वर्षाका कारण सडक पूर्वाधारमा दुई अर्बको क्षति «

वर्षाका कारण सडक पूर्वाधारमा दुई अर्बको क्षति

पूर्वतयारी र अध्ययनविना राजनीतिक दबाबमा बनेका तथा प्राकृतिक दोहन भएका क्षेत्रका सडकमा बढी क्षति भएको छ ।
शिवप्रसाद नेपाल
उपमहानिर्देशक, सडक विभाग

अध्ययन अनुसन्धान र प्राविधिक रूपमा सफल हुने पूर्वाधारलाई मात्र जोड दिनुपर्छ र यसका लागि राजनीतिक दबाब, प्रभावलाई पनि निरुत्साहित गर्न सक्नुपर्छ ।
सुमन शर्मा, पूर्वसचिव

जारी वर्षा सिजनमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न १३० स्थानका सडकमा क्षति पुगेको छ भने यसबाट दुई अर्बभन्दा बढी क्षति भएको छ ।
क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि संघ प्रदेश, स्थानीय तहका सम्पूर्ण सडकमा २ अर्ब रुपैयाँभन्दा बढी सडक पुनर्निर्माण खर्च गर्नुपर्ने देखिएको सडक विभागले जनाएको छ ।
अध्ययनविना र राजनीतिक दबाबको कारण बनेका अधिकांश सडकमा बढी प्रभावित भएको सडक विभागका अधिकारीहरूले दाबी गरेका छन् । विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले राजनीतिक दबाबका कारण बनेका सडकका साथै प्राकृतिक दोहन भएका क्षेत्रका सडकमा बढी क्षति पुगेको बताए । “पूर्वतयारी र अध्ययनविना राजनीतिक दबाबमा बनेका तथा प्राकृतिक दोहन भएका क्षेत्रका सडकमा बढी क्षति भएको छ,” उनले भने, “प्राविधिक अध्ययनमा समय र लगानी दुवै बढाएर प्राविधिक तवरमा छनोट भएको क्षेत्रमा मात्र राजनीतिक दवाव र प्रभावलाई निरुत्साहन गर्दै पूर्वाधार निर्माण गर्नु आवाश्यक छ ।”
सरकारका पूर्वसचिव सुमन शर्मा पनि स्थानीयस्तरमा बन्ने पूर्वाधारको प्राविधिक अध्ययन कमीले पनि प्राकृतिक प्रकोपले ठूलो क्षति हुने गरेको बताउँछन् । “अध्ययन अनुसन्धान र प्राविधिक रूपमा सफल हुने पूर्वाधारलाई मात्र जोड दिन पर्छ र यसका लागि राजनीतिक दबाब, प्रभावलाई पनि निरुत्साहित गर्न सक्नुपर्छ । अर्का समस्या भनेको आर्थिक वर्षको अन्त्यमा बढि बजेट खर्च गर्ने र हचुवाको भरमा पूर्वाधार निर्माण हुदाँ समस्या आएको छ,” उनले भने, “दीर्घकालीन सोच र प्रविधिक अध्ययनका साथ पद्धतिलाई अवलम्बन गरेर पूर्वाधार निर्माण गर्नुपर्छ । प्राकृतिक दोहन रोक्नुपर्छ ।”
पूर्वाधार निर्माण गर्दा पद्धतिलाई अवलम्बन गर्दै बनाउनु पर्ने नीति रहेको भए पनि कार्यान्वयन र मूल्यांकनको पाटो फितलो हुदाँ बढी समस्या आएको उनको भनाइ छ ।
सडक विभागका अनुसार राष्ट्रिय राजमार्ग–२८, पुल–२६ सहायक राजमार्ग, ग्रामीण र रणनीति सडकलगायतमा धेरै क्षति भएको छ । यसैगरी पुलतर्फ काठको पुल ३, बेलीब्रिज १, आरसीसी कल्र्भट ३, आरसिसि कंक्रिट पुल ८ र निर्माणाधीन ८ पुल र अन्य ३ गरी कुल २६ पुलमा क्षति पुगेको र यसरी पुलतर्फ ८० करोड रुपैयाँभन्दा बढीको क्षति भएको विभागले जनाएको छ ।
विभागको प्रारम्भिक अध्ययनका आधारमा साउन ५ सम्म करिब २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको विभागका उपमहानिर्देशक नेपालले बताए । “वर्षा हुने क्रम नरोकिएको र अनुगमनमा गएको टोलीले पानीको बहाब कम नभएकाले पूर्ण क्षति विवरण संकलन गर्न समस्या भएको प्रारम्भिक चरणमा २ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ । पुनर्निर्माण गर्न लाग्ने बजेटको रकम भने पूर्ण क्षतिको विवरण संकलनपछि यकिन गर्न सकिन्छ ।”
विभागअन्तर्गत डिभिजन, सडक कार्यालयहरूको समन्वयमा क्षतिको आकलन गर्दा प्रारम्भिक रूपमा १ अर्ब २० करोड सडकको र पूलमा ८० करोड रुपैयाँको क्षतिको प्रक्षेपण गरिएको छ । गत वर्ष पनि सोही हाराहरीमा सडक तथा पुलमा क्षति पुगेको थियो । क्षति भएका सडकलाई पूर्ववत अवस्थामा फिर्ता ल्याएर यातायात सुचारु गर्ने विभागले २ अर्ब बढीको सो बराबरको लगानी आवश्यक पर्नसक्ने प्रारम्भिक आकलन गरेको हो । जारी सिजनमा सबैभन्दा बढी सिन्धुपाल्चोक र बागमती प्रदेशमा भएको छ । गत वर्ष पनि वर्षाले सबैभन्दा बढी क्षति अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी सडकअन्तर्गतको २६ किलोमिटर, बेनी–जोमसोम–कोरोला, डुम्रे–बेंसीसहर–चामे सडक खण्डमा क्षति पु¥याएको थियो । यस वर्ष ती क्षेत्रमा क्षेत्रलगायत सिद्धार्थ राजमार्गको पाल्पा–स्याङजा खण्डमा, साफे–मार्डतरी, बझाङ, अरनिको राजमाग क्षेत्रमा क्षति पुगेको छ । सो क्षेत्रमा सडक सूचारु गर्न ठूलो लगानीको आवश्यक रहेको विभागको भनाइ छ । नदी कटान, पहिरो खस्ने, सडक भासिने, सडकमा ढुंगा झर्नेलगायतका समस्याका कारण सडक अवरुद्ध भएको र समस्या आएको विभागको अध्ययनले बताएको छ ।
पछिल्लो सयम राजमार्गसँग जोडिएका सहायक मार्ग बढी विस्तार भएको र ती सडकमा पानी परेपछि बाटोमा पानीको बहाब बढेर पहिरो गएर सडकमा क्षति पग्ने गरेको विभागको भनाइ छ । विभागले सडक सुचारु गर्न विभिन्न डिभिजन कार्यालयअन्तर्गत २०५ सय मेसिन र सोहीको संख्याभन्दा बढी कर्मचारी परिचालन गरेर यातायात सुचारु गर्न काम भइरहेको छ ।
सूचना पुग्ने बित्तिकै थप अन्य मेसिनहरू परिचालन गर्ने गरिएको छ । विभागका मातहतका कार्यालयहरुबाट परिचालन हुने गरेका छन् । क्रेन, लोवेठ ट्रक, टेलर र अन्य मेसिन तथा उपकरणसहित आवश्यक जनशक्ति प्रशासन कार्यालयको समन्वयमा परिचालन हुँदै आएका छन् ।
विभागले मूलतः तीन चरणमा तिब्रताका साथ काम गरिरहेको छ । विभागले आवश्यक मर्मतअन्तर्गत सडक बोर्डबाट विनियोजन भएको बजेट डिभिजन सडक कार्यालयमा पठाएर पहिलो तत्काल सडक सुचारु गर्न लाग्ने, दोस्रो स्थिर, दीर्घकालीन बनाउने र तेस्रो पूर्ववत अवस्थामा फर्काउन तत्काल काम गर्ने गरी समन्वयको आधारमा योजना बनाउने गरेको छ ।

