शिक्षा र आर्थिक विकासको सन्दर्भ «

शिक्षा र आर्थिक विकासको सन्दर्भ

शिक्षा कुनै पनि देशको समग्र विकासको आधार भएकाले यसको विकासमा विशेष ध्यान दिइन्छ । आज विकसित र सभ्य देशको साक्षरताको प्रतिशत लगभग शतप्रतिशत रहेको देखिन्छ । हाम्रो देशमा पनि पछिल्ला केही वर्षदेखि साक्षरहरूको संख्यामा लगातार वृद्धि भएको छ । जबसम्म आमनागरिक साक्षर हुँदैनन तबसम्म विकासको गति तीव्र हुँदैन । शिक्षा र विकास एकै सिक्काका दुई पाटाझैं हुन् । हामीले दिने गरेको शिक्षा व्यावहारिक र जीवनोपयोगी हुन नसकेको गुनासो सर्वत्र सुनिँदै आएको छ । सीपयुक्त र व्यावहारिक शिक्षाको विकास भयो भने मात्र विकासको गतिमा तीव्रता आउँछ । शिक्षाले व्यक्ति, समाज र समग्रमा राज्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको विकासमा जोड दिनुपर्छ ।
शिक्षा समयसापेक्ष भएन भने विकासले मूर्तरूप लिन सक्दैन । शिक्षामा जुन मात्रामा लगानी भइरहेको छ, सो पर्याप्त त होइन, तैपनि त्यसको प्रतिफल भने नगन्य रहेको छ । वर्तमान अवस्थामा शिक्षामा हुँदै आएको लगानीको लगभग ९० प्रतिशत रकम त शिक्षकको तलबमा खर्च हुन्छ । १० प्रतिशत रकम भने अन्य शीर्षक जस्तै तालिम, मसलन्द, शौचालय निर्माणजस्ता क्षेत्रमा खर्च हुने गर्छ । पछिल्ला पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने शिक्षामा विनियोजित बजेट घट्दै आइरहेको देखिन्छ । यस क्षेत्रका विज्ञहरूले भने कम्तीमा शिक्षाका लागि राज्यले २० प्रतिशत रकम विनियोजन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, राज्यले त्यसलाई सम्बोधन गर्न भने सकिरहेको छैन ।
सरकारी विद्यालयको गुणस्तरमा प्रश्न आउने गरेको देखिन्छ । राज्यले निःशुल्क शिक्षा भनेको छ तर व्यवहारमा शिक्षा सशुल्क नै छ । मासिक शुल्क नलिए तापनि विविध शीर्षकमा शुल्क असुल्ने कार्य गरिन्छ । शिक्षालाई प्रभावकारी र थप उपलब्धिपूर्ण बनाउने उद्देश्यले हाल देशैभरका प्राथमिक कक्षाका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम चलाइएको छ । विद्यालयमा विद्यार्थी टिकाइराख्नका लागि यो उपायको अवलम्बन गरिएको हो । यस कार्यक्रमको प्रभावकारिता अत्यन्तै सकारात्मक देखिएको छ । यसअगाडि पनि अन्य कार्यक्रम नचलाइएका भने होइनन् । प्राथमिक तहका कक्षाका अभिभावकलाई तेल, चिनी, पीठोजस्ता उपभोग्य वस्तुहरू प्रदान गरिएका थिए ।
