गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल «

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी छन् ।
सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको समेत जानकारी दिइन् ।

मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत् दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको स्पष्ट पारिन् । “यो मेरो निर्णय नभई अवधारणा हो ।” उनले भनिन्, “निर्णय गरेपछि यहाँहरूलाई फेरि बोलाउनेछु ।” मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारकी छन् । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत् महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाइ थियो ।
मन्त्री भुसालले विद्युत् उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने बताइन । त्यसैगरी उनले ट्रान्समिसन लाइन निर्माणको काममा तीव्रता दिने पनि बताइन् । मन्त्री भुसालले कृषियोग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिंँचाइको व्यवस्था गर्नुको विकल्प नरहेको पनि उनले बताइन् । मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रूपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायतका आधारभूत वस्तुको सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोच बनाएको स्पष्ट पारिन् ।
मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । जलविद्युत आयोजनाहरू जग्गाको मुआब्जाका कारण अघि बढन नसकेको अवस्थाको अन्त्य गर्न आफू लागि पर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्