धर्म, धर्मनिरपेक्षता र राजनीति— १ «

धर्म, धर्मनिरपेक्षता र राजनीति— १

लेखको सीमिततामा सामान्य धर्म र राजनीतिबारे केही जोडिएका विषयहरू ल्याउन लेखिएको लेख हो । संसारमा रहेका धर्म र राजनीति गहिरिएर बुझ्न अझै गहिरो र व्यापक अध्ययनको आवश्यकता पर्छ । राजनीति, राजनीति गर्ने व्यक्ति अनि उसको राजनीतिक क्रियाकलापहरूमा धार्मिक भावनाहरू जोडिएको हुन्छ, चाहे त्यो हिन्दू होस्, क्रिस्चियन, इस्लाम वा अन्य धर्म मान्ने होस् । कुनै पनि व्यक्ति; संस्कार, संस्कृति, नीतिकता, रीतिथिति, रिवाज, भाषा आदि भएको आफ्नो समाजबाट भाग्न सक्दैन । हामी राजनीतिक विषयहरू जस्तै :संविधान, ऐन, नियम र निर्देशिकालाई वैधानिकीकरणको प्रक्रियाका रूपमा बुझ्छौं । यी विषयहरूको आधारभूत आधारको तहगत वर्गीकरणमै धर्म जोडिएर लेखिएको हुन्छ । यहाँ यही वैधानिकीकरणमा ‘राज्यशक्ति र राजनीति’ जोडिएर आउँछ । शासक, शासकीय व्यवस्था÷पद्धतिभित्र न्याय, कानुन आदि रहने हुँदा सोझै धर्म र राजनीति जोडिन्छ । धर्म र राजनीतिलाई गहिरिएर हेर्दा विभिन्न मुलुकहरूमा, आन्तरिक होस् वा बाह्य वा घरेलु राजनीति, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा नीति, उम्मेदवार, नामाङ्कन, गुट, उपगुटको प्लेटफर्ममा चर (भेरियबल) को रूपमा मान्यता दिएको देखिन्छ । जस्तै : अमेरिकामा क्रिस्चियन राइट, अफगानिस्तानमा तालिबान र यस्तै अल कायदा, भ्याटिकनजस्ता अन्तर्राष्ट्रिय धार्मिक कलाकारहरूले विश्वभरिका राष्ट्रहरूको राजनीति र नीतिमा महत्वपूर्ण प्रभाव पारेका छन् । धर्मनिरपेक्ष कुलीन यहुदीहरू र बेलायती रोमान्टिक वादबाट दबिएका युरोपेली यहुदी समुदायहरूले आफ्नै बुद्धिबाट सुरु गरेको ‘हस्कालाह’ आन्दोलनबाट विकसित हुँदै आएको देखिन्छ । ‘हस्कालाह’ एक यहुदीहरूको धर्मनिरपेक्षताको शक्ति थियो, जसको नेतृत्व सन् १७२९–१७८६ मा मोसा मोन्डेलसोहनले गरेका थिए । यहाँ उनीहरूले धार्मिक र जातीय पहिचानमा सम्झौता नगरी आर्थिक र सांस्कृतिक रूपमा समाहित हुने उपायहरू खोजे (सिला ए स्पेक्टर, २००५) ।

के हो धर्मनिरपेक्षता ?
