अस्पताल बनाउन १ करोड दान «

अस्पताल बनाउन १ करोड दान

दमौली-तनहुँको बन्दीपुर पुख्र्यौली घर भई हाल चितवन बस्ने कृष्णलाल प्रधान र चिरञ्जीवी प्रधानले बन्दीपुर अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ दान गरेका छन् । आफ्ना स्वर्गीय बुबा शम्भुलाल प्रधान र आमा बालकुमारी प्रधानको स्मृतिमा उनीहरूले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ दान गरेका हुन् ।
बन्दीपुरमा हाल रहेको अस्पताल भवन जीर्ण भएपछि गाउँपालिकाले नयाँ भवन निर्माण सुरु गरेको छ । जसको सोमबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शिलान्यास गरेका छन् । आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देश्यसहित अस्पताल बनाउन एक करोड रुपैयाँ गाउँपालिकालाई प्रदान गरेको कृष्णलाल प्रधानले जानकारी दिए । गाउँपालिकाले अस्पताल निर्माणका लागि केही रकम सहयोग गर्न आग्रह गरेपछि आफूहरूले बुबाआमाको स्मृतिमा रकम प्रदान गरिएको उनले बताए ।
“सामाजिक क्षेत्रका लागि केही रकम दान गर्ने सोच बनाएका थियौं, गाउँपालिकाले अस्पताल भवन बनाउन लागेको रहेछ,” प्रधानले भने, “अस्पतालजस्तो क्षेत्रमा लगानी गर्न पाउँदा हामीहरूलाई खुसी लागेको छ ।”
गाउँपालिका अध्यक्ष थापाले अस्पताल भवन बनाउन प्रधान परिवारले गरेको सहयोग अतुलनीय रहेको बताए । उनले भने, “अस्पतालको भवन बनाउन अत्यावश्यक भएको थियो, उहाँहरूबाट ठूलो रकम सहयोग प्राप्त भयो ।” अस्पताललाई मानव अंग प्रत्यारोपण केन्द्र वा ज्येष्ठ नागरिक अस्पतालको रूपमा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको थापाले जानकारी दिए । करिब ६ करोड रुपैयाँको लागतमा बन्ने अस्पताल भवन चार तल्लाको हुनेछ । तत्कालका लागि भने दुई तल्लाको बनाइने र एक तल्ला प्रधान परिवारको स्मृतिमा नामकरण हुनेछ ।
एक तल्ला भवन तीन महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु भइसकेको थापाले जानकारी दिए । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले समेत केही रकम हाल्ने र अपुग रकम बन्दीपुरवासीसँग संकलन गरिने थापाले बताए । “अपुग रकमका लागि बन्दीपुर घर भई हाल जिल्ला बाहिर रहेका महानुभावसँग पनि अनुरोध गरिनेछ,” उनले भने । उनका अनुसार अस्पताल भवन निर्माणका लागि प्रधान परिवारले थप ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्