सदरमुकाममा रहेको एकमात्र विद्यालय उच्चजोखिममा «

सदरमुकाममा रहेको एकमात्र विद्यालय उच्चजोखिममा


मनाङको सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय उच्चजोखिममा परेको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालयका केही भवन बगाउनुका साथै आगनमै मस्र्याङ्दी नदी बग्न थालेपछि उच्चजोखिममा परेको हो ।
गतअसार १ गते देखिको वर्षासँगै नदीमा आएको बाढीले मोटरेबल पुलमा थुनिएर नदीले धार परिवर्तन गरेपछि विद्यालय जोखिममा परेको हो । मंगलबारमात्रै नदीमा आएको बाढीले झोलुंगे पुल बगाएसँगै विद्यालय पनि थप जोखिममा परेको हो ।
नदीले धार परिवर्तन गरेसँगै बुधबार राती विद्यालयको आवास गृह, सोलार, धारालगायत विद्यालयको खेल मैदान पूरै बगाएको छ । विद्यालयको ६ कोठे आवासीय भवन नदीले बगाएको हो । करिब एक सय विद्यार्थी अट्ने भोजन गृह यसअघि नै नदीले बगाइसकेको विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए ।
प्रअ कोइरालाका अनुसार अहिले विद्यालयको खेल मैदानमा मस्र्याङ्दी नदी बगेको छ । नदीमा आएको बाढीले कटान गर्ने क्रम जारी रहेकाले विद्यालयमा पठनपाठन हुने कक्षाकोठा रहेको मुख्य भवन उच्चजोखिममा छ । आगनमै नदी बगेका कारण अब सो विद्यालयमा पठनपाठन गर्न सम्भव नभएको प्रअ कोइरालाले बताए ।
बाढीका कारण विद्यालय जोखिममा परेसँगै शिक्षक एवं प्रहरीको सहयोगमा विद्यालयका महत्वपूर्ण कागजपत्र तथा कम्प्युटर सुरक्षित ठाउँमा सारिएको छ । कागजपत्र सुरक्षित ठाउँमा सारिए पनि भौतिक संरचना बगाउँदा करोडांै रुपैयाँको क्षति भएको विद्यालयले जनाएको छ । सेना प्रहरीको सहयोगमा विद्यालयमा क्षति हुन नदिन ग्याबिन जाली लगाउने प्रयास भए पनि सम्भव नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
विश्वव्यापी कोभिड–१९ संक्रमण जोखिमका कारण देशभरका सामुदायिक विद्यालय जस्तै हाल लोकप्रिय माविमा पनि पठनपाठन भने सुचारु भएको छैन । यही साउनको अन्तिम साता कक्षा १२ को परीक्षा सञ्चालन हुने भएकाले परीक्षा सञ्चालनको निम्ती विकल्प खोज्नुपर्ने बाध्यता रहेको विद्यालयका पूर्व प्रअ एवं शिक्षक सुरेश थापाले बताए ।
२०४० सालमा स्थापना भएको लोकप्रिय माध्यमिक विद्यालय जिल्लाकै नमुना विद्यालय हो । केही वर्षयता सो विद्यालयमा अंग्रेजी माध्यममा समेत पढाइ हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्