सामान्य सुरु गरौँ यहाँ; ‘धर्मनिरपेक्ष’, ‘धर्मनिरपेक्षता’ : धर्म र राजनीतिसम्बन्धी लेखहरूमा प्रायः प्रयोग गरिन्छ । यी शब्दहरू विरलै स्पष्ट रूपमा परिभाषित छन् । तिनीहरूको अर्थ लेखकहरूले प्रायः आफ्नो विचार, सोच र धारणामा अभिव्यक्त गरेका हुन्छन् । त्यसैले यी शब्दहरूको अर्थ सामान्यतया प्रसङ्गबाट स्पष्ट हुन्छ । यो सधैँ धर्मको विरोधमा प्रयोग गर्दा जटिल हुन्छ । धर्मनिरपेक्ष, धर्मनिरपेक्षता र धर्मनिरपेक्षीकरणजस्ता शब्दहरू धर्मसँग जोडिएर नै आउने हुन् । यी शब्दहरू र प्रजातन्त्र; क्रिस्चियन प्रजातन्त्रबाट नै विकसित भएका हुन् । अहिलेको प्रजातन्त्र, प्रजातान्त्रिक समाजवाद, समाजवाद आदिको जन्म क्रिस्चियन पार्टीहरूले ल्याएका वैचारिक विषयहरूबाट नै विकसित हुँदै आएका त्यही बहावहरूबाटै जन्मिएका हुन् । धर्मनिरपेक्ष, धर्मनिरपेक्षता र धर्मनिरपेक्षीकरणलाई विभिन्न मुलुकहरूले आफ्ना–आफ्ना संविधानमा कसरी राखेका छन् त्यो महत्वपूर्ण हुन्छ । यी तीनैवटा शब्द धर्मविरोधी होइनन् । धर्मनिरपेक्ष भनेको धर्म र समाजको अन्य क्षेत्रहरू (राजनीतिक, आर्थिक, सांस्कृतिक आदि) बीचको भिन्नता हो, तर धर्मको प्रभावको पतन भएको होइन । धर्मनिरपेक्षले सामाजिक परिप्रेक्ष्यमा धार्मिक विश्वासहरूको धेरै विकल्पहरूमध्ये एक हो भनेर वर्णन गर्छ । धर्मनिरपेक्षीकरण धार्मिक विश्वास धारण गर्ने व्यक्तिको संख्या घट्नु हो वा धार्मिक अभ्यास समुदायमा घट्नु हो अर्थात् धर्मको प्रभावमा दीर्घकालीन प्रभाव घट्नु हो । अझै बुझ्न, धर्मनिरपेक्षता भन्नाले राजनीतिमा धार्मिक प्रभाव घट्नु हो । यसले मानिसहरूको धार्मिक विश्वास वा अभ्यासमा गिरावट आउँदैन (फिलपोट, २००९) । विज्ञहरू काल्होन र साथीहरू भन्छन्, धर्मनिरपेक्षतावाद एक विचारधाराको रूपमा परिभाषित गर्न सकिन्छ, विचारधारा भन्नासाथ यसमा सामान्यतया विश्वासहरू समावेश रहेका हुन्छन् । धार्मिक भाषाको सहारा लिईकन व्याख्या गर्दा यो धर्मको विपरीत विषय हो । प्राध्यापक निर्मलमणि अधिकारी लेख्छन्, ‘धर्म–सम्प्रदाय धारित, धार्मिक परम्पराजन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरू र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरूको पृथक्–पृथक् कार्यक्षेत्रको विशिष्टीकरणलाई हामीले वैदिक कालदेखि नै र युरोपेली क्रिस्चियनहरूले विकासक्रमको पछिल्लो चरणमा अवलम्बन गरेको देखिन्छ । अर्थात्, पूर्वीय दर्शन होस् वा पश्चिमा— यहाँ शासकीय शक्ति र धर्म छुट्ट्याएको हो ।
