मेलम्ची खानेपानी मर्मत गर्न एक वर्ष लाग्ने «

मेलम्ची खानेपानी मर्मत गर्न एक वर्ष लाग्ने

मनसुन सुरु भएको एक साता नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा करिव २ अर्बको क्षति पुगेको छ ।
मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा क्षति हुँदा आयोजनासम्म पुग्ने ८ किलोमिटर सडक भत्किँदा, ३ वटा हेर्डवस्क नजिकमा पुल, २ प्रवेशमार्गका पुल भत्किँदा, ढुङ्गा गिट्टी माटो तथा बालुवाले हेर्डवक्स नै पुरिएको र त्यसलाई सफा गर्न करिव २ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले हेर्डक्स पुरिए पनि ठूलो क्षति भने भएको छैन । बाढी कारण मेलम्ची नदीमा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितिको अनुमान छ । समितिले करिब १ वर्ष आयोजना मर्मत गर्न समय लाग्ने बताएपनि अझै कति लागत लाग्ने र कति समय लाग्ने भन्ने विषयमा बिस्तृत अध्ययनको प्रतिवेदन भने आउन बाँकी रहेको बताएको छ ।
समतिका अनुसार आयोजनासम्म जान जोडिएको करिव ८ किलोमिटर सडक मर्मत पनि समितिले गर्नेछ । ३० मिटर फराकिलो नदी बाढी आएपछि ६० मिटर फराकिलो बनेको आयोजनाले बताएको छ । भत्किएका ५ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाको दायित्व थपिएको छ । नदीको क्षेत्रफल झण्डै आधा बढेपछि पुलको लम्बाई पनि बढेसँगै लागत थपिने छ । सबै प्रक्रिया सम्पन्न गर्नका लागि आयोजनालाई थप २ अर्ब लाग्ने भएको हो ।
समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले प्रारम्भिक अनुमान करिव २ अर्बको क्षति भएको देखिए पनि अझै बिस्तृत अध्यान हुन समय लाग्ने बताए । “सडक, पुल, तथा हार्डवक्समा मुख्य क्षति पुगेको छ, आयोजनामा करिब २ अर्ब क्षति पुगेको छ, तर अझै बिस्तृत रुपमा वित्तीय क्षतिको विवरण आउन बाँकी छ” उनले भने, “मनसुनका कारण आयोजना मर्मतको काम थालनी गर्न गाह्रो छ, जतिसक्दो छिटो मर्मत गरेर उपत्यकाबासीलाई मेलम्चीको खानेपानी दिलाउने छौं ।”
श्रेष्ठका अनुसार प्राकृतिक विपत्ती, समन्वयको अभाव, खरिदका प्रक्रियाहरुले आयोजना मर्मतमा चुनौती थपिएको छ । मर्मत गर्न ढिलाई भए अस्थायी संरचनाबाट भएपनि मेलम्चीको पानी ल्याएर उपभोक्तालाई खानेपानी आपूर्ति व्यवस्थापन सहज बनाउने उनको भनाइ छ ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगेको जानकारी दिए । “आयोजनासम्म जान बाटो नै छैन, बल्ल बल्ल ज्यानको जोखिम मोलेर आयोजना पुगेका थियौं,” उनले भने, “अस्थायी बाटो निर्माण गरेर भएपनि आयोजना मर्मतको काम छिट्टै प्रारम्भ गर्ने तयारीमा छौं ।”
आयोजना असार मसान्तमा नै सम्पन्न भएपछि चालु आर्थिक वर्षका लागि १८ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको थियो । तर, थप २ अर्ब आर्थिक भार आयोजनालाई परेपछि मन्त्रिपरिषद्को निर्णय पश्चात मात्रै आयोजनालाई बजेट निकासा हुने समितिले बताएको छ ।
बाढी कारण अस्थायी बाँधबाट पानी हालिएको आयोजनाको डाइभर्सन टनेलमा लेदो भरिएको र ग्याल्थुम र अम्बाथानको अडिट टनेलमा समेत बाढीले क्षति पु¥याएकाले सुरुङ खाली गराउन समस्या भएको समितिले बताएको छ । समितिले बाढीग्रस्त मेलम्ची खानेपानी आयोजनाको ‘पुर्नस्थापना कार्ययोजना’ को मस्यौदा तयार गरेको छ ।
लामो समयदेखि खानेपानीको चरम अभाव झल्दै आएका उपत्यकाबासी मेलम्चीको पानी आएपछि उत्साहित भएका थिए । तर बाढीका कारण आयोजनामा क्षति पुगेपछि कम्तीमा पनि एक वर्ष पानी नआउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्