एक वर्षमै बढ्यो साढे तीन खर्बको आयात «

एक वर्षमै बढ्यो साढे तीन खर्बको आयात

कोरोना महामारीका बीच पनि एक वर्षको अवधिमा मुलुकमा आयात झण्डै साढे तीन खर्बले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६-०७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँको आयात भएकोमा गत आव २०७७-०७८ मा ३ खर्ब ४३ अर्ब ३८ करोड ६५ लाख ३ हजारले बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६ हजार रुपैयाँको आयात भएको हो ।
विभागका अनुसार, यो अघिल्लो वर्षको तुलनामा २८.६६ प्रतिशतले बढी हो । गत वर्ष कोराना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि कडा निषेधाज्ञा भएकाले आयात कम भएको थियो । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा त्यसको लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात हुन सकेको थिएन । यो वर्ष निषेधाज्ञामा आयात नियमित हुँदा समग्र वस्तुको आयातमा यति धेरै वृद्धि भएको विज्ञहरु बताउँछन् । अघिल्लो वर्ष निषेधाज्ञा कडाई हुँदा अधिकांश सामानको आयात कम भएको र गत आव नियमित भएकाले पनि आयातमा उच्च वृद्धि भएको व्यापार विज्ञ रविशंकर सैजु बताउँछन् । साथै, गत आव उपभोग्य वस्तुको खपत पनि बढेकाले आयातमा वृद्धि भएको उनको भनाइ छ । गत आवमा ७९ अर्ब ५९ करोड २७ लाख ४२ हजारको खाद्यान्न आयात भएको छ भने १६ अर्बको मकै र २१ अर्बको तरकारी आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो एक वर्षको अवधिमा सबै भन्दा धेरै डिजेल, आइरन, स्टिल, भटमासको कच्चा पदार्थ, मोवाइल, ग्यास पेट्रोल, ग्यास, खाद्यान्न आयात भएका छन् ।
विभागका सूचना अधिकारी शिशिर ढुंगानाले निर्माण सामग्री, मेसिनरीका सामान, उपभोग्य वस्तुको आयात बढेकाले यो वर्ष आयात बढी भएको जानकारी दिए । “निषेधाज्ञाको बेला सुरुमा आयात घटेको थियो” उनले भने, “पछि सामानको स्टक सकिएकाले पनि आयातमा हवात्तै बढेको हो ।”
आव २०७७-०७८ मा निर्यातमा ४४.४३ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । आर्थिक वर्ष २०७६-०७७ मा नेपालले ९७ अर्ब ७० करोड ९१ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख पुगेको छ । आव २०७६-०७७ मा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख रुपैयाँ व्यापार घाटा भएको थियो ।
आव २०७६-०७७ मा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियोे । साथै, आव २०७७-०७८ को सोही अवधिमा १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी हो । एक वर्षको अवधिमा नेपालबाट सबैभन्दा बढी भटमासको तेल, कार्पेट, अलैंची, चिया, जुटबाट बनेको कार्पेटलगायत अन्य वस्तु बढी निर्यात भएका छन् ।
एक वर्षको अवधिमा १५ खर्बको वस्तु तथा सेवा आयात गर्दा ४ खर्ब २० अर्ब ९७ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्