धर्मनिरपेक्षलाई विश्वास र विचारधाराको रूपमा पनि लिएको देखिन्छ । यसले मानिसलाई स्वतन्त्र र स्वायत्त छु भन्ने बनाउँछ, जसले गर्दा चलिरहेका धार्मिक दृष्टिकोणमा मानिसहरूबीच असहिष्णुता र द्वन्द्व निम्त्याउँछ । यही विषय अहिले संविधानमा नेपाली जनतालाई छलेर किन धर्मनिरपेक्षता राखियो भनेर नेपाली कांग्रेस र एमाले पार्टीभित्र कुरो उठिरहेको छ । वास्तविक सत्यतामा नेकाका नेता कृष्णप्रसाद सिटौला, जो संसद् थिएनन्, उनले यो संविधान संसद्मा ल्याए । तत्कालीन सभामुख सुवास नेम्वाङले सदनमा संघीयता र धर्मनिरपेक्ष लेखिएको संविधान न कुनै छलफल, न कुनै अध्ययन र अनुसन्धान तालिकाभर, ‘पास’; पास, पास गराए । अहिले आएर सबै विवाद आउनुको मुख्य कारण यही हो । धर्मनिरपेक्ष भन्ने विषय सजिलो होइन; यसको परिभाषा नै नौ प्रकारले विज्ञले गरेका छन् ।
यहाँ के देखिन्छ भने धर्मनिरपेक्ष भन्नासाथ राज्यबाट धर्मको दूरीको विषयवस्तु हो । यसले विचारहरूको एक विस्तृत शृङ्खलाको प्रतिनिधित्व गर्छ । धर्मनिरपेक्षताको मापदण्ड पूरा गर्न राज्यबाट धर्म कति टाढा हुनुपर्ने वा छुट्टिनुपर्ने प्रकृति वा सीमा के हो ? यी विषयहरू विश्वमै अभ्यासमा र स्पष्ट हाम्रै संविधानमा छैनन् । मानिस धार्मिक प्राणी भएकाले मानिसको बानीबेहोरा, प्रकृति पहिचान, आस्था र विश्वास मापन गर्न असजिलो र गाह्रो हुन्छ । धर्मनिरपेक्षताको विषयलाई आफ्नो, आफ्नो स्पेस, प्लेस र समयअनुसार विभिन्न मुलुकले आफ्नो संविधानमा लेखेका छन् । यसको मापन स्केल आफ्नो–आफ्नो तरिकाले गरेको देखिन्छ । हिजो राजतन्त्र हुँदा हामी हिन्दू राज्य थियौं, राजालाई विष्णुको अवतार र संविधानमै सार्वभौमिकता राजाको हातमा थियो भनी हाम्रो संविधानमै उल्लिखित थियो । आज आएर यो संघीय संविधानमा धर्मनिरपेक्ष राष्ट्र राखेका छौं । विश्वका अन्य मुलुकहरू हेर्दा सबैजसो धर्मनिरपेक्ष राष्ट्र बनाएको देखिन्छ ।
बहुलवादी समाजमा धार्मिक विश्वासले सार्वजनिक नीतिहरूका बारे भूमिका खेल्छ । पश्चिमी उदार समाजवादीहरू नैतिक बहुलवाद, नीति निर्माणमा धार्मिक विश्वासको स्थानको बारेमा छलफल गर्छन् । उनीहरू आधुनिक समाजमा कस्ता किसिमका मुद्दाहरू क्रिस्चियन सामाजिक र राजनीतिक चिन्ताको वैधानिक विषय वस्तुहरू हुन्छन् भनेर निकाल्ने प्रयास गर्छन् ( प्लान्ट रेमोन्ड, २००१) । उन्नाइसौँ शताब्दीका चिन्तकहरू— अगस्टे कोम्ते, हर्बर्ट स्पेन्सर, एमिल डर्कहिम, म्याक्स वेबर, कार्ल माक्र्स र सिग्मन्ड फ्रायड— सबैले भविष्यवाणी गरेका छन् :धर्म बिस्तारै महत्वका साथ खस्कँदै जान्छ र औद्योगिक समाजको उदयसँगै महत्वपूर्ण हुन छोड्नेछ ।
