एक वर्षभित्र निर्माण सुरु गरिने
तामाकोसी–५ मा सञ्चय कोषले सवा ११ अर्ब लगानी

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत दोलखामा निर्माण हुन लागेको ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको लागि सञ्चय कोषले सवा ११ अर्ब ऋण लगानी गर्ने भएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको क्यास्केड आयोजनाको रुपमा रहेको सो आयोजनाको लागि कुल लागतको ७० प्रतिशत अर्थात ११ अर्ब ३३ करोड लगानी गर्न लागेको हो । आयोजनाको लागत करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमान गरिएको छ ।
तामाकोसी पाँचौं जलविद्युत् आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितीमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सञ्चय कोषबाहेक ७० प्रतिशतबाहेकको ३० प्रतिशत स्वपुँजी (इक्वेटी) को रुपमा लगानी हुनेछ । इक्वेटीतर्फ नेपाल विद्युत् प्राधिकरण, प्राधिकरण र सञ्चय कोषका कर्मचारी, सर्वसाधारण र स्थानीयबासीको सेयर रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए । उनका अनुसार, बोलपत्र आह्वानका प्रकृया पूरा गरेर एक वर्षभित्र निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । निर्माण सुरु गरेर २०८४ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
क्यास्केड आयोजना भएकोले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई यसलाई आकर्षक आयोजना मानिएको छ ।
माथिल्लो तामाकोसीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत्गृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ ।
विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआइआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् ।