धर्म, धर्मनिरपेक्षता र राजनीति— २ «

धर्म, धर्मनिरपेक्षता र राजनीति— २

हार्वर्ड विश्वविद्यालय र मिचिगन विश्वविद्यालयका प्राध्यापकहरू पिप्पा नोरिस र रोनाल्ड इन्गलहार्ट लेख्छन्; पुरानो धर्मको प्रकृति अध्ययन गर्न वेबर र डर्कहिमले एक शताब्दी अगाडि नै विचारहरू विकसित गरे, जसमा धर्मको अस्तित्वगत सुरक्षाको अनुभवले कसरी धर्मनिरपेक्षताको प्रक्रियालाई गतिशील गर्छ भन्ने कुरा बुझ्न नयाँ सैद्धान्तिक ढाँचाको विकास भयो । यहाँ प्रश्न के उठिरहेको छ भने, धर्मनिरपेक्षताको प्रक्रियाले दैनिक जीवनमा धर्मको भूमिकालाई कम गरिरहेको छ । संसारका प्रमुख धार्मिक विश्वासहरूले एक पुनरुत्थानको अनुभव गरिरहेका छन् वा छैनन् ? यही विषयहरूभित्र आज हामी पनि छौं, यहाँ धर्म, धर्म परिवर्तन : राजनीति, छुवाछूत, लैङ्गिक भेदभाव, मानव अधिकार, स्वतन्त्रता, लोकतान्त्रीकरण आदि केही फण्डितहरूको पैसो कमाउने बाटो बनेको छ । यसलाई निर्वाचनमा भोटर फकाउने हतियार आदि बनाउँदै आएको देखिरहेका छौं । यसलाई आज भोगिरहेका छौं, जुन गाउँगाउँमा चर्च, अभिवादनमा जय मुसीजस्ता शब्दहरू दैनिक जीवनमा सुनिरहेका छौं ।
यहाँ धर्म, संस्कार संस्कृति आदिजस्ता विषयहरूले राजनीतिमा एक गठ जोड्ने (कोहेसिभ बोन्ड) कार्य गरेको देखिन्छ । धर्म र राजनीतिले प्रभाव र कहीँकतै विवादहरू जन्माएका देखिन्छन् । जस्तै : निर्वाचनताका गुठियारहरूको भोज खाएर मत दिन जाने प्रस्ट उपत्यकामा देखिन्छ । यहाँ राजनीतिले मत प्रभावित पारिँदै छ । त्यसरी नै निर्वाचन पद्धतिको प्रजातन्त्रमा पहाडमा धामी, झाँक्री, पुरोहित, पण्डित आदि प्रयोग भएका देखिन्छन् । लेखकले गुम्दा, गोरखामा चर्चबारे विवाद गाउँमै देखेको छ । त्यहाँ दुई पक्षीय विवाद भएको थियो । यहाँ धर्म परिवर्तनको प्रक्रियामा विभिन्न संघ, संस्थाहरू प्रलोभन दिएर लाग्दा आएका विवादहरू हुन्, यसतर्फ सरकारको निगरानी जरुरी देखिन्छ ।
धर्म, पहिचान र राजनीतिमा जोडिन्छ, राम्रो उदाहरण उत्तरी आयरल्यान्ड देखिन्छ । उत्तरी आयरल्यान्डमा धार्मिकता छैन । यहाँ द्वन्द्व र युद्ध पनि हुनेछैन र कहिल्यै पनि हुनेछैन । यहाँ धेरै टिप्पणीकर्ताहरूले अनुमान गरेभन्दा धर्म बढी सामाजिक र राजनीतिक रूपमा महत्वपूर्ण छ । वास्तवमा धर्म द्वन्द्वका साथसाथै भर्खरको परिवर्तनको सामाजिक पहिचान र राजनीतिको केन्द्रीय विशेषता बनेको छ भनेर मिशेल क्लेयर, १९६९ मै अध्ययन गरेर लेख्छन् । अर्को