नयाँ औद्योगिक ऐन ल्याइँदै «

नयाँ औद्योगिक ऐन ल्याइँदै

स्वदेशी वस्तुको उत्पादन, उत्पादकत्व वृद्धि गरी तुलनात्मक वस्तुको निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने गरी औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको हो ।

सरकारले स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्ने गरी नयाँ औद्योगिक व्यवसाय ऐन ल्याउने तयारी गरेको छ । मुलुकमा आयात बढीरहेका बेला स्वदेशी वस्तुको उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धन गर्ने गरी नयाँ औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र ईपीआईले संयुक्तरूपमा गरेको ‘औद्योगिक व्यवसाय ऐनको मस्यौदामाथि छलफल’ विषयक अन्तक्र्रियामा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले निर्यात प्रवद्र्धन गर्ने गरी औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको जानकारी दिइन् ।
स्वदेशी वस्तुको उत्पादन, उत्पादकत्व वृद्धि गरी तुलनात्मक वस्तुको निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने गरी औद्योगिक व्यवसाय ऐन ल्याइने उनको भनाइ छ । “उद्योग व्यवसाय दर्ता, सञ्चालन र बहिर्गमनलाई सहज पार्ने काम ऐनले गर्ने छ,” सचिव खतिवडाले भनिन्, “उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने गरी ऐनमा विशेष व्यवस्था गरिएको छ ।” ऐनको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेकाले सहमतिका लागि एक साताभित्रैमा कानुन मन्त्रालयमा पठाउन लागिएको उनले जानकारी दिइन् ।
सरकारले उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको बताए पनि निजी क्षेत्रका व्यवसायीले त्यसमा असन्तुष्टि व्यक्त गरेका छन् । निजी व्यवसायीमैत्री ऐन ल्याउनुपर्ने निजी व्यवसायीको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगलाई जग्गा प्राप्त गर्न, स्थानीयस्तरमा उद्योग सञ्चालन गर्न र बैंकबाट ऋण प्राप्त गर्न समस्या भएकाले उत्पादन गर्न भन्दा आयात गर्न सहज हुने बताए । नयाँ औद्योगिक व्यवसाय ऐन उद्योगमैत्री हुुनुपर्नेमा उनले भनाइ छ । २ अर्ब रूपैयाँभन्दा बढी लगानी भएको उद्योगलाई आयकरमा छुट नभई एक अर्ब पुँजीको उद्योग स्थापना गरी तीन सय जनालाई रोजगारी दिइरहेका उद्योगलाई आयकरमा २० प्रतिशत छुट दिनुपर्ने उनको भनाइ छ । “दर्ता नगरी सञ्चालन गर्ने उद्योगलाई नयाँ ऐनमा कम सजायको व्यवस्था गरिनुपर्छ,” उनले भने, “सरोकारवाला निकायबीच समन्वय नभएकाले विद्यमान ऐनमा धेरै विकृति आएकाले नयाँ ऐनमा त्यसलाई सुधार गरिनुपर्छ ।”
कार्यक्रममा पूर्वसचिव पुरुषोत्तम ओझाले स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने सवै उद्योगलाई आयकरमा छुटको व्यवस्था गरिनुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले छोटो समयमा कार्यान्वयन नै नगरिकन औद्योगिक ऐन संशोधन गर्नु उपयुक्त नहुने बताए । अन्य मुलुकमा उद्योग क्षेत्रमा लगानी गर्नेलाई दिने गरेको अनुदान नयाँ ऐनमा व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । उद्योग खोल्न, सञ्चालन गर्न र बन्द गर्न ऐनमा सहज गरिनुपर्ने भन्दै उनले लगानी गर्ने वातावरण अनुकूलको ऐन ल्याउनुपर्ने धारणा राखे ।
पूर्वसचिव विमल वाग्लेले विद्यमान ऐनले अपेक्षाअनुसार काम गर्न नसकेकाले नयाँ ऐन ल्याउन लागिएको बताए । औद्योगिक व्यवसायको प्रवद्र्धन गरी मुलुकमा रोजगारी सिर्जना गर्ने गरी नयाँ ऐन ल्याउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले भारत, चीन र बंगलादेशका मानिसले जोखिम लिएर भए पनि लगानी गर्ने गरेको तर नेपालमा सानो बजार रहेकाले लगानी नआउने गरेकाले नीतिगत सुधार गर्न सुझाव दिए । औद्योगिक व्यवसाय प्रवद्र्धन गर्न विशेष आर्थिक क्षेत्र सेज स्थापना गरिए पनि विद्युत्, भन्सार र उद्योगको समन्वय नहुँदा औद्योगिक क्षेत्र सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले उद्योग र लगानी मैत्री ऐन ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्