उद्धार निर्देशिका बल्ल कार्यान्वयनमा «

उद्धार निर्देशिका बल्ल कार्यान्वयनमा

कोभिड–१९ संक्रमणका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता ल्याउनका लागि गत वर्ष ल्याएको निर्देशिका बल्ल कार्यान्वयनमा आएको छ । पहिलो लहरको कोभिड संकटलाई लक्षित गरी ल्याइएको निर्देशिका दोस्रो लहरपछि मात्र कार्यान्वयनमा आएको हो ।
गत वर्ष साउन ५ गते सरकारबाट स्वीकृत भएको ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका, २०७७’ लाई कार्यान्वयनमा ल्याइएपछि गत आर्थिक वर्षमा विदेशमा अलपत्र परेका १८७ श्रमिकको उद्धारसमेत गरिएको छ । निर्देशिका कार्यान्वयनपछि उद्धार, नियोगमा सुरक्षित गृहको व्यवस्थापन र जनशक्ति थप शीर्षकका दुई करोड ४५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
वैदेशिक रोजगार बोर्डले निर्देशिका लागू भएपछि मलेसियाबाट ८६, यूएईबाट ५३, बहराईन १८ र अन्य देशबाट ३० जना गरी कुल १८७ जना अलपत्र कामदारको उद्धार गरिएको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सम्बन्धित श्रम गन्तव्यका नियोगको मागबमोजिम असारसम्म एक करोड ३५ लाख रुपैयाँ पेश्की रकम उद्धारका लागि पठाइएको बताए ।
“उद्धारको क्रममा नेपाल फर्काइएका कामदारमध्ये काठमाडौंस्थित होल्डिङ सेन्टरबाट बेखर्ची भई घर जान नपाएका १८७ जना कामदारलाई यातायात खर्चवापत एक लाख ९७ हजार १ सय रुपैयाँ सहयोगसमेत गरिएको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘‘प्रमुख श्रम गन्तव्य मुलुकहरू बाहेक अन्य विभिन्न मुलुकका तीन महिलासहित ३९ जनाको उद्धारका लागि नेपाली राजदूतावासमा पत्राचार गरी अनुरोध गरिएको छ ।” यस्तैगरी स्वदेश फर्किएका नेपाली कामदारको तथ्यांक संकलनका लागि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा २४सै घण्टा थप जनशक्ति परिचालनका लागि आवश्यक समन्वय र व्यवस्थापकीय सहयोग प्रदान गरिएको छ ।
बोर्डले अलपत्र परेको नेपाली श्रमिकको आश्रयका लागि विदेशस्थित नियोगहरूमा सुरक्षित गृहको स्तरोन्नति समेत गरेको छ । आव ०७७÷७८ मा नियोगमा सुरक्षित गृहको निर्माण तथा स्तरोन्ततिका लागि ओमन र कुवेतस्थित नेपाली राजदूतावासमा ६ लाख ५३ हजार पेस्की पठाइएको बोर्डले जनाएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकलाई विभिन्न फौजदारी अभियोगमा जेल सजाय भएको अवस्थामा निजको कानुनी प्रतिरक्षाका लागि समेत सरकारले पैसा पठाएको छ । सरकारले सम्बन्धित दूतावासको माग र परराष्ट्र मन्त्रालयको सिफारिसमा बोर्डको निर्णयानुसार कानुनी प्रतिरक्षाका लागि रकम पठाउने गरिएकोमा गत आवमा नेपाली राजदुतावास यूएईमा १० लाख २९ हजार रुपैयाँ पठाइएको थियो ।
कोभिड–१९ का कारण रोजगार गुमाई वा अन्य कारणले अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काउने कार्यमा विदेशस्थित नेपाली नियोगहरूमा जनशक्ति थप गर्नसमेत बजेट पठाएको छ । जनशक्ति आवश्यक भएका मलेसिया, साउदी अरबको रियाद तथा जेद्दा, कतार, संयुक्त अरब इमिरेट्स र ओमानमा रहेका नेपाली नियोगहरूमा जनसम्पर्क सहायक कर्मचारीहरूको मासिक पारिश्रमिकका लागि आवश्यक पर्ने बजेट रकम परराष्ट्र मन्त्रालयमार्फत उक करोड पेस्की उपलब्ध गराइएको बोर्डले जनाएको छ ।वैदेशिक रोजगारीको क्रममा विविध कारणले अलपत्र परेका २१६ जना कामदारलाई स्वदेश फिर्ता गर्न सहजीकरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्