विद्यार्थीको पठनपाठन नियमित नहुनुको मूल कारण भनेको नै गरिबी भएकाले यसलाई न्युन गर्नका लागि राज्यले अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । विगत दुई दशकदेखि नै गरिबी निवारणका अनेकांै कार्यक्रमहरू लागू गरिए । तर, ती सबै कार्यक्रमको प्रभावकारिता अपेक्षित लक्ष्य हासिलका लागि खासै उपलब्धिपूर्ण हुन सकेनन् । राज्यले शिक्षाको विकासका लागि बर्सेनि ठूलो रकम खर्च गर्दै आइरहेको छ । शिक्षा मानवको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक विकासका लागि अत्यावश्यक हुन्छ । शिक्षाले मानवलाई कुनै पनि समस्याको सामना गर्न सक्ने बनाउँछ । यसले उचित समयमा सही निर्णय लिनका लागि सक्षमसमेत बनाउँछ । सिर्जनशील र रोजगारी सिर्जनामा शिक्षाले अहम् भूमिका खेलेको हुन्छ ।
हामी धेरैजसो नागरिकमा शिक्षा रोजगारीका लागि मात्र आवश्यक हुन्छ भन्ने मानसिकता रहेको देखिन्छ । तर, वास्तविकता भने त्यो होइन । आजको समयमा शिक्षा जीवनको अभिन्न अंगका रूपमा विकास भएको वास्तविकतालाई हामीले भुल्नु हुँदैन । हरेक नागरिकको कुल आयको ३० प्रतिशतभन्दा धेरै रकम खर्च यसै शिक्षाक्षेत्रमा खर्च हूने गरेको तथ्यांकले देखाउँछ । अहिले कोरोनाको दोस्रो चरणको संक्रमण तीव्र रूपमा फैलिरहेकाले सर्वत्र चिन्ता छाएको अवस्था छ । बालबालिका बढी प्रभावित भइरहेकाले समस्या थप जटिल बनेको देखिन्छ । हाम्रो छिमेकी देश भारतमा ठूलो संख्यामा संक्रमित भइरहेकाले झनै चिन्ता बढाएको छ । हामीले स्वास्थ्यको सामान्य मापदण्डको पनि ख्याल गरेका छैनांै ।
विद्यालय कोरोनाको हट स्पट बन्ने जोखिम बढेकाले बन्द गर्नुपरेको छ । कोरोनाको पहिलो लहरका बखतमा विद्यालयहरूले जे–जस्ता सावधानी र सतर्कता अपनाउनुपर्ने थियो, त्यो नभएको देखियो । यस पटकको भेरियन्ट तीव्र गतिको भएकाले थप सतर्कताको खाँचो रहेको छ, जसले हामीलाई सुरक्षित राख्न निकै ठूलो सहयोग गर्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने हामीले जानेकै विषय हो । आजको यो विषम अवस्थाको सामना गर्नका लागि सबैले हातमालो गर्नुपर्छ । जीवन रहे सबै कार्य गर्न सकिन्छ, तर जीवन नै जाखिममा राखेर के नै गर्न सकिन्छ र ? त्यसैले भनिन्छ नि, जीउ रहे घिउ खाइन्छ भनेर ।
शिक्षा र अर्थतन्त्रको सम्बन्ध पनि नङ र मासुझैं रहेको हुन्छ । प्रत्यक्ष र परोक्ष जे–जसरी यसका लागि खर्च हुन्छ, त्यसको लेखाजोखा गर्दा स्पष्ट देखिन्छ । शिक्षा ज्यादा खर्चिलो बन्दै गइरहेको छ । हालसालै मात्र शिक्षा मन्त्रालयले सबै सरोकारवालाहरूसँग छलफल गर्दा विद्यालय सञ्चालकहरूले विद्यालय बन्द नगर्ने भनेर सरकारलाई प्रस्ट पारे । सेसनको अन्त्यमा जुन अवस्थाको सामना गर्नुपर्ने अवस्था सिर्जना भयो, त्यसले सर्वत्र चिन्ता र समस्या बढाएको छ । शिक्षाले मानवको चौतर्फी विकासको मार्ग मात्र सुगम बनाउने नभई यसले रोजगारीको सिर्जना गर्दै आर्थिक विकासमा समेत महŒवपूर्ण भूमिका खेलेको हुन्छ । कोरोनाको कारणले गर्दा देशभरमा १ हजारभन्दा बढी निजी विद्यालय बन्द भएको तथ्यांक देखिन्छ ।
