धर्म, धर्मनिरपेक्षता र राजनीति— ३ «

धर्म, धर्मनिरपेक्षता र राजनीति— ३

नेपालकै परिवेशमा घर, परिवार, व्यक्तिको सामाजिक परिधि, आर्थिक र सामाजिक पुँजी धर्म र राजनीतिसँग जोडिएको देखिन्छ । छुवाछूत त धर्मसँग टाँसिएको देखिन्छ । त्यसलाई भजाउने र राजनीतिसँग जोडेर स्वार्थ सिद्ध गर्नेहरूको बाहुल्यता सा-है धेरै प्रयोग गरेको भेटिन्छ ।
यहाँ नेपालकै यो बजार केन्द्रित आधुनिक राजनीति ( नवउदारवादी) मा धर्महरूको प्रकृति, राजनीतिक संस्कारको गतिशीलता र अर्कातर्फ धर्मको राजनीतीकरणलाई उजागर गर्न सक्छौं । अन्तर्राष्ट्रिय नायकहरू-बिचौलियाहरू र विभिन्न गैरसरकारी संस्थाहरूको उद्देश्य अनुकूल : पहिचान, छुवाछूत, सशक्तीकरण र भेदभावलाई राजनीतीकरण गरेर धर्मसँग लगेर जोडेको नेपालमा देखिन्छ । धर्मलाई राजनीतिले न्यायसङ्गत बनाउनु, वैधानिकतामा ल्याउनु, शक्तिको अदृश्यता समाउनु, परम्परागत सहमतीय आधारहरू समाउनु र यसको समस्याहरू केलाउनु र समाधानका उपायहरू सङ्कलित गरी कार्यान्वयनतर्फ लैजानु निकै जटिल विषय हो ।
नागरिक धर्मभित्रका नायकहरू र संस्थागत संरचनात्मक आधारहरू भत्काउन सजिलो छ लोकप्रियताका लागि, तर संस्थागत संरचना तयार गर्न वर्षौं लाग्छ । यो राजनीतिले मात्रै गर्न सक्दैन । यसभित्रका अवयवहरू खेलाउन सक्ने बुद्धि चाहिन्छ । यसरी भित्री धर्म र राजनीति संस्थागत संरचना भित्र गाँसिएको देखिन्छ । अहिले भनेको अध्ययनको युग हो, जहाँ राष्ट्रवाद, राजनीतिक अल्पमत, आर्थिक फाइदा, वैज्ञानिक विकास, सांस्कृतिक चासो र रणनीतिक चासोले धर्मलाई जित्न थालेको अवस्था हो । अहिलेको अवस्थाको पुस्तान्तरणमा धर्म, राजनीतिप्रतिको चासो र लगाव घट्न थाल्यो, तर नेपालमा उल्टो; जातजातिहरूमा खाडल धर्म र परम्परा, संस्कार र संस्कृतिबीच गहिरो बनाउँदै लाने; शासकीय व्यवस्थामै खाडल बनाउँदै लाने कार्य फण्डितहरूले गरिरहेको देखिन्छ । जसको प्रतिफल मुलुकमा अस्थिरता राखिराख्ने, बाह्य अमेरिका, भारत र अन्तर्राष्ट्रिय बिचौलियाको स्वार्थ अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्य नेपालमा देखिन्छ ।
धार्मिक र धर्मनिरपेक्षताका कलाकारहरूले राजनीतिक क्षेत्रमा प्रतिस्पर्धा गर्छन् । हिन्दू, बौद्ध, इस्लाम, इसाई, जैन आदि धर्म-धार्मिक समस्याभित्र धार्मिक स्वतन्त्रताका विषयहरू आउनुपर्ने हो । तर, यी विषयहरू राजनीतिक क्षेत्रमा बहस, छलफल र द्वन्द्व हुन्छन् । इस्लामिक धर्मभित्र नै पनि सोझो हिसाबले धर्ममा द्वन्द्व र लडाइँ भएको देखिँदैन, जस्तै : टर्कीमा कुर्द, तुर्क र सुन्नी मुस्लिम भाइचारामै रहेको देखिन्छ, तर जब राजनीति आउँछ उनीहरूबीच द्वन्द्व छ ( तुर्क म्यान गुले, २०२१) ।
धर्मनिरपेक्षताको पाटोबाट अध्ययन गर्दा धर्मबारेमा लामो समयदेखि भोग्दै आए पनि अचेत धर्मनिरपेक्ष धारणा यो आधुनिकतामा अघि स¥यो । स्टेसी गुटकोस्कीको बेलायतमा गरिएको अनुसन्धानले युद्ध र धर्मनिरपेक्षताबीचको सम्बन्धका बारेमा महत्वपूर्ण निष्कर्ष निकाल्न सक्यो । यो अध्ययनले बितेको दशकको जिहादिज्मप्रतिको धारणा बाहिर ल्यायो । उनकै भाषामा इराक, अफगानिस्तान र आतङ्कवादविरोधी बेलायती नीतिहरूमा धर्मनिरपेक्षताको विश्वास, सोच र दृष्टिले