६ वर्षपछि टहरोबाट पक्की घरमा बास

तेमाल गाउँपालिकामा २०७२ सालको विनासकारी भूकम्पले घर भत्केपछि प्रायजसोले घर पुनर्निर्माण गरे । तर, भूकम्पले घर भत्काएको ६ वर्ष बित्दा पनि तेमाल गाउँपालिकाका १३ परिवारले भने आर्थिक अवस्था अति नै कमजोर भएकै कारण घर पुनर्निर्माण गर्न सकेका थिएनन् । सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण मार्फत उपलब्ध गराएको पहिलो किस्ता रकम लिएपनि उनीहरूले घर पुनर्निर्माण गर्न नसकेपछि टहरोमै बस्दै आएका थिए ।
शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएस नेपालले ती अति विपन्न परिवारको भूकम्प प्रतिरोधी घर निर्माण गरेको जिम्मा लिएपछि विपन्न परिवारले नयाँ, पक्की र भूकम्प प्रतिरोधी घर पाएका छन् ।
दुई संस्थाको साझेदारीमा सञ्चालित काभ्रे पुनर्लाभ तथा पुनर्उत्थान परियोजना अन्तर्गत उनीहरूको घर पुनर्निर्माण गरिएको हो । अति विपन्न परिवार, दलित, एकल महिला, द्वन्द्वपीडित, एकल पुरुषलाई सो परियोजनामा समेटिएको शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले जानकारी दिए ।
तेमाल गाउँपालिकामा संस्थाले १३ विपन्न परिवारको घर निर्माण गर्नुको साथै ९० जना विपन्न परिवारको घरका लागि झ्याल ढोका, जस्तापाता लगायतका सहयोग गरेको र एक घर सवलीकरण गरेको केन्द्रका अध्यक्ष लामाले बताए । घर पुनर्निर्माण भइसकेपछि छानो छाउन नसक्ने, झ्यालढोका हाल्न नसक्ने ९० घरपरिवारलाई पनि हामीले त्यसको लागि ३० हजार देखि ५० हजार रुपैयाँसम्मको सामाग्री किनेर दिएको शान्ति जन आदर्श सेवा केन्द्रले जनाएको छ । यसैबीच परियोजनाअनुसार पुनर्निर्माण भएको परिवारले सरकारबाट लिएको पहिलो किस्त रकम समेत संस्थाले सरकारलाई नै फिर्ता गराएको छ ।
भूकम्प गएको ६ वर्ष वितिसक्दा पनि आफूहरू टहरो कै बास हुनुपर्दा धेरै समस्या भेग्नु परेको वडा नंं १ की ७५ वर्षीया बुद्धिमाया कामीले सुरक्षित घरमा बस्न पाउँदा खुशी भएको बताइन् । वडा नं. ६ का भिमबहादुर नेपाली सुकुम्बासी हुन् । नेपालीको भुकम्प प्रतिरोधात्मक घर पुनर्निर्माणका लागि लालपूर्जा नभएपछि बाटोको छेउमा सानो टहरो बनाएर बसेको ६ वर्ष बितेको थियो । सरकारले दिएको २ लाख रुपैयाँले उनले ६ आना जग्गा किने । तर घर निर्माण गर्ने पैसा नभएकोले उनको परिवारको बास टहरो मै थियो । शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएसले पक्की घर बनाइदिएपछि उनी पनि खुशी छन् ।
घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले दुइ वटा संस्थाको समन्वयका कारण बिपन्नले घर पाएको र दुवै संस्थाको योगदान तेमाल भरिनै रहेको बताउँदै संस्थालाई धन्यवाद दिइन् । घर हस्तान्तरण गर्दै केन्द्रका अध्यक्ष लामाले तेमालबाट सही परिवारको नाम छानेर पठाएकोले संस्थालाई गर्व लागेको बताए । आफूहरूले छाप्रोमा बस्न बाध्य परिवारलाई छानो बनाइदिने काम मात्र गरेको बताउँदै लामाले प्लास्टर, रंगरोगन लगायतका बाँकी काम गर्न गाउँपालिकालाई अनुरोध गरे ।
शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएसले आफ्नो वडाका अति विपन्न परिवारको घर पूनर्निर्माण गरेकोमा वडा नं. १ वडा अध्यक्ष मानबहादुर श्रेष्ठले आभार प्रकट गरे । वडा नं. २ का वडा अध्यक्ष तिमालसिं तामाङले आफ्नो वडामा रहेको अति विपन्न परिवारलाई घर पुनर्निर्माण गरिदिएकामा संस्थालाई धन्यवाद दिए । वडा नं. ६ का वडा अध्यक्ष बिकुलाल मोक्तानले आफूले सुकुम्बासी भिमबहादुर नेपालीलाई घर बनाउन ६ आना जग्गा किन्न सहयोग गरे पनि घर निर्माण गर्न भने नसकिरहेको बेला शान्ति जन आदर्शले घर निर्माण गरिदिएकोमा आफू्लाई खुसी लागेको बताए ।
वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मिबहादुर घिसिङ, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबादुर तामाङ, वडा नं. ५ का वडा अध्यक्ष प्रविन लामा, वडा नं. ४ का वडा अध्यक्ष आसपुर तामाङ लगायतले सहयोगको प्रशंसा गरे ।
तेमालमा वडा नं. १ का बुद्धिमाया कामी र कृष्णबहादुर नगरकोटी, वडा नं. २ का साइली तामाङ, वडा नं. ४ का रत्नमान लामा, विष्णु तामाङ, वडा नं. ५ का लालबहादुर तामाङ, वडा नंं ६ का भिमबहादुर नेपाली, उमेश नेपाली, मिममाया तामाङ, वडा नं. ७ का च्याङबारानी तामाङ, वडा नं. ८ का सुनमाया बमजन, अनिल दमाईं, वडा नं. ९ का कमलबहादुर तामाङले भूकम्प प्रतिरोधी घर पाएका छन् ।
केन्द्रका अध्यक्ष लामाका अनुसार यो परियोजना अन्तर्गत पनौतीमा १६ घरपरिवार, रोशीमा १३ घरपरिवार र तेमालमा १३ घरपरिवारको गरी ४२ घर निर्माण गरिएको छ । छाना छाउन नसक्ने, झ्याल ढोका हाल्न नसक्ने २ सय ९२ विपन्न परिवारलाई पनि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म संस्थाले सहयोग गरेपछि विपन्नले झ्याल ढोका, छानो छाउन सकेका छन् ।
घर हस्तान्तरण गर्न शान्ति जन आदर्श सेवा केन्द्रका कोषाध्यक्ष शान्ति लामा, सिआरएसका इन्जीनियर प्रकाश गैरे, शान्ति जन आदर्श सेवा केन्द्रका लिड इन्जिनियर दिपेश निरौंला, तेमाल क्षेत्र हेर्ने इन्जनियर गोकुल न्यौपाने लगायतकाको सहभागी रहेका थिए ।
कपिल कोइराला