धर्म र धर्मनिरपेक्ष : तुलनात्मक धार्मिकता, समाजशास्त्र, जनमत, राजनीतिक आनीबानी, राजनीतिक विकास, सामाजिक मनोविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक परिवर्तनमा चासो राख्ने सबैका लागि महत्वपूर्ण विषय हो ।

धर्म र राजनीतिको गाँठो
यहाँ, ऐतिहासिक भूगोलहरू अध्ययन गर्दा पोल्यान्डमा एकजुट, सोभियत साम्राज्यको विघटन, विभिन्न दक्षिण अमेरिकी, दक्षिणी अफ्रिकी र दक्षिण एसियाली मुक्ति आन्दोलनहरू, संयुक्त राज्य अमेरिकामा क्रिस्चियनहरूको अधिकार, अल कायदाको धार्मिक आधारित राजनीतिक द्वन्द्व आदि विषयवस्तुहरूमा धर्म र राजनीति जोडिएको पाइन्छ । धर्म र राजनीति जोडेर; अयातुल्ला खोमेनीले इरानमा पहलवी राजवंशलाई उखेले । विश्वका मुस्लिम सरकारहरूले इस्लाम भएको दाबी गर्दै आफ्ना राजनीतिक चाहना र आवश्यकताअनुरूप राजनीति र प्रशासनलाई अनुकूलित गर्ने कार्यहरू गरेको पनि देखिन्छन् । अन्य सतहमा देखिने विषयहरू : हाल नजिकैको भारतीय जनता पार्टी जन्मजातदेखि हिन्दूको वकालत, भारतीय राममन्दिर विवाद, चीनमा मुसलमानहरूलाई छुट्ट्याइएको, नेपालको संविधान, २०७२ बिनाअध्ययन र अनुसन्धान धर्मनिरपेक्ष राखिएको, राप्रपा पार्टीको हिन्दू राज्यको माग, बङ्गलादेश र पाकिस्तानमा हिन्दूमाथिको ज्यादती, काश्मीर मुस्लिम वा हिन्दू कसको हुने आदि जोडिँदै हाल नेपालमा ठोरीको राममन्दिर आदि देखिन्छन् । त्यस्तै उदाहरण : नेकपा एमाले, कांग्रेसमा धर्मनिरपेक्षताका विषयहरूमा कुराहरू उठ्नु, जोडिनु र जेलिनुले धर्म र राजनीति सत्ता, शक्ति, भोटसँग अन्योन्याश्रित सम्बन्ध गाँसिएको देखिन्छ । त्यसैले धर्मलाई राजनीतिसँग जोडेर फाइदा लिने शासकहरूको यहाँ कमी देखिँदैन । नेपालका पार्टीहरू र यसको नेतृत्ववर्ग कल्पनातीत, मोहक र मिथ्या राजनीति गरिरहेका छन् । पैसो कमाउने स्वार्थ सिद्धिसँग जोडिएको यो नेपालको राजनीति, धर्मसँग राजनीति जोड्न, होली वाइन काण्ड, भैँसी पूजा, अन्य धर्मको वकालत आदि जनमानसमा नाटक र नौटङ्की देखिएका छन् ।
नेपालका धार्मिक समूहहरू एक आफ्नो धार्मिक पहिचान स्थापित गराउन चाहन्छन् । दोस्रो, धार्मिक सहिष्णुता र सद्भावना प्रकट गरेर आफूलाई नेपाल एक राष्ट्रका रूपमा उभ्याएर राष्ट्रको पहिचान दिन्छन् । सहिष्णुता एक धार्मिक र नागरिक मूल्य हो, यसभित्र नेपालका पार्टीहरू, बिचौलिया वर्ग र फण्डितहरू राजनीति अहिले गरिरहेका छन् । स्थापित मूल्यमान्यता र धार्मिक विश्वासमाथिको खिचातानीले समाज र राजनीतिलाई नै सही दिशातिर डो-याउन सक्दैन । (क्रमशः)
(न्यौपाने ‘संघीयताको अर्थ–राजनीति’ पुस्तकका लेखक हुन् ।)

प्रतिक्रिया दिनुहोस्