विषय हामी इसाई र यहुदी सम्बन्धका व्यवहारहरू जर्मनीको हेर्दा धर्म पहिचानसँग यहुदीहरूको जोडिएको प्रस्ट देख्न सक्छौं । इसाई चिन्तनको फोहोर बोकेर नाजी विचारधाराभित्रको मिथक र रीतिथितिहरू यहुदीहरूमाथि थोपरियो, फ्राइडेन्डर शाउल सन् २००२ मै लेख्छन् । अर्को मुलुक अमेरिकातिर हेर्दा त्यहाँ गणतन्त्रको जन्मदेखि नै धर्म र राजनीतिलाई धेरै जसो समय छुट्टै क्षेत्रहरूमा सञ्चालन गरेका थिए । धार्मिक बहुलवादको मूल विशेषताले समाजमा जातीय कलहको डर रहेको थियो । संघीय धार्मिक स्थापनाको विरुद्ध कलहको डरले संवैधानिक अधिवेशनका प्रतिनिधिहरू चुनिएका थिए । वास्तवमा अमेरिकी क्रान्तिको एउटा असाधारण विशेषता भनेको चर्च र राज्यको विभाजन नै थियो (ल्याम्बर्ट फ्रान्क, २००८) ।
अमेरिकामै राष्ट्रपति पदका उम्मेदवारहरू र तिनीहरूका सहयोगीहरूले मतदाताहरूलाई परिचालन गर्न व्यापक धार्मिक अपिलहरू प्रयोग गर्छन् । यसको राम्रो उदाहरण अमेरिकी राष्ट्रपति चुनावमै जोन एफ केनेडीले क्याथोलिक वर्गको मत धर्मद्वारा प्रभावित पारेर राष्ट्रपति चुनाव जितेको देखिन्छ । यहाँ निक्सनकी छोरी जुली आफ्ना बाबुलाई प्रश्न गर्छिन्, यो राष्ट्रपतीय निर्वाचनमा किन मानिसहरूले हामीजस्तालाई र अन्य धर्म मान्नेहरूलाई भोट दिएनन् ? (कार्टी जे थोमस, २००४) अमेरिकाको हालसम्म भएका निर्वाचनहरूमा प्रत्यक्ष र अप्रत्यक्ष धर्मको प्रयोग, नस्लको प्रयोग भएको देखिन्छ । यिनै विषयहरूको अभ्यासले वाक्क भएर अमेरिकी राजनीतिक गणतन्त्रले प्रजातान्त्रिक राजनीति र राजनीतिक–धार्मिक बहुलबाद दुवैका लागि एक गतिशील रोकथाम गर्ने संरचना बनायो । यो संरचनाले राम्रोसँग काम गर्न सकेको देखिँदैन, किनकि पार्टी भनेको व्यक्तिहरूको समूह हो । व्यक्ति गएर धर्म, संस्कार अनि मातृत्वको गाँठोमा जोडिन्छ ।
त्यस्तै ठूलो प्रजातान्त्रिक मुलुकमा गनिएको भारतमा कुलीन शासकहरू मुस्लिमविरोधी भएर पाकिस्तानलाई शत्रु देखाएर सत्ता टिकाएका छन् । भारतीय प्रधानमन्त्री मोदी सोझै हिन्दुत्वको वकालत गर्छन् । धर्म र राजनीति विषय जुनसुकै मुलुकमा नस्ल, जातजाति, मानव अधिकार, सशक्तीकरण, स्वतन्त्रता, समृद्धि आदिजस्ता विषयहरू जोडिएर आएको सन् १९६० को नव उदारवादी संरचनाभित्र देखिन्छ । गरिबी, छुवाछूत र पछाडि पर्नुको कारण धर्म हो भन्ने भ्रम छर्ने कार्य नेपालमा गरी क्रिस्चियानिटीतर्फ आकर्षित गर्ने कार्य नेपालमा गरेको देखिन्छ । धर्मले