अनलाइन शिक्षाको अवस्था र विद्यार्थीको भविष्य «

अनलाइन शिक्षाको अवस्था र विद्यार्थीको भविष्य

कोरोना भाइरसको महामारी र लकडाउनका कारण शैक्षिक गतिविधि अवरुद्ध भएपछि सरकारले दूरशिक्षा, अनलाइन, श्रव्यदृश्यलगायतका गतिविधिबाट शैक्षिक पठन–पाठन सुरु गर्ने भनेको छ । तर, विगत ६२ वर्षदेखि सञ्चालन गर्दै आएको दूरशिक्षाको नतिजालाई हेर्ने हो भने खासै उपलब्धिमूलक देखिँदैन । यस्तो महामारीबीच सरकारले कसरी शिक्षण सिकाइलाई सहजीकरण गर्न सक्ला त ?
सरकारले दूरशिक्षाको अवधारणा २०१४ सालमा ल्याए पनि सबै ठाउँमा दूरशिक्षाको पहुँच सहज तरिकाले पुग्न सकेको छैन । कोरोना महामारी र लकडाउनका कारण अवरुद्ध भएको शिक्षण सिकाइ प्रणाली सरकारले विभिन्न सञ्चारमाध्यमबाट जस्तै रेडियो, टेलिभिजनलगायत सिकाइ प्रणालीलाई प्रारम्भ गरे तापनि मुलुकको ग्रामीण तथा विकट ठाउँहरूमा र बढी सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका तथा विद्यार्थी भाइबहिनीहरूलाई भने यो सिकाइ प्रणाली भने खासै सहज भने देखिँदैन । अहिले महामारीकै बीचमा पनि मुलुकका धेरैभन्दा धेरै ठाउँमा रहेका निजी तथा सामुदायिक विद्यालयहरू बन्द नै रहेको अवस्था छ ।
यस्तो अवस्थामा विद्यार्थी भाइबहिनीहरूलाई शैक्षिक सिकाइको माध्यम भनेको अनलाइन शिक्षा र दूरशिक्षा नै हो । मुलुकको राजधानीजस्ता इन्टरनेटको पहुँच भएका सहरहरूमा भने भौतिक रूपमा उपस्थिति नभए पनि अनलाइन शिक्षा प्रणालीबाट रामै्र पठनपाठन भइरहेको अवस्था छ । तर, मुलुकको ग्रामीण तथा दुर्गम ठाउँमा अध्ययन गर्ने बालबालिकाहरू, जहाँ इन्टरनेटको पहुँच पुग्न सकेको छैन, इन्टरनेटको पहुँच आंशिक मात्रामा पुगे पनि विभिन्न आर्थिक समस्याका कारण बालबालिकाहरू अनलाइन सिकाइ माध्यमबाट वञ्चित छन् । यस्तो अवस्थामा भने सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गर्ने धेरै बालबालिकाको भविष्य अन्योल नै देखिएको छ ।
मैले धादिङको एक आधारभूत विद्यालयमा टेलिफोन गरेर बुझ्दा केही समस्याहरू भएको एक शिक्षिका बताउनुहुन्छ । धादिङको ज्वालामुखी आधारभूत विद्यालयमा अध्यापन गराउने एक शिक्षिकाका अनुसार अनलाइनबाट शैक्षिक गतिविधि सञ्चालन गर्दा केही विद्यार्थी भाइबहिनीहरूको आर्थिक अवस्थाका कारण स्मार्टफोन नभएकाले गर्दा अनलाइन पढाइ सहज नभएको पाइयो भने केही विद्यार्थी भाइबहिनीहरूको मोबाइल भए तापनि इन्टरनेटको डाटा किनेर चलाउँदा सम्भव नभएको र छिनछिनमा नेट जाने समस्या रहेकाले पढाइ छुटेको बताउनुहुन्छ । अब छिट्टै नै विद्यार्थी भाइबहिनीहरूलाई भौतिक रूपमा बोलाएर पठन–पाठन गराउने विद्यालयको योजना रहेको समेत उहाँले बताउनुभयो ।
त्यस्तैगरी मुलुकभित्र रहेका विशेष गरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न तथा विभिन्न आर्थिक समस्याका कारणले गर्दा पनि धेरैजसो स–साना बालबालिकाहरूले अनलाइन कक्षाबाट वञ्चित हुनुपरेको र लामो समयसम्म विद्यालयमा भौतिक रूपमा विद्यालयमा पठनपाठन ठप्प हुँदा बालबालिकाहरूले अध्ययन गरेका विषयहरू पनि कति बिर्संदै जाने देखिन्छन् । यसले गर्दा विद्यार्थीको भविष्य नै अन्योलजस्तै देखिन्छ । तर, जहाँ इन्टरनेटको पहुँच राम्रो छ, सहरी क्षेत्रका प्रायः सबै निजी तथा सामुदायिक विद्यालयमा अहिले अनलाइन शिक्षामार्फत नै राम्रै तरिकाले विद्यार्थी भाइबहिनीहरूलाई सिकाइ कार्यक्रम धमाधम अगाडि बढाइरहेको देखिन्छ । तर, अनलाइन कक्षामार्फत पठनपाठन भइरहेको बेलामा कहिलेकाहीँ बत्ती जाने र नेट स्लो चल्ने कारणले पढाइमा अलि असहज भएको पनि धेरै अभिभावकहरूको गुनासो आएको छ । कोरोनाले गर्दा धेरै लामो समयसम्म विद्यालय बन्द हुँदा भौतिक रूपमा उपस्थित भई पढाइ हुन नसक्दा धेरै बालबालिकाको भविष्य अन्योलजस्तै भएको छ । अनलाइन कक्षामा सामेल हुँदा पनि धेरै अभिभावक भाइबहिनीहरूको पठनपाठनसम्बन्धी अज्ञानताका कारण पनि सिकाइमा कमी भएको महसुस गर्छन् भने ठूला कक्षामा पढ्ने विद्यार्थीहरूमा चाहिँ यस्तो समस्या नभएको उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्