क्षतिमा अध्ययन अभाव र राजनीति दबाब कारक
आवश्यक अध्ययनको अभाव र राजनीतिक दबाब, प्राकृतिक दोहनका कारण सडकमा वर्षाले बर्सेनि सडक, पुलमा क्षति पुग्ने गरेको उपमहानिर्देशक नेपालले गुनोसो गरे । मुलुक संघीयतामा गएसँगै स्थानीय र प्रदेशका जनप्रतिनिधिले सडक प्राविधिक अध्ययन नै पूरा नगरी पूर्वाधार निर्माण जोड दिएकोले पछिल्लो सयम सडक पुलमा क्षति बढी भएको विभागको भनाइ छ । नदी तथा नदीजन्य सामग्रीको दोहनका कारण नदीले बहाब परिवर्तन गर्दा पनि पछिल्लो सयम सडक र पूर्वाधारमा बढी क्षति भएको विभागको निश्कर्ष छ ।
क्षति भएका सडकको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्दै सडकलाई पुरानै लयमा फिर्ता गर्न पनि विभागलाई सकस छ । मर्मतका लागि विनियोजन भएको बजेटबाट नै यसरी दैविक प्रकोपका कारण पूर्वाधारमा भएको क्षतिको मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने बाध्यता विभागलाई रहेको छ । “समान्यतया मर्मतमा विनियोजन भएको बजेटबाट व्यवस्थापन गरेर अपुग भए अर्थ मन्त्रालयसँग कार्यक्रम संशोधन गरेर मर्मतको काम गर्ने गरेका छौं ।” उपमहानिर्देशक नेपालले भने, “यसरी प्राकृतिक रुपमा हुने क्षतिका लागि छुट्टै बजेटको व्यवस्था नहँुदा स्रोत व्यवस्थापनमा समस्या छ ।” जस्का कारण नियमित र तय भएका आयोजनाको रकमलाई कार्यक्रम संशोधन गरेर स्रोतको जोहो गर्दा निर्माणाधीन पूर्वाधारमा थप सयम लाग्ने गरेको उपमहानिर्देशक नेपालले बताए । सीमित बजेटका कारण यसरी वर्षाले हुने पूर्वाधार क्षतिमा भएकै स्रोतलाई व्यवस्थान गदैं पुनर्निर्माण गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्