प्राविधिक शिक्षाका लागि नगरपालिका र विद्यालयबीच सम्झौता «

प्राविधिक शिक्षाका लागि नगरपालिका र विद्यालयबीच सम्झौता


प्राविधिक शिक्षा सञ्चालनका लागि मध्यनेपाल नगरपालिकाअन्तर्गत सोतिपसलमा रहेको मंगला मावि र नगरपालिकाबीच सम्झौता भएको छ । आफ्नै लगानीमा प्राविधिक शिक्षा सुरु गर्ने नगरपालिकाको योजनाअनुरुप सोतिपसलस्थित मंगला माविसँग पाँच वर्षका लागि सम्झौता गरेको हो ।
मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे र मंगला माविका प्रधानाध्यापक विष्णुहरि बास्तोलाबीच मध्यनेपाल बहु प्राविधिक शिक्षालय सञ्चालनसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार चालू शैक्षिक सत्रबाट डिप्लोमा सिभिल इन्जिनियरिङतर्फको प्राविधिक शिक्षा सुरु गर्ने उल्लेख गरिएको छ ।
यसैगरी सम्झौतामा सीटीईभीटीसँगको समन्वयमा सञ्चालन हुने प्राविधिक कक्षा सञ्चालन तथा आवश्यक खर्च व्यवस्थापन नगरपालिकाले गर्ने उल्लेख छ । प्राविधिक कक्षा सञ्चालनका निम्ती गत आर्थिक वर्षमै नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो रकमबाट प्रयोगशालाका निम्ती आवश्यक संरचना, उपकरण तथा सामग्री व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले प्राविधिक शिक्षातर्फ आकर्षित विद्यार्थीहरूको माग र आवश्कतालाई महसुस गरी प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी गरेको हो । प्राविधिक शिक्षाको लागि अघिल्लो वर्षनै सीटीईभीटीबाट स्वीकृति लिई सकिएको र चालू शैक्षिक वर्षदेखि औपचारिक कक्षा सञ्चालन गरिने मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए ।
जिल्लाकै उत्कृष्टमध्येको मंगला माविमा यसअघि पनि कृषि सम्वन्धी प्राविधिक शिक्षा सुरु भएको थियो । चालू शैक्षिक सत्रबाट तीनवर्षे डिप्लोमा इनसिभिल इन्जिनियरिङ तर्फको कक्षा सञ्चालनका लागि आवश्यक संरचनासहित तयारी गरिएको मंगला माविका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले बताए ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ अधिक विद्यार्थीहरूको आकर्षण बढिरहेको पाइएको छ । प्राविधिक शिक्षा अध्ययनकै लागी सो क्षेत्रका विद्यार्थीलाई गाउँ छोडेर सहर पुग्नुपर्ने बाध्यता आगामी शैक्षिक वर्षबाट घट्ने अपेक्षा गरिएको छ । चालू शैक्षिक सत्रबाट सुरु हुने प्राविधिक कक्षाका लागि माध्यमिक शिक्षा परिक्षा उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्ने पाउने छन् ।
पछिल्लो समय औपचारिक उच्चशिक्षा हासिल गरेर पनि रोजगारी पाउन कठिन बन्दै गएको परिवेशमा प्राविधिक शिक्षातर्फको आकर्षण बढ्दै गएको हो । प्राविधिक शिक्षा प्राप्त गरेकालाई रोजगारीका लागि समयमै अवसर पाउने र विदेशमा समेत प्राविधिक ज्ञान र सीपका कारण राम्रो अवसर पाउने हुँदा अधिकाँश युवा प्राविधिक शिक्षातर्फ आकर्षित भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्