युद्ध निम्त्यायो । उनले तर्क गरेर भनेकी छिन्; पुरानो प्राच्य विचार र इसाइ सांस्कृतिक सम्पदाको साथमा धर्मनिरपेक्षतामा बाँधिएको विश्वास, सोच अनि जान्नु न तान्नु अगाडि सर्नु प्रवृत्तिले इस्लामिक सामाजिक संरचनाहरूलाई गलत अर्थ लगाउन र महत्वपूर्ण गलत निर्णयहरू नीति बनाउनेहरू र राजनीतिक नेतृत्व वर्गले ग¥यो । यी इसाई भएर धर्मनिरपेक्षताको अर्धसोच र बुझाइ बोक्नेहरू इस्लामिक समाजको उखानटुक्का, स्थानीय लवज, बोली–भाषा, धार्मिक आदि सङ्केत तथा प्रतीकहरू बुझेनन्- बुझ्दैनन् । त्यसैले युद्ध र इस्लामिकहरूविरुद्ध कारबाही थोपरियो । अझै अर्को पाटोबाट उनी भन्छिन्; धर्मनिरपेक्ष बानीले इस्लाम राजनीतिलाई व्यावहारिक समर्थन पनि दिएको छ । यसले बहुसांस्कृतिकताका लागि अझ रचनात्मक दृष्टिकोणहरू उत्पन्न गरेको छ । यहाँ स्मरणीय विषय भर्खरै अमेरिकी राष्ट्रपति बाइडेन अमेरिकी सेनाहरू हार खाएर अफगानिस्तानबाट आफ्ना सेनाहरू फर्काउँदै छन् ।
हाम्रो मुलुकमा पनि धर्मको अर्थ वा रीतिथिति, संस्कार, प्रतीक, सिम्बोल नबुझ्ने धर्मनिरपेक्षताकै विद्वान् महाशयहरू लुगा फेरेर भात खाने, बिहानै नुहाउने, सफासुग्घर हुने, आयुर्वेदिक औषधि, जडीबुटी, मूर्तिपूजा गर्ने, कसैकी भइसकेकी छु भनेर सिन्दूर हाल्ने, टुप्पी राख्ने, हात धोएर खानेकुरा खाने, संसार तिम्रै हो भनेर प्रकाशलाई अर्घ र पानी चढाउने आदि विषयहरूमा विरोध गरेको देखिन्छ । यहाँ धर्ममै राजनीति घुसाएर ठाडो विरोध एकातर्फ देखिन्छ भने दोस्रो अर्काको प्रजातान्त्रिक अधिकार र स्वतन्त्रतामाथिको हस्तक्षेप देखिन्छ । नेपालकै प्रसङ्ग कोट्याउने हो भने धर्मनिरपेक्षको सोच बोक्ने दाताहरू बाहुनले सबै थिचोमिचो गरेको छ । यही वर्ग शासन गर्छ भन्ने महान् बौद्धिकता यिनका मगजमा गढेको देखिन्छ । यिनले जातजातिभित्रको डबल छुवाछूत पनि देखेका र जानेका छैनन् भने लँगौटी लाएर जीवन चलाउने बाहुनले चौँरी खर्कमा भेडा र बाख्रा चराएको देखेका छैनन् ।
शताब्दियौंदेखि नेपालको सांस्कृतिक सम्पदाको विकास भएको छ । यो बहुआयामिक विरासत (हेरिटेज) ले नेपालमा जात–जातीय, जनजाति र सामाजिक समूहहरूको विविधताले सीमित र अभिव्यक्त गरेको छ ।
नेपाल विविधता नै विविधता भएको मुलुक भएकाले विविधताभित्र एकता खोज्नु आवश्यक छ । संघीयताभित्र बनाइएका संस्थाहरूलाई चलायमान बनाएर धर्म मान्ने, धर्म नमान्ने र धर्म निरपेक्षहरूलाई सामान्य मूल्य र मान्यतामा हिँडाउनुपर्ने आवश्यकता देखिन्छ । नेपालको राजनीतिक आन्दोलनसँगै धर्म, अधर्म र धर्मनिरपेक्षका विषयहरूमा, २००७ साल, २०३६, २०४६ र २०६२-०६३ वर्षहरूमा अवधारणा, अभ्यास, सोच, दैनिकी सामाजिक जनजीवनमा प्रतिमान (प्याराडिग्म्स) बदलिएको देखिन्छ । यो अर्को अध्ययनको पाटो हो ।
