सडक बनेको ५ वर्षपछि बल्ल गाडी गुड्यो

खोटाङ सदरमुकाम दिक्तेलदेखि दक्षिणी क्षेत्रको खोटाङबजार जोड्ने सडकमा गाडी गुडाइएको छ । सडक निर्माण भएको पाँच वर्षपछि बल्ल उक्त सडकमा गाडी गुडाइएको हो ।
बेलायती सरकारको सहयोगमा ग्रामीण पहुच कार्यक्रम (र्याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको ७४ किमि लामो हरित सडकमा गाडी गुडाइएसँगै स्थानयिवासी हर्षित बनेका छन् । र्यापपले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वातावरणमैत्री प्रविधि अपनाएर निर्माण गरेको उक्त सडक पाँच वर्षसम्म उपयोग नगरिंदा त्यस क्षेत्रका स्थानीयको गाडी चड्ने सपना पूरा हुन सकेको थिएन । मुलुक संघीय संरचनामा गईसकेको पनि लामो समय वितिसक्दा समेत स्थानीय पालिका तथा यातायात व्यवसायी र सम्बन्धित निकायले गाडी गुडाउँन चासो नदिएको तथा सडक मर्मतमा ढिलासुस्ती गरेको समाचार कारोबार दैनिकले पटक–पटक प्रकाशन गरेको थियो ।
दिक्तेलदेखि खोटाङबजारसम्मको उक्त सडकमध्ये दिप्रुङ गाउँपालिकाकाले पञ्चमीबजारदेखि साकेला गाउँपालिकाको तावा खोलासम्म सडक मर्मत गरेसँगै जिल्ला सदरमुकामबाट पञ्चमीबजारसम्म बस सुरु भएको छ । सदरमुकामदेखि खोटाङबजारस्थित थामखर्क विमानस्थलसम्म ७४ किमि रहेको सडकमध्ये स–छितापोखरीको पञ्चमीबजार ५० किमिसम्म मात्र बस जान थालेको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । उनले भने, “पञ्चमीबजारदेखि खोटाङबजारसम्मको बाँकी सडकमा केही मर्मत गर्नुपर्ने देखिन्छ, त्यो सडक पनि मर्मत भए खोटाङ बजारसम्म नै बस लैजान सकिन्छ ।” साकेला गाउँपालिकाको मात्तिमसम्म विगत वर्षदेखि नै बस सेवा सञ्चालानमा छ । साकेला गाउँपालिकाले दिप्रुङ गाउँपालिकाको सिमाना तावा खोलासम्म र दिप्रुङ गाउँपालिकाले तावा खोला हुँदै खोटेहाङ गाउँपालिकाको टुवा खोलासम्म सडक मर्मत गरेको थियो । उक्त दुई पालिकाले आ–आफ्नो क्षेत्रमा सडक मर्मत गरेसँगै सवारी सञ्चालन भएको छ भने खोटाङ बजारको थामखर्कसम्म गाडी पु¥याउँनका लागि खोटेहाङ गाउँपालिकाले सडक मर्मत तथा पहल गर्नु पर्ने आवश्यक रहेको छ ।
बारम्बार ताकेतापछि विगत केही दिन यता त्यस रुटमा सवारीसाधन सञ्चालन भएता पनि आइतबार खोटाङ यातायात व्यवसायी संघको बा २ ख ३४४१ नम्बरको गाडी गुडाएर विधिवत तरिकाले यातायात सञ्चालन गरिएको जनाइएको छ । दिप्रुङ गाउँपालिकामा आयोजित कार्यक्रममा यातायातका साधन नचल्दा दुःख खेपिरहेका स्थानीयले गाडी र व्यवसायीलाई फुलमाला र अबिरले स्वागत गरेका छन् ।
सीधा यातायात सुचारु भएपछि दिप्रुङ गाउँपालिकाभित्रका ६५ वर्षमाथि उमेरका यात्रुहरुलाई निःशुल्क तोकेको भाडादर कार्यान्यवन हुने दिपु्रङ गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।
हाल त्यस क्षेत्रका स्थानीलाई लक्षित गरेर एउटा वस संचालानमा ल्याईएको यायायात व्यवसायी संघले जनाएको छ ।
एक हिउँदमा मात्र त्यस क्षेत्रमा यातायात सञ्चालन भए पनि त्यहाँका स्थानीयलाई राहत मिल्ने देखिन्छ । सदरमुकाम दिक्तेलदेखि तराईका जिल्ला जाने सबैभन्दा छोटो दूरीका रूपमा रहेको उक्त सडक सञ्चालनमा आएसँगै दैनिक उपभोग्य वस्तु आयात तथा निर्यातका लागि सजिलो भएको छ ।