विकासतर्फ म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च «

विकासतर्फ म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च


म्याग्दीमा आर्थिक वर्ष ०७७/७८ मा संघीय सरकारको ६१ प्रतिशत र प्रदेशको ८८ प्रतिशत बजेट खर्च भएको छ ।
कोष नियन्त्रण कार्यालय म्याग्दीका अनुसार संघको विकासतर्फ आएको कुल ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ बजेटमध्ये ५३ करोड नौ लाख ८२ हजार ३७८ रुपैयाँ वा ६१.८२ प्रतिशत बजेट संघको खर्च भएको छ । त्यस्तै प्रदेशको पुँजीतर्फ कुल ६६ करोड ७८ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजनमध्ये ५८ करोड ९९ लाख ९९ हजार ४०० रुपैयाँ वा ८८.२२ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक युक्तप्रसाद शर्माले बताए । चालूतर्फ संघको ३ अर्ब १ करोड ३५ लाख २१ हजार ६५४ रुपैयाँ बजेटमध्ये २ अर्ब ८४ करोड ३९ लाख २४ हजार ५७३ रुपैया बजेट वा ९४ प्रतिशत खर्च भएको छ भने प्रदेशतर्फ ४९ करोड ५० लाख ८ हजार बजेटमध्ये ३७ करोड १९ लाख ७१ हजार ६१६ रुपैयाँ बजेट वा ७५ प्रतिशत खर्च भएको कोष नियन्त्रक शर्माले जानकारी दिए ।
विकास अयाोजनाहरू दोस्रो चौमासिकमा सम्झौता हुनु, निर्माण व्यवसायी र उपभोक्ता समितिको ढिलासुस्ति र कोरोनासँंगै हुने लकडाउनले जिल्लामा सञ्चालित योजनामा खर्चअनुसारको विकासमा प्रगति हुन सकेको छैन ।
जिल्ला स्थानीय तह, संघ र प्रदेशका कार्यालय, प्रशासनका कर्मचारीले कार्यतालिका अनुसार ब्यवहारमा नहँुदा निर्माण व्यवसायीलाई काम गर्न दबाब नदिँदा योजनाहरू अलपत्र अवस्थामा छन् भने पहुँच र मिलोमतोको आधारमा भुक्तानी लगेका छन् । आर्थिक वर्षको मसान्तमा हतारमा बजेट सक्ने उद्देश्यले मात्र गरिने खर्चले बेतिथि र भ्रष्ट्राचार बढाएको सरोकारवाला बताउँछन् । बजेट खर्च गर्ने र प्रगति देखाउनेमा स्थानीय तह र संघ र प्रदेशका कार्यालयको ध्यान छ । दीर्घकालीन उपलब्धिमा जिल्लामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले ध्यान दिएका छैनन् । गत आर्थिक वर्षमा कुल २४ करोड ४१ लाख १६ हजार ५९२ रुपैयाँ राजस्व संकलन भएको छ । संघतर्फ २१ करोड १६ लाख २० हजार ९४४ रुपैयाँ र प्रदेशतर्फ ३ करोड २५ लाख ४४ हजार ९८१ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । जिल्लामा राजनीतिक दल, जनप्रतिनिधि, जिम्मेवारी निकाय गैरजिम्मेवार बन्नाले बजेट कार्यकता पालनमा सीमित भएको छ भने कृषि, पशुपालन लगायतको स्थानीय उत्पादनलाई प्राथमिकता कम छ ।

प्रतिक्रिया दिनुहोस्