भारत विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुकः विश्व बैंक «

भारत विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुकः विश्व बैंक

नयाँ दिल्ली-विश्व बैंकले भारत विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुक भएको जनाएको छ । जसका अनुसार आर्थिक वर्ष २०१८–१९ मा भारतको वृद्धि ७.३ प्रतिशत हुन सक्ने विश्व बैंकको अनुमान छ । यसपछिका दुई वर्षको अवधिमा भारतले ७.५ प्रतिशत वृद्धि हासिल गर्ने पनि विश्व बैंकले जनाएको छ । यो वृद्धि दरका आधारमा भारत विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुक हुने पनि बैंकको भनाई छ ।
बैंकका अनुसार २०१९ र २०२० मा चीनको वृद्धि दर ६.२ प्रतिशत रहने छ । २०२१ मा चीनको वृद्धि दर ६ प्रतिशत हुने प्रक्षेपण बैंकको छ । यो आंकडा मंगलबार विश्व बैंकद्वारा जारी विश्वव्यापी आर्थिक प्रस्पेक्टस रिपोर्टमा आधारित छ ।
जीएसटी र नोटबन्दीका कारण सिर्जना भएको अस्थायी मन्दीपछि अर्थव्यवस्थामा पुनः तीव्र वृद्धि भएको बैंकले जनाएको छ ।
यो भन्दा पहिले केन्द्रीय तथ्यांकिय कार्यालय (सीएसओ) ले सोमबार कृषि तथा विनिर्माण क्षेत्रको प्रदर्शनमा सुधार आएकाले चालू वित्तीय वर्ष २०१८–१९ मा भारतीय अर्थव्यवस्थाको कुल गाहर््स्थ्य उत्पादनको वृद्धि दर ७.२ प्रतिशत रहने अनुमान गरेको थियो । गत आर्थिक वर्षमा भारतको जीडीपी वृद्धि दर ६.७ प्रतिशत रहेको थियो । यद्यपि सीएसओको चालू वित्त वर्षको वृद्धि दरको अनुमान रिजर्भ बैंकको ७.४ प्रतिशतको तुलनामा कम छ ।
सीएसओले २०१८–१९ को राष्ट्रिय आयको पहिलो अग्रिम अनुमान जारी गर्दै भनेको छ,“२०१८–१९ मा जीडीपीको वृद्धि दर ७.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । जुन २०१७–१८ मा ६.७ प्रतिशत रहेको थियो ।” यो भन्दा पहिले २०१६–१७ मा जीडीपीमा ७.१ प्रतिशत तथा यो भन्दा पहिले २०१५–१६ मा ८.२ प्रतिशत रहेको थियो ।
सीएसओको आंकडाका अनुसार कृषि, वन तथा मत्स्यपालन जस्ता गतिविधिको वृद्धि दर चालू आर्थिक वर्षमा ३.८ प्रतिशत रहने छ । यो भन्दा पहिलो वित्तीय वर्षमा यो ३.४ प्रतिशत थियो । विनिर्माण क्षेत्रको वृद्धि दर २०१७–१८ मा ५.७ प्रतिशतले बढेर २०१८–१९मा ८.३ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्