पुल नहुँदा यात्रुलाई सास्ती «

पुल नहुँदा यात्रुलाई सास्ती


पूर्वमन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टको क्षेत्रमा पर्ने व्यस्त सडकमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका हुन् ।
विष्टको निर्वाचन क्षेत्रमा धेरै आशा गरिएको यो मदन भण्डारी राजमार्गमा सडक पक्की बन ेपनि खोलामा पक्की पुल नबन्दा वर्षायामको समयमा यात्रुले सधै हैरानी खेप्नु परेको छ । जिल्लाको मालिका गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका नागरिकले यात्रा गर्दा उक्त सडक खण्डका खहरे खोलामा वर्षेनी सास्ती खेपिरहेका छन् । एक झर पानी परिहाल्यो भने त्यस क्षेत्रका खोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेकोले पानी पर्ने वा नपर्ने मौसम हेरेर हिँड्नुपर्ने बाध्यतामा रहेको सवारी चालक भीमबहादुर कार्कीले बताए । माथिमाथि ठूलो पानी पर्दा खोला बढेपछि निकै जोखिम मोलेर यात्रा गर्दा यात्रुसहित हामी दैनिक असुरक्षित बन्नु परेको उनले गुनासो गरे ।
तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डका ५ वटा खोलामा पक्की पुल छैनन् । यस सडक खण्डको झर्ना, हुलाके, धनार्जी, फूलबारी र सिलादी गरी कुल पाँचवटा खोलामा पक्की पुल छैनन् । यो सडक सर्वसाधारण मात्र हिँड्ने सडक होइन । मालिका गाउँपालिकाका जनप्रतिनिधि, मदाने गाउँपालिकाका जनप्रतिनिधि, इस्मा गाउँपालिकाका जनप्रतिनिधि र विकल्प भए पनि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिसमेत हिँड्ने सडक हो । तर, अहिलेसम्म कसैले पहलकदमी काम भने गर्न सकेका छैनन् ।
मालिका गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापाले यस्तो संवेदशील कुरामा संघीय सरकार गम्भीर नबन्नु दुःखद भएको बताए । “यस्ता ठूला आयोजनाका काम संघीय सरकारमार्फत हुने गर्दछन् ।” गाउँपालिकाका अध्यक्ष थापाले भने, “खोलामा पुल नहँुदा एक्कासि बिरामी परेका र दुर्घटनामा परेकाले समयमा उपचार पाउन नसक्दा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ ।” स्थानीय सरकारले यस्ता ठूला योजनाको काम गर्न नसक्ने भन्दै संघीय सरकारले खोलामा पुल नबन्दा बिरामीको ज्यान जाने कुरालाई प