उद्देश्यले चालु वर्षदेखि प्रत्येक किसानकै खातामा रकम पठाउने गरी प्रदेश सरकारले नीति तय गरेको छ । निर्देशनालयमार्फत आर्थिक वर्ष २०७६÷०७७ मा पनि करिब ८ करोड लिटर दूधमा प्रतिलिटर एक रुपैयाँको दरले अनुदान उपलब्ध गराइएको थियो । गत वर्षबाट प्रदेश सरकारले दूधमा दिइने अनुदान प्रतिलिटर २ रुपैयाँ बनाएको हो ।
संघीय कृषि मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा प्रत्येक वर्ष दूध उत्पादनमा वृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशमा ३८ करोड ६३ लाख ७० हजार लिटर दूध उत्पादन भएको थियो । प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, चितवन, नुवाकोट र धादिङ जिल्ला तुलनात्मक रुपमा धेरै दूध उत्पादन गर्नेमा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्