पशुपति क्षेत्र विकासको गुरुयोजना अन्तिम चरणमा «

पशुपति क्षेत्र विकासको गुरुयोजना अन्तिम चरणमा

काठमाडौं-सरकारले पशुपति क्षेत्र विकासको बृहत् गुरुयोजना निर्माणको अन्तिम तयारी गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको विकासका लागि विगतमा लागू गरिएका योजनाको समीक्षा गर्दै भू–उपयोगसहितको बृहत् गुरुयोजना निर्माणको अन्तिम तयारी गरेको हो । नदी, जंगल, जमिनलगायत पशुपति क्षेत्रका सबै स्रोत तथा सम्पदाको समुचित उपयोगसहितको गुरुयोजना निर्माणको परिकल्पना गरेको छ । कोषले गुरुयोजना निर्माणका लागि सुझाव पेस गर्न बुधबार कार्यशाला गोष्ठी आयोजना गरेको हो । कार्यशालामा पशुपति क्षेत्रका मूर्त–अमूर्त सम्पदाका विषयमा विज्ञको कार्यपत्रमाथि स्थानीय प्रतिनिधि तथा विज्ञको रायअनुसार प्रतिवेदन तयार पारिने बताइएको छ । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले विश्वसम्पदा सूचीमा रहेका पशुपति क्षेत्रका पाँच सयभन्दा बढी मन्दिर तथा स्मारकको उचित संरक्षणसहितको पर्यटन अभिवृद्धिका लागि नयाँ गुरुयोजना तयार गर्न लागेको बताए ।
गुरुयोजनाअन्तर्गत दुई सय ६४ हेक्टर जमिन अधिग्रहण गर्ने काम सम्पन्न भएको कोषले जनाएको छ । त्यही क्षेत्रको उपयोगसहित अब बन्ने बृहत् गुरुयोजना पशुपति क्षेत्र विकास योजनाको इतिहासमा चौथो योजना हो । यो गुरुयोजना निर्माणका लागि सरकारले सात करोड रुपैयाँ बजेट छुट्ट्याएको कोषले जनाएको छ । कार्यक्रममा काग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले स्थानीय जनतासँग घनीभूत छलफल गरेर मात्रै बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राखेका छन् । उनले नेपालको सनातन धर्मकै पवित्रस्थल पशुपतिनाथ क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसअघि ०५८ मा पशुपति क्षेत्रको विकासका लागि अवधारणात्मक गुरुयोजना बनाई लागू गरिएको थियो । १० वर्षे उक्त गुरुयोजनाले पशुपति क्षेत्रका केही संरचनामात्र निर्माणको परिकल्पना गरेको थियो । वि.सं १८६७ मा गीर्वाणयुद्धविक्रम शाह राजा हुँदा पशुपति क्षेत्रमा रहेको सार्वजनिक जग्गा पशुपति मन्दिरका नाममा दान गरेर पशुपति क्षेत्र विकासको अवधारणा सुरु भएको थियो । धेरै समयपछि २०४३ मा वीरेन्द्र शाह राजा हुँदा पशुपति क्षेत्र विकास कोष स्थापना गरी पशुपति क्षेत्रको विकासको परिकल्पना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्