कांग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो «

कांग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।
१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरूले आमरण अनसन तोडेका हुन । पार्टीको तर्फबाट उनीहरूको माग सम्बोधन गर्ने ६ बुँदे सहमतिमा नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरूमाथि न्याय हुने अपेक्षामा साथ आमरण अनसन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए । उनले जिल्ला छानवीन समितिको निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरूको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान हुने विश्वास समेत व्यक्त गरे । “बैठक नै नबसी एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ–एक पक्षीय ढंगले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानबिन समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नु हुनेछ ।”
यता, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले उनीहरूको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले भने, “क्रियाशील सदस्यता वितरणमा उहाँहरूले राख्नु भएको माग पार्टी नेतृत्वले सम्बोधन गरी न्याय गर्नेछ ।”
पार्टीको जिल्ला छानबिन समितिको निर्णय अनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेताहरू पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्