रोकिएन नाकामा इन्धन तस्करी «

रोकिएन नाकामा इन्धन तस्करी

वीरगन्ज-यही पुस ३ गते बिहान पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार लुटे । तस्करहरूको आक्रमणमा ४ जना प्रहरी पनि घाइते भए । प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको हो ।
इन्धन तस्करी गरी लगिरहेको अवस्थामा तस्करलाई सोधपुछ गर्दा तस्करको समूहले उल्टै प्रहरीमाथि नै आक्रमण गरेको हो । सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा प्रहरीको आक्रामक कारवाही नहुँदा पनि प्रहरीमाथि तस्करहरूको मनोवल बढेर प्रहरी माथि नै जाइ लाग्ने क्रम सुरु भएको हो । प्रहरीको तस्करसँगको साँठगाँठ र मिलेमतोले पनि तस्करको मनोवल बढ्ने गरेको जानकारहरूको भनाइ छ ।
सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको दुवै सुरक्षा निकायको गस्ती र निगरानी भए पनि नेपाल भारतको सीमावर्ती नाकाबाट भइरहेको इन्धन तस्करी अझै रोकिएको छैन । नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महंगो भएकाले पर्साको ग्रामीणभेगका पेट्रोल पम्पहरूबाट सीमानाका हुँदै भारततर्फ इन्धन तस्करी हुने गरेको हो ।
ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्तीमा रहेको नेवाः आयल ट्रेडर्सबाट डिजेल र पेट्रोल खरिद गरेर भारततर्फ तस्करी हुने गरेको छ । पेट्रोल पम्पबाट दिनहुँ खुलेयाम डिजेल र पेटोल भारतमा तस्करी भइरहँदा पनि त्यस क्षेत्रमा रहेका प्रहरीले तस्करी रोक्न चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन् । मालसामान ढुवानी गरेर नेपाल आएका भारतीय मालवाहक सवारी साधन मात्रै होइन इन्धन तस्करीकै लागि पनि सवारी साधन प्रयोग हुन थालेका छन् । कतिपय तस्करले ठूला ग्यालेन र ड्रममा मोटरसाइकलमा लिएर जाने गरेका छन् । कतिले मोटरसाइकलको ट्यांकी भरेर भारतीय भूमिमा पुगेर खाली गरी दैनिक ओसार्ने गरेका छन् ।
ठोरी गाउँपालिका वडा नम्बर ५ विजयवस्तीमा रहेको नेवाः पेट्रोल पम्प नजिकै रहेको प्रहरी चौकी विजयवस्ती र सुवर्णपुरमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भए पनि पेट्रोलियम पदार्थको तस्करी भने रोकिएको छैन । नेपाल–भारत सीमाको करिब १ किलोमिटरको दूरीमा रहेको पेट्रोल पम्पबाट दिनहुँ भइरहेको पेट्रोलियम पदार्थको तस्करीका लागि मोटरसाइकल, बलेरो र ग्यालेन लिएर साइकलमा आउनेहरूको पनि उत्तिकै भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्