बंगलादेशसँगको व्यापार पाँच वर्षदेखि निरन्तर ओरालो «

बंगलादेशसँगको व्यापार पाँच वर्षदेखि निरन्तर ओरालो

झापा-दक्षिण छिमेकी भारत र उत्तरी छिमेकी चीनसँग प्रत्येक वर्ष खर्बौंको व्यापारघाटा बेहोरिरहेको नेपालले बंगलादेशसँगको व्यापारमा पनि सोही नियति भोग्दै आएको छ । निर्यात वृद्धिको पर्याप्त सम्भावना रहे पनि बंगलादेशबाट आयात बढ्दा व्यापारघाटा चरम रूपमा बढेर गएको हो ।
दुई मुलुकबीच हाल काँकरभिट्टा–फूलबारी–बंगलाबन्द मार्गबाट व्यापार हुने गरेको छ । २०५४ भदौमा सो मार्ग सञ्चालनमा आएपछि बंगलादेशसँगको व्यापार सुरु भएको हो । काँकरभिट्टादेखि करिब ५४ किलोमिटरको दूरी पार गर्दा बंगलादेशको व्यापारिक नाका बंगलाबन्द पुगिन्छ । बंगलादेशसँगको व्यापारका लागि यो मार्ग नै सबैभन्दा छोटो मानिन्छ ।
यस मार्गबाट व्यापार सुरु भएको २५ वर्ष पुगिसकेको छ । आव २०७३-०७४ सम्म बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्सेनि नेपालको पक्षमा हुन्थ्यो । लामो समयसम्म नेपालबाट निर्यात बढी हुने गरेकोमा पछिल्ला पाँच वर्षमा भने ऋणात्मक बन्दै गएको नेपाल–बंगलादेश व्यापारलाई सहजीकरण गर्ने सरकारी निकाय नेपाल पारवाहन गोदाम व्यवस्था कम्पनी काँकरभिट्टाले जनाएको छ ।
भन्सार कार्यालयको पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने नेपाल र बंगलादेशबीचको व्यापार निरन्तर ओरालो लागेको देखिन्छ । आव २०७७-०७८ मा नेपालबाट ६७ करोड, ३८ लाख, ९१ हजार रुपैयाँको निर्यात हुँदा बंगलादेशबाट ७ अर्ब, १५ करोड ७२ लाख ३४ हजार रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।
यो आर्थिक वर्षमा नेपालले ६ अर्ब ४८ करोड, ३३ लाख ४३ हजार रुपैयाँ घाटा बेहोरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिए ।
अघिल्ला दुई आर्थिक वर्ष पनि बंगलादेशसँगको व्यापारमा नेपालले नमज्जाले घाटा बेहोरेको देखिन्छ । नेपालले आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा आव २०७६-०७७ मा पूर्वी नाकाबाट हुने बंगलादेशसँगको व्यापारमा ३९.४३ प्रतिशतले घाटा बेहोरेको छ ।
आव २०७६-०७७ मा ३ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ घाटा बेहोरेको हो । आर्थिक वर्ष २०७५-०७६ मा समेत व्यापार बंगलादेशकै पक्षमा रहेको थियो । उक्त वर्ष नेपालले २ अर्ब ४१ करोड ४३ लाख ५८ हजार रुपैयाँ घाटा बेहोरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाले जनाएको छ ।
आव २०७६-०७७ मा नेपालबाट ९५ करोड ४१ लाख ७५ हजार रुपैयाँको निर्यात हुँदा बंगलादेशबाट ४ अर्ब ९५ करोड ३४ लाख ८६ हजार रुपैयाँबराबरको आयात भएको थियो । आव २०७५-०७६ मा १ अर्ब ३२ करोड ६१ लाख ४१ हजार रुपैयाँबराबरको वस्तु बंगलादेश निर्यात भएको थियो ।
उक्त आवमा बंगलादेशबाट ३ अर्ब ७४ करोड ४ लाख ९९ हजार रुपैयाँबराबरको वस्तु आयात भएको भन्सारको तथ्यांकले देखाउँछ । नेपालबाट निर्यात घट्दै गएकाले द्विपक्षीय व्यापार ऋणात्मक बनेको हो ।
बंगलादेशसँगको व्यापार मुसुरो दालको निर्यातमै टिकेको थियो । तर, पछिल्लो समय दालको निर्यात कम हुनु र आयात बढी हुनुले पनि व्यापारघाटा चुलिएको हो ।
आर्थिक वर्ष २०७७-०७८ मा बंगलादेश निर्यात हुने वस्तुहरूमा मुसुरोको दाल, अदुवा, जडीबुटी उच्च स्थानमा छन् । बंगलादेशबाट भटमासजन्य पदार्थ, आलु, औषधि, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, कस्मेटिकलगायतका सामग्री नेपाल आयात भएको भन्सार प्रमुख विश्वकर्माले कारोबारलाई जानकारी दिए ।
बंगलादेशमा माग रहेको जडीबुटीको निर्यात बढाउन सके मात्र व्यापार पुनः नेपालका पक्षमा आउने सम्भावना रहेको नेपाल–बंगलादेश चेम्बर्स एन्ड ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले बताए ।
“नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालबाट १ सय ८ वटा वस्तुलाई भन्साररहित सुविधा दिने निर्णय गरेको थियो,” जैनले भने, “उक्त वस्तुहरू नेपालमा उत्पादन नै नहुने, निर्यात गर्न नसकिने रहेका छन् ।”
बंगलादेशमा नेपालमा उत्पादन हुने अलैंची, अम्रिसो, अदुवा तथा फलफूलको माग उच्च छ । तर, यी उत्पादनमा भने झन्झटिलो भन्सार नीतिले नेपाली व्यापारी निर्यातमा चुकिरहेको जैन बताउँछन् ।
नेपाली सामानलाई शून्य भन्सार सुविधा उपलब्ध गराइनुपर्ने भए पनि सरकारी पक्षबाट पहल हुन नसक्दा हरेक वर्ष व्यापारघाटामा जान थालेको जैनको बुझाइ छ । भन्सार छुट पाए नेपाली कृषिजन्य उत्पादनको निर्यातसमेत बढ्ने पक्का छ
नेपाल–बंगलादेशबीचको व्यापार व्यापारीको जोडबलमा मात्र चलेको मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताए । कृषिजन्य वस्तुको निर्यात गर्न सकिने सम्भावना भए बंगलादेशले ८० प्रतिशतसम्म भन्सार लगाउने हुनाले निर्यातको सम्भावना नरहेको उनले जानकारी दिए । शीर्ष नेताको भाषणको मुख्य एजेन्डा बन्ने गरेको अन्तर्राष्ट्रिय व्यापार भने प्रत्येक वर्ष खस्कँदो छ ।

प्रतिक्रिया दिनुहोस्