बन्द हुन लागेको दोलखा दुग्ध उद्योगले पायो गति «

बन्द हुन लागेको दोलखा दुग्ध उद्योगले पायो गति

दोलखा-दोलखा दुग्ध उद्योग १८ वर्षमा प्रवेश गरेको छ । उद्योगले १८औं साधारणसभा मनाएको छ । उद्योगले लामो समयपछि साधारणसभा मनाएको हो ।
३ नं. सरकारका अर्थ तथा आन्तरिक मामिलामन्त्री कैलाश ढुंगेललगयातका ३ नं. प्रदेशका सांसद र जनप्रतिनिधिको उपस्थितिमा सोमबार सम्पन्न भयो । सञ्चालन खर्च धान्न नसकेर बन्द हुने अवस्थामा पुगेको उद्योग दुग्ध विकास संस्थानले व्यवस्थापन जिम्मा लिएपछि गति लिन थालेको हो ।
स्थापनादेखि सेयरधनीलाई कुनै पनि बोनस दिन नसकेको उद्योगले अघिल्लो वर्ष एक किलो घिऊ बोनस दिएको थियो । उद्योगका अध्यक्ष लालकुमार केसीले लामो समयपछि अब उद्योगले गति लिन थालेको जानकारी दिए । “अहिलेसम्म उद्योग बन्द हुन्थ्यो होला, निजी क्षेत्रलाई भित्र्याउँदा समेत सफल हुन सकेन,” उनले भने, “अहिले चलेर नाफा दिन सक्ने अवस्थामा पुगेको छ ।”
२०५७ सालमा निजी र सार्वजनिक क्षेत्रको संयुक्त लगानीमा स्थापित दोलखा दुग्ध उद्योग लिमिटेड रुग्ण अवस्था पुगेपछि ५ वर्षअघि दुग्ध विकास संस्थानले ५१ प्रतिशत थप सेयर लगानी गरेपछि उसैको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । संस्थानले व्यवस्थापन संहालेपछि उद्योगले पुनर्ताजगी लिन थालेको छ । अघिल्लो वर्ष ७ लाख नाफा कमाएको उद्योगले गत आर्थिक वर्षमा गाडी दुर्घटना हुँदा २ लाख घाटा व्यहोर्नु परेको बताएको छ । यसले आगामी दिनमा उद्योगले बोनस वितरण गर्नसक्ने भन्ने संकेतको रूपमा लिनुपर्ने बताए ।
सुरुवातमा १ करोड चुक्ता पुँजी रहेको उद्योगमा पुँजी र सेयर संरचनालाई कायम राखेर पुँजी वृद्धि गरी जारी पुँजी ५ करोड पु¥याएको अध्यक्ष केसीले बताए । अहिले पुरानो पुँजी ४९ प्रतिशत र डीडीसीको सेयर ५१ प्रतिशत रहेको जानकारी दिए । अहिले डीडीसीको १ करोड २७ लाख, निजी क्षेत्रका ९० जना व्यवसायीको ५१ लाख ९६ हजार ३ सय, १७ वटा सहकारी संस्थाको १० लाख, ६७ हजार २ सय, दोलखा जिविस, रामेछाप जिविससहितका दोलखाका ९ वटा स्थानीय तहको २५ लाख ३६ हजार ५ सय गरी जम्मा २ करोड १५ लाख ५० हजार लगानी उद्योगमा भएको छ ।
चरिकोटमा रहेको उद्योगका लागि चरिकोटको खिम्ती र जिरी पशु फारामसम्म सञ्जाल विस्तार भएर दैनिक औसत १ हजार ५ सय लिटर दुध संकलन भएको उनले जानकारी दिए । जब कि डीडीसीले व्यवस्थापन लिनुभन्दा अघि दैनिक ३ सय लिटर दुध संकलन पनि धौधौ थियो । उद्योगका अध्यक्ष केसीका अनुसार आव ०७४÷७५ मा ४ लाख ६ हजार १२१ लिटर दूध संकलन गरी किसानलाई १ करोड ८१ लाख ६९ हजार ९५६ रुपैंयाँ भुक्तानी गरेको उद्योगका प्रबन्ध सञ्चालक राजिव खनालले जानकारी दिए ।
जुन अघिल्लो आवमा उद्योगले ३ लाख ४४ हजार २९० लिटर दूध संकलन गरी किसानलाई १ करोड ४६ लाख ५८ हजार ३ सय भुक्तानी गरेको थियो । उद्योगबाट दूध दही, पनिर, पेडा, क्रिम, मखन, घिउ उत्पादन हुँदै आएको छ । उद्योगले बढी भएको दूधबाट चिज र छुर्पी बनाएर बाहिर बेच्नेसमेत तयारी गरेको छ ।
एक हजार पाँच सय प्रतिघण्टा क्षमताको यन्त्र जडान छ तर दूध पुगेन । अहिले पुराना उपकरण पनि मर्मत गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । पछिल्लो समयमा दूध संकलन पनि वृद्धि हुँदै गएकाले उद्योग नाफामा जाने बताए । किसानहरुको विश्वास बढेकाले अब स्थानयि तहले पशुपालनका क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
उद्योगले दुध संकलनका लागि क्षेत्र विस्तार गर्ने र पुराना उपकरण व्यवस्थापनका लागि थप सेयर समेत जारी गर्नु पर्ने अवस्था रहेको जनाएको छ । जिविस दोलखाको विशेष पहल र स्थानीय स्वायत्तशासन कार्यक्रमको प्राविधिक सहयोगमा निजी तथा साझेदारी कार्यक्रमअन्तर्गत २०५७ सालमा यो उद्योग प्रारम्भ भई उत्पादनमा गएको हो ।

प्रतिक्रिया दिनुहोस्