फ्रन्टलाइनमा खटिनेलाई प्रोत्साहन रकम विनियोजन «

फ्रन्टलाइनमा खटिनेलाई प्रोत्साहन रकम विनियोजन


अग्रपंतिमा खटिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
गण्डकी प्रदेशका नवनियुक्त अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले पदभार ग्रहण गर्दै कोभिड–१९ सँग सामना गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।
मन्त्री बरालले सरकार जति सक्दो छिटो कोरोनाको खोप ल्याउने गृहकार्यमा केन्द्रित हुने बताएका छन् । उनले अर्थ मन्त्रालयका कर्मचारीलाई समेत केही निर्देशन दिएका छन् । क्षमता, दक्षता र सृजनशिलता आवश्यकता अनुरुप कान्वयन गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै काम सम्पन्न गर्ने दायित्व सबैले वहन गर्नुपर्ने बताए ।
उनले गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि गर्न संघको बजेट मात्र विनियोजन गरेर नहुने बताए । प्रदेशलाई क्रमशः आत्मनिर्भर बनाउन श्रोतहरुको पहिचान गर्नुपर्ने मन्त्री बरालको भनाइ छ । अर्थका श्रोतहरु ध्यान केन्द्रित गर्ने गरी पुँजीगत खर्चलाई अधिकतम ढंगले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालको भनाइ छ । पुँजीगत खर्च गर्न नसकेको अवस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने उनको भनाइ छ ।
अर्थ मन्त्रालयका सचिव रमेश केसीले आफ्नो मन्त्रालयमा ४७ जनाको कर्मचारी दरबन्दी भए पनि हाल २८ जना मात्र भएको बताए । अहिलेको अवस्थामा ३६ जना कर्मचारी भए पनि हुने गरी कर्मचारी व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालयसम्म माग गरिएको मन्त्री समक्ष जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्