प्रजातान्त्रिक पद्धतिका सबैजसो अवयवहरूमा आफ्नो प्रभुत्व र प्रभावकारिता देखाएको देखिन्छ । धेरै पेपरहरू खोतल्ने प्रयास गर्दा यो नवउदारवादी अर्थव्यवस्थाभित्र मानव अधिकार र मेरो स्वतन्त्रताका नाममा धर्म स्खलित भएको देखिन्छ । कट्टर मुस्लिम राष्ट्रहरूमा पनि अन्तर्राष्ट्रिय विचौलिया वर्गका गैरसरकारी संस्थाहरूको वकालतले धर्मनिरपेक्षता बढेको देखिन्छ । यसमा बहुसांस्कृतिक वाद त आयो तर व्यवस्थापनको पाटोमा राज्यहरू कमजोर हाम्रो जस्तै लथालिङ्ग अवस्थामा गुज्रिरहेको देखिन्छ ।
यहाँ सम्बन्धलाई लिएर हेर्ने हो भने धर्म र राजनीति बीचको महत्वपूर्ण सम्बन्ध छ । क्याथोलिक र इस्लामतर्फ हेर्ने हो भने आनुवंशिकतावाद (नातावाद) लैङ्गिक राजनीतिसँग जोडिएर आएको देखिन्छ । यहाँ, क्रिस्चियन डेमोक्र्याटिक अभिनेता र चिन्तकहरू २० औँ शताब्दीका धेरै महत्वपूर्ण राजनीतिक लडाइँहरूमा अग्रणी रहेका छन्, जसमा अन्तर्राष्ट्रिय मानव अधिकारको निर्माणदेखि युरोपियन एकीकरणको प्रक्रिया र उत्तर पश्चिम कल्याणकारी शासनको निर्माणदेखि लिएर ल्याटिन अमेरिकी विकास नीतिहरूसम्म बनाएका छन् (असेत्ति कार्लो इनभर्जी, २०१९) ।
यो पोस्ट मोडर्न (उत्तर आधुनिक) समयमा लिङ्ग, धर्म र राजनीति एकआपसमा जोडिएको देखिन्छ । प्रत्येकको आपसी सम्बन्धले दुईलाई निर्माण गर्छ । त्यसैले तिनीहरू पूर्ण रूपमा अलग हुन सक्दैनन् । आज हामीले आधुनिकता, यसका बहुआयामी प्रकृति साथै अन्तर्निहितका घटकहरूको अन्वेषण गर्ने विश्लेषणात्मक कार्यलाई अनुसन्धानको विषयवस्तु बनाई विविधता समेट्नु जरुरी भैसकेको अवस्था छ, जसभित्र हाम्रो बालविवाह, लैङ्गिक भेदभाव, छुवाछूत आउँछन् । त्यसैले यही हाम्रो कमजोरी समाएर अन्तर्राष्ट्रिय बिचौलिया वर्ग राष्ट्रिय र स्थानीय बिचौलिया बौद्धिक वर्ग समाएर गैरसरकारी संस्थामार्फत सामाजिक विखण्डनमा राजनीति गरिरहेको देखिन्छ । यसैलाई प्राथमिकतामा राख्दै सहयोगका नाममा सफ्ट पावरमा खेल्न विकसित मुलुकहरूले उद्देश्यमा विश्व निर्माण भन्दै समानता, समावेशीकरण र लैङ्गिक समानता आदि राख्छन् र यस क्षेत्रको भू–राजनीतिमा खेल्छन् । धेरै उदाहरणहरू हाम्रै मुलुकमा देखिइरहेका छन् । हाम्रो कमजोरीको विषयलाई हामी आफैं समाधानतिर लान सक्दैनौं र होइन भनेर बोल्न र लेख्न पनि सक्दैनौं । कारण, परम्परा र आर्थिक स्रोत तथा साधनको अभाव छ ।

फण्डितहरूको भूमिका
