माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ : महासेठ «

माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ : महासेठ


नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् । उनले भने, ‘कुनैपनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिइँदैन । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने, ‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन । अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन । यो असम्भव कुरा हो ।’
उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेस गर्नुभन्दा पनि लो–प्रोफाइलमा बस्न सुझाव दिए । उनले भने, ‘एमालेमा मैले सबैभन्दा बढी सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिले पनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन ।’
नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलोचाँडो एकता भइछाड्ने पनि दाबी गरे । उनले नेकपा (एमाले) बनाउनको लागि माधव नेपालको ठूलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्न पनि आग्रह गरे । उनले भने, ‘एमाले बनाउन तपाईंको ठूलो भूमिका छ । अब अर्काको घरमा पेन्ट गर्न नजानुहोस् । आफ्नै घरलाई बलियो बनाउनतर्फ लाग्नुहोस् ।’ उनले अहिले देशी तथा विदेशी र प्रतिक्रियावादी शक्तिहरु एमालेको एकता नहोस् भनेर हात धोएर लागिपरेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राखे ।
उनले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले भने, ‘तपाईंहरुलाई पार्टीमा हामी उत्तिकै सम्मान गर्छौं । यसमा कुनै द्विविधा नहोस् ।’ उनले एमाले कुनै पनि हालतमा विभाजन नहुने जिकिर गरे । नेता महासेठले अहिले पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै जना आन्तरिक छलफलमा रहेको पनि सुनाए ।
उनले एमाले एकताको विकल्प नभएको भन्दै यसको लागि सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे । उनले युवा संघ र युथफोर्स पार्टीकै जनवर्गीय संगठन भएपनि अहिले प्रभु साहको नेतृत्वमा गठन गरिएको आईटी आर्मीको औचित्य नै नभएको र पार्टीले नचिन्ने टिप्पणी गरे ।
नेता महासेठले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको दुई हप्ता बितिसक्दा पनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे । उनले भने, ‘देउवाजी अदालतको परमादेशले प्रधानमन्त्री हुनुभयो । तर, सरकार गठन गर्न अझै सक्नुभएको छैन । कि मन्त्रिपरिषद विस्तार गर्नपनि अदालतको फैसला आउनुपर्ने हो र ?’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला पनि चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् । उनले भने, ‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन । महाभियोग लगाउन त्यति सजिलो छैन । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’
नेता महासेठले आगामी चुनावसम्म ओली, माधव नेपाल र प्रचण्ड एकै ठाउँमा उभिने पनि खुलासा गरे । उनले भने, ‘उहाँहरु मिल्नुको विकल्प छैन । कम्युनिष्टहरु मिल्नुपर्छ । त्यसैले हामी सबै कम्युनिष्ट एक ठाउँमा उभिनुको विकल्प छैन । हामी चाहन्छौं कि सबै कम्युनिष्टहरु एक हौं ।’

प्रतिक्रिया दिनुहोस्