कृषि ऋणमा नगरपालिकाको ५० % अनुदान «

कृषि ऋणमा नगरपालिकाको ५० % अनुदान

गुल्मी-गुल्मीको मुसिकोट नगरपालिकाले स्रोतको अभावले कृषि पेशा संकटमा नपरोस् भन्नका लागि कृषि ऋणमा ५० प्रतिशत अनुदान दिने भएको छ । चालू आर्थिक वर्षमा कृषकलाई करिब ४ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरी उनीहरूलाई लगानीको अभाव हुन नदिइने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । करिब ४ करोड बराबरको ऋण प्रवाह गर्दा नगरपालिकाले यस आर्थिक वर्षमा २५ लाख रुपैयाँ बराबरको ब्याज बैंकहरूलाई तिर्नेछ ।
“व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्न चाहने किसानलाई लगानीको कमी हुन नदिन यो कार्यक्रम ल्याइएको हो,” नगरप्रमुख सापकोटाले भने, “हाम्रो गाँउघरका पाखापखेरा, खेतबारी धितो राखी बैंकले ऋण दिने हो, त्यो ऋणको ब्याज ५० प्रतिशत हामीले तिरिदिनेछौं ।”
नगरपालिकाका अधिकृत भण्डारीले बैंकलाई अधिकतम १४ प्रतिशतमा ऋण प्रवाह गर्ने गरी सम्झौता गरिएको र कृषकका गाँउघरका धितोलाई सहज रूपमा स्वीकार गर्न अनुरोध गरीएको जानकारी दिए । “३ लाखदेखि १० लाखसम्म एक कृषकले ऋण पाउनेछन्,” उनले भने “वामीमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई बैंकसँग ऋणको सम्झौता गर्दैछौं ।” उनले शाइन रेसुंगासँग सम्झौता भइसकेको जानकारी दिँदै माघ पहिलो साता ग्लोबल आईएमईसँग पनि यस्तौ सम्झौता गरिने जानकारी दिए ।
“केही कृषकका फाइलहरूको प्रक्रिया अगाडि बढिसकेको छ,” उनले भने । उनले कृषकलाई यस अवसरको अधिकतम सदुपयोग गर्न आग्रहसमेत गरे ।

गाँउघरमा चलेको ब्याजभन्दा निकै सस्तो
हाल गाँउघरमा चलिआएको ब्याज २४ प्रतिशत हो । जसअनुसार एक वर्षमा कृषकले १ सय रुपैयाँ ऋण लिदा वार्षिक २४ रुपैयाँ तिर्नुपर्छ । तर, अब नगरपालिकाको अनुदानमा ऋण लिँदा त्यो ब्याज तिर्नुपर्दैन । एक सय रुपैयाँको वार्षिक ब्याज ७ रुपैयाँमात्र तिरे पुग्छ । बैंकले लिने १४ रुपैयाँको आधा ब्याज अर्थात ७ रुपैयाँ मुसिकोट नगरपालिकाले तिरिदिनेछ ।

यस्तो छ प्रक्रिया
ब्याजमा ५० प्रतिशत अनुदानमा ३ लाखदेखि १० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कृषकले आफ््नो व्यवसायको स्पष्ट पहिचान गरी नगरपालिकाको कृषि शाखाले दिने फम्र्याटमा आवेदन दिनुपर्ने हुन्छ । त्यो आवेदनसहितको कागजातको फाइल नगरपालिकाको आर्थिक विकास समितिको मातहतमा रहेको वडाध्यक्ष प्रकाश काफ्ले अध्यक्ष रहेको कृषक छनौट समितिमा पुग्छ । र सो समितिले बैंकलाई सिफारिस गर्छ । सो सिफारिसअनुसार बैंकले कृषकको धितोको अवस्थाअनुसार ३ देखि १० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्न सक्छ ।
लगानीको अभाव भएर कृषि कर्म गर्न नसकेका कृषकहरूको फाइदाको लागि यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । कृषकलाई सक्दो चाँडो नगरपालिकामा सम्पर्क गरी प्रक्रिया अगाडि बढाएर ऋण लिन र कृषि कार्य सुरु गर्न अनुरोध पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्