हाम्रो क्षेत्रका विषयहरू कोट्याउँदा समाजशास्त्री हन्टिंग्टन शमूएल पीकै वर्गीकरणबाट बोल्ने हो भने पनि यो ब्रह्मको मैदान एक सभ्यताको रूपमा पहिचान गरिन्छ । उनले नै आठ सभ्यताहरूको पहिचान गर्दै पश्चिमी सांस्कृतिक प्रवेश अन्य मुलुकमा भएको र राजनीतिक प्रभुत्वले विश्वको अन्य भागहरूमा असन्तोष र द्वन्द्व निम्त्याएको लेखे । पश्चिमी संस्कृतिले धेरै धर्मनिरपेक्षताको वकालत गर्छ, सुषुप्त तरिकाले क्रिस्चियानिटी छिराउने र प्रभुत्व देखाउने उद्देश्य गरिब मुलुकहरूमा रहेको देखिन्छ । मुख्यतया प्रत्येक धर्मका आफ्ना मूल्य र मान्यताहरू छन् । धर्मलाई राजनीतिमा जोडेर र यससँग सम्बन्धित रीतिथिति, रिवाज, संस्कार, संस्कृतिलाई सफ्ट पावरको खेला बनाउनु अनावश्यक देखिन्छ । यो भनेको राज्य विभाजन र स्खलित गराउनु हो । त्यो कर्ममा आफूलाई नेपालको बौद्धिक हुँ भन्ने जमात लागेको देखिन्छ । सरकारले धर्म परिवर्तन गराउने कर्ममा लागेका संस्थाहरूलाई नियन्त्रण र रोकथाम गर्नुपर्छ । मुलुकका औपचारिक र अनौपचारिक धार्मिक संस्थाहरू जस्तै; गुठी, मन्दिर, चर्च, मस्जिद आदिहरूको संरक्षण गर्नुपर्छ । धार्मिक क्षेत्र होस् वा राजनीतिक क्षेत्र; त्यसप्रति ‘विश्वास’ जगाउनु आजको आवश्यकता देखिन्छ । त्यसबाट मात्रै आर्थिक वृद्धि र समृद्धिको पाइलाको सुरुवात हुने बुझ्न आवश्यक छ ।
अहिले सशक्तीकरण, छुवाछूतका नाममा, लैङ्गिक समानताको नाममा भइरहेको दुरुपयोग रोक्दै बहुसांस्कृतिक वादको व्यवस्थापन कसरी गर्न सकिन्छ, अध्ययन र अनुसन्धान गर्दै नीति बनाउन जरुरी देखिन्छ । धर्म, धर्मनिरपेक्षता र अधर्मी सम्बन्धमा उठेका द्वन्द्वका विषयहरूलाई विभिन्न आयोगहरू र स्थानीय सरकारमार्फत समाधान गरिनुपर्छ । यहाँ छुवाछूत, सशक्तीकरण र लैङ्गिक समानताका विषयहरूमा कस्ता नीतिहरू स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारमा बनाउनेबारे अध्ययन र अनुसन्धान गर्नुपर्ने आयोगहरू गैरसरकारी संस्थाको विज्ञापन र उनीहरूको प्रचारप्रसारमा लागेको एक महिला आयोग नै देखिन्छ ।
मूलतः धर्मले प्रत्येक व्यक्तिको दैनिक जीवन प्रक्रियालाई र उसको व्यक्तिगत दैनिकीलाई एक बाटोतिर डो-र्याइरहेको हुन्छ भन्ने विषय भुल्न हुँदैन । हिन्दूबाट क्रिस्चियन बनेर धर्म परिवर्तन गरेका व्यक्ति नै भूकम्प आएका बेला ज्यान जोगाउँदै किच्न लागेको घरबाट भाग्दा अनायास, अकस्मात् ‘हे राम….’ भन्दै भाग्नुले उसको मातृत्वको गाँठोमा उसको धर्म जोडिएको इङ्गित गर्छ । उसलाई पछि परिवर्तन गरेको धर्मले काल आउने बेलामा काम दिएन, त्यो मात्रै व्यापारिक प्रयोजन भयो भन्ने देखाउँछ । मानवीय जीवन धर्म र राजनीतिसँग जोडिएको छ, त्यसमा फाइदा लिन सुषुप्त अवस्थामा रहेको राजनीतिलाई उत्तेजनात्मक रूपले अगाडि सारिन्छ । त्यसैले धर्म र राजनीतिको ठूलो गाँठो छ ।
अन्त्यमा, इमानदारीका साथ यस मुलुकलाई स्थिरतातिर लैजाने हो भने नेपालको सन्दर्भमा यो राजनीतिक ढाँचा, प्रशासनिक ढाँचा र आर्थिक ढाँचा तथा धर्म, धर्मनिरपेक्षताबारे अध्ययन, अनुसन्धान र बहस साथै छलफल गरी पुनर्संरचना गर्न अत्यावश्यक छ भन्ने भोगाइ र अभ्यासले बताएको छ । धार्मिक विभिन्नता, धारणा, परम्परा र बानीमा प्रतिविम्बित हुन्छ । जस्तै : विवाह, व्रतबन्ध, चाडपर्व र वेशभूषा आदिमा— यो धार्मिक रूपान्तरण गर्नु भनेको धेरै दुर्लभ विषयवस्तु हो । राजनीतिले, स्वार्थले धार्मिक धारणा, परम्परा र बानीमा आक्रमण गरिरहेको फिटिक्कै राम्रो होइन । हामीले हाम्रो आधारभूत भूगोलमा बसेर सबै समस्याको आफैं समाधान गर्नबाहेक विकल्पहरू छैनन् ।
(न्यौपाने ‘संघीयताको अर्थ–राजनीति’ पुस्तकका लेखक हुन् ।)

प्रतिक्रिया दिनुहोस्