लागू औषधसहित एक युवक पक्राउ «

पक्राउ परेका युवा लागूऔषध कारोबारी भएको अनुमान

लागू औषधसहित एक युवक पक्राउ

लमजुङ प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । बारा जिल्ला निजगण नगरपालिका–७ का ३० बर्षिय कमल केसीलाई सुन्दरबजार–७, फिल्महल चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागुऔषध सहित युवक पक्राउ परेसँगै जिल्लामै अहिले सम्मको ठूलो परिमाणमा लागुऔषध बरामद गरेको लमजुङ प्रहरीको दाबी छ । सुराकीको आधारमा खोजतलासमा खटिएको प्रहरीले केसीको साथबाट एकसय ७२ थान डाइजेपाम, एकसय ८१ नुफिन, दुई सय नौ थान फेनारागन गरी पाँचसय ६२ थान लागूऔषध र ४४ थान नित्राभाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कार्कीले बताए ।
पक्राउ परेका केसीको साथबाट प्रहरीले नगद ५५ हजार ६ सय १५ रुपैयाँ, विलबुक सहितको २२० सिसि पल्सर मोटरसाइकल, तिन थान मोवाईल सेट, सक्कल राहादानी र नागरिकताको प्रतिलिपी समेत बरामद गरेको प्रहरीले जनाएको छ । केसीको खोजतलासमा सादा पोसाक र बर्दिमा प्रहरी खटाईएको प्रनाउ कार्कीले बताए ।
प्रहरी नियन्त्रणमा परेका केसीलाई प्रचलित कानुनबमोजिम जिल्ला अदालत लमजुङबाट म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानअनुसार सो युवक लागुपदार्थ ओसार प्रसारमा संलग्न रहेको बुझिएको छ । ति युवकले यसअघि पनि बाहिरबाट लागूऔषध ल्याएर जिल्लामा कारोवार गरेको प्रहरीको अनुमान छ ।
केहि दिन अघिमात्रै लमजुङ प्रहरीले बेसीशहरबाटै केहि थान लागुूऔषध सहित एकजनालाई पनि नियन्त्रणमा लिएको थियो । उक्त व्यक्तीलाई पनि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
एक महिना अघिमात्रै जिल्लामा प्रहरी प्रमुखका रूपमा आएका प्रनाउ कार्कीले लागुपदार्थ प्रयोग र कारोवारले एक व्यक्ती मात्रै नभई परिवार, समाज र सिँगो देशलाई बर्बाद गराउने भन्दै यसको नियन्त्रणमा विशेष रुपमा लाग्ने बताए । उनले समुदायको सहयोग विना लागूपदार्थ दुव्र्यसन मुक्त समाज निर्माण गर्न नसकिने भन्दै सवैजनाले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार गत आर्थिक वर्ष जिल्लामा लागुपदार्थ दुव्र्यसनसम्बन्धी जम्मा आठवटा मुद्दा मात्रै परेको थियो । प्रहरीका अनुसार आर्थिक वर्ष २०७७-७८ मा लागुऔषध दुव्र्यसनसम्बन्धी आठ मुद्दामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरी तथ्याँकअनुसार जिल्लामा अघिल्लो आर्थिक वर्ष (२०७६-७७) मा पाँचवटा मात्रै मुद्दा दर्ता भएको थियो । त्यो भन्दा अघिल्ला दुई आर्थिक वर्षमा आठ-आठ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याँकमा उल्लेख छ ।
जिल्लामा लागूपदार्थ दुव्र्यसनका घटनाहरूलाई हेर्दा प्रायः किशोर अवस्थाका युवाहरू बढिमात्रामा दुव्र्यसनमा लागेको पाइएको छ । जिल्लाको बजारी क्षेत्र मात्र नभई ग्रामिण भेगमा समेत लागू पदार्थको प्रयोग तथा कारोबार हुने गरेको अनुमान गरिएको छ । दुव्र्यसन न्यूनीकरणका विषयमा प्रहरी वा प्रशासनमात्र जिम्मेबार नभई आम नागरिक समाज र विशेष गरी अभिभावक सचेत हुनुपर्ने प्रशासनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्