लमजुङमा सेवा कार्यालय स्थापना «

लमजुङमा सेवा कार्यालय स्थापना


लमजुङका उद्योगी व्यवसायीहरुको सहजताका लागि लमजुङ उद्योग वाणिज्य संघले सेवा कार्यालय स्थापना गरेको छ । आयकर तथा लेखा व्यवस्थापन सम्बन्धी सेवाग्राहीलाई सहजताका लागि संघले सेवा कार्यालय स्थापना गरेको हो ।
सोमबार एक कार्यक्रमकाबीच आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालय लमजुङका प्रमुख लेखनाथ रेग्मीले संघले स्थापना गरेको सेवा कार्यालयको उद्ध्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रेग्मीले जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएपनि जनशक्ति अभावका कारण अपेक्षित सहज सेवा प्रवाह गर्न नसकेका बेला उद्योग वाणिज्य संघले सेवा कार्यालय सञ्चालन गरेपछि कार्यसम्पादनमा सहज हुने विश्वास व्यक्त गरे ।
संघले सेवा कार्यालय स्थापना गरेसँगै आम करदाताहरुमा व्यवसायिक झन्झट कम हुने, काम प्रभावकारी र छिटो छरितो हुने भन्दै कार्यालय प्रमुख रेग्मीले सेवा प्रवाहको विषयमा आवश्यक प्राविधिक सहयोग गर्न आफू तयार रहेको बताए ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कर तिर्ने विषयमा व्यवसायीहरुमा कानुनी तथा नीतिगत प्रावधानको बारेमा राम्रोसँग ज्ञान नहुँदा अलमलमा परेकोले न्युनतम शुल्कसहित संघले सेवा प्रवाह गर्ने बताए । संघले जिल्लाभरका इकाइमार्फत सेवा प्रवाह गर्ने भएकाले व्यवसायीहरुलाई यस सम्बन्धी झन्झटसँगै अनावश्यक खर्चमा समेत कमी आउने अध्यक्ष सिलवालको विश्वास छ ।
लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले संघको नेतृत्वमा समय–समयमा कर शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको र जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि व्यवसायीहरु झन्झटमुक्त भएको दावी गरे ।
“केही वर्ष अघिसम्म कर तिर्ने विषयमा झन्झट मान्ने व्यवसायीहरु थिए” थापाले भने, “अहिले ती व्यक्ति नै कर तिर्ने विषयमा इमान्दार बनेका छन् ।” थापाले जिल्लामा अझैपनि केही व्यवसायीहरु दर्ताको प्रक्रियामा नआएकाले यस विषयमा कडाईका साथ कार्यान्वयन गर्न आग्रह समेत गरे ।
संघले करदाता सेवा कार्यालयका प्रमुख रेग्मीलाई औपचारिक रुपमा स्वागत समेत गरेको थियो । कार्यालय प्रमुख जिल्ला आएको धेरै समय भएपनि यसअघि समय व्यवस्थापनमा समस्या हुँदा ढिला गरी संघले औपचारिक स्वागत गरेको हो । संघले स्थापना गरेको सेवा कार्यालयबाट आयकर (पान) सम्बन्धी अनलाइन फारम भर्ने, कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने, नयाँ सदस्यता वितरण तथा नविकरण गर्ने, लेखा परीक्षणसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, फर्म दर्ता नविकरण सम्बन्धी परामर्श लगायतका सेवा प्रवाह गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्