शिक्षाले प्रत्यक्ष रूपमा जसरी रोजगारी सिर्जना गर्छ, त्यसैगरी परोक्ष रूपमा यसबाट विविध क्षेत्रमा राजगारीको अवसर सिर्जना गर्छ । व्यापार, व्यवसाय तथा अन्य क्षेत्रमा पनि सहज वातावरण निर्माण गर्ने हुनाले शिक्षा मानव जीवनमा अत्यन्तै महŒवपूर्ण मानिएको हो । शिक्षित मानव शिष्ट, सिर्जनशील तथा हरेक सवालमा सचेत हुन्छन् । कोरोनाको पहिलो लहरबाट निकै प्रभावित भएको शिक्षाक्षेत्र बिस्तारै सुचारु हुन थालेको बखतमा पुनः अर्को लहर, जुन झनै जटिल र तीव्र संक्रमण हुने बेलायती भेरियन्टको भाइरसका कारण सानैमा त्रासपूर्ण वातावरणको निर्माण भएको छ । जीवनभन्दा ठूलो अर्को केही हुँदैन; तसर्थ सबैले स्वास्थ्य मापदण्डको पालना गर्दै सतर्कता अपनाउँदै यो विषम अवस्थासँग जुझ्दै आत्मबलको विकास गरौँ ।
शिक्षमा व्यापारीकरणको चर्चा हुने नगरेको होइन, तर हामीले शिक्षामार्फत जेजस्ता लाभ लिन सक्छौं, त्यो लिँदै सकेसम्म व्यावहारिक र वैज्ञानिक अनि सीपयुक्त बनाउँदै जानुपर्छ । यदि शिक्षालाई सीपसँग जोड्न सक्यौँ भने यसले विकासका थप मार्ग खोल्ने हुँदा यसमा सबै सरोकारवाला गम्भीर हुन जरुरी देखिन्छ । शिक्षाको क्षेत्रमा ठूलो मात्रामा अर्थतन्त्रको सम्बन्ध गाँसिएको हुन्छ । अबका दिनमा सबै विद्यालयले सरकारबाट जारी भएमा स्वास्थ्य मापदण्डको इमानदारीका साथ पालना गर्दै यस घडीमा सुरक्षित रहने हरसम्भव प्रयासमा जुट्नुपर्छ । हालको सन्दर्भलाई हेर्दा सरकारलाई कर उठाउने चिन्ता हुनसक्छ भने विद्यालयलाई शुल्क उठाउने चिन्ताले सताएको होला । तर, आम अभिभावकलाई भने छोराछोरीको स्वास्थ्यको चिन्ता छ ।
आजको यो विषम अवस्थामा हामी सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । अभिभावकले पनि यस अवस्थामा आफ्ना बालबालिकालाई सिर्जनशील कार्यमा लगाउन पे्ररित गर्दै पठनपाठनमा जोड दिनुपर्छ । विद्यालयसँग जोडिएका अनेकौं सवाल छन्, ती भनेका किताब, कापी, पोसाकलगायतका सामग्री खरिदले आर्थिक क्रियाकलाप गतिशील मात्र नबनाई समग्र अर्थतन्त्रलाई चलायमानसमेत बनाइराख्छ । गत वर्ष जसरी ल्यापटप, मोबाइल र कम्प्युटरजस्ता प्रविधिका उपकरणले बजार पाएको थियो त्यसको ठीक विपरीत पुस्तक तथा अन्य स्टेसनरीका सामानले बजार नपाउँदा यसको व्यवसाय गर्नेलाई मर्का पर्न गयो । विश्वभर आज जुन सन्त्रासपूर्ण वातावरण रहेको छ, त्यसलाई हामीले निकै सुझबुझका साथ सामना गर्नुको अर्को विकल्प पनि त छैन । त्यसकारण शिक्षामा संलग्न सबैले सजगताका साथ सरकारको निर्देशनको पालनामा इमानदार हुँदै अनलाइन पठनपाठनमा जुट्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्