Logo

आसिधारा बस्तीका घरघरमा खानेपानीको धारा


जिल्लाको विकट बस्ती मानिने सोरु गाउँपालिका–८ आसीधारा गाउँका २८ घरमा एक दशकपछि घरघरमा खानेपानीको धारा जडान भएको छ ।
बस्ती विस्तार भइसकेपछि २०६४ सालभन्दा अगाडि यो गाउँमा सार्वजनिक स्थानमा एकमात्र धारा थियो । सोही धाराको पानी खाँदै आए पनि केही समयपछि पाइप बिग्रिएपछि आधा घण्टा हिँडेर खोलाको पानी ल्याउँदा हैरान भएको यो बस्तीमा पछिल्लो समयमा घरघरको आँगनमा खानेपानीको धारा आउँदा बूढादेखि बच्चा निकै खुसी भएका छन् ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम क्यापस कर्णाली परियोजनाको आर्थिक सहयोगमा आरसीडीसी मुगुको सहजीकरणमा आसिधारा गाउँदेखि २ किलोमिटर टाढाबाट २४ लाख ६५ हजार आर्थिक सहयोगमा घरघरमा धारा निर्माण भएपछि अब स्वच्छ खानेपानी खान पाउने भयौं भन्दै सोही गाउँका ४५ वर्षीय दानबहादुर रोकाया खुसी छन् ।
“गाँउमा रहेको पुरानो मूल सुकेपछि ०६४ सालदेखि आधा घन्टा पर रहेको नाउलो (कुवा) खोलाको पानी बोकेर सरसफाइ, घरमा खानादेखि पिउनसम्म प्रयोग गर्ने गरेका थियांै । खानेपानीका लागि स्थानीय सरकारदेखि विभिन्न संघ संस्थामा पहल गरे पनि कुनै निकायबाट नसुनेपछि नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम क्यापस कर्णाली परियोजनाको आर्थिक सहयोगमा आरसीडीसी मुगुले घरघरमा सफा खानेपानीको सपना पूरा गरिदिएको सोही गाँउका स्थानीय प्रेमबहादुर रोकायाले बताए ।
गाउँमा धारा नहँुदा गाउँले कुवाको पानी खान विवश थिए भने सबैले एउटै कुवा प्रयोग गर्दा पानी प्रदुषित हुनुका साथै रुघाखोकी, झाडा पखालाजस्ता समस्याले जनता ग्रसित थिए । खानेपानी आयोजनाबाट २८ घरधुरीका २९० परिवार लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्