अर्को पाटोबाट विश्लेषण गर्दा, नागरिक धर्मले ‘राजनीतिक प्रक्रियाका लागि अतुलनीय लक्ष्य’ प्रदान गर्छ । राष्ट्रिय एकताका शक्तिशाली प्रतीकहरू उत्पन्न गर्छ । हामी विकसित मुलुकका विकसित संस्थाहरूले अनुसन्धान गरेर ल्याएका धर्म र राजनीतिको विषय, उद्देश्य र नाराहरूतर्फ कुद्यौं, तर आफ्ना घरभित्रका अभ्यास र व्यवहारलाई उपहास गर्छौं । समस्याको गाँठो यहाँ देखिन्छ । अर्को पाटो धर्म र राजनीतिलाई बसाइँसराइको आँखाबाट हामीले अध्ययन गरेनौं । प्राध्यापक धेरैजसो एकेडेमिक क्षेत्रको विकृति र फोहोरी खेल अध्ययन गर्ने हो भने विभिन्न धर्म बोकेर नेपाल छिरेका शरणार्थी, बाह्य मुलुकका अपराधी, भगुवा, सिकारीसम्मका व्यक्तिहरूलाई हामीले ‘भूमिपुत्र’ बनाउने कार्य ग¥यौं अनि राजनीतिमा बार्गेनिङ र लबियिङ शक्ति सिर्जना गरिदियौं । शिक्षा नीति बनाउन पुगेका फण्डितहरूले सत्य, तथ्य र वास्तविक तथ्याङ्क अध्ययन गर्छन् स्कुलदेखि नै नाबालकहरूले भनेर पाठ्यक्रममै नेपालको ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक भूगोल चिमोट्ने काम गरियो । आधारभूत भूगोलमा खुट्टो टेकिएपछि मात्रै राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलापहरू हुने हुन् भन्ने तथ्य पूरै छोपियो ।
हामीले स्वार्थ सिद्ध गर्न, प्रोपोजल लेखेर दाताको उद्देश्यमा खेल्न र ठाडै पैसो खान सामान्यतिर होइन, जटिलतातिर मोडिदियौं । अर्कातर्फ विगत ३० वर्षका अनुभवहरूले राजनीतिको पहुँचमा पुग्नेहरू धर्म र लिङ्ग विषयहरूको सूक्ष्म छलफल प्रदान गर्न असमर्थ हुन्छन् भन्ने पनि देखियो । यिनीहरूको हेराइ बारम्बार धार्मिक महिलालाई पितृसत्तात्मक नियन्त्रण, शक्तिहीन र कमजोरको अधीनमा रहेको अनि त्यसैले विश्वव्यापी मुक्तिको आवश्यकताको रूपमा हेर्छन् । यिनीहरू आफ्नो भूगोल, परिवेश र परिधि केलाउने अनि समस्याको समाधान निकाल्ने परिवेश हेर्दैनन् । सानो रूपले हेर्दा ‘आमा, दिदी बैनी हो कति बस्छौं दासी भई ….’ गीत घन्काउनु । तर, घरमा छोरीहरू पढाउन तर्सिन्छन् वा छोरा र छोरीबीच विभेद गर्छन् । यसको अर्को उदाहरण हालै पत्रपत्रिकामा निस्किएका समाचारहरूमा मिटू, छुवाछूत, लैंगिक असमानताबारे लेखिएका विषयहरू अनि व्यावहारिकतामा र अभ्यासमा लेखिएका देवयानी राणा र सांसद कोमल ओलीप्रतिका नकारात्मक समाचार आफैं दाँजेर हेर्दा यी तथ्यहरू बोल्छन् । (क्रमशः)
(न्यौपाने ‘संघीयताको अर्थ–राजनीति’ पुस्तकका लेखक हुन् ।)

प्रतिक्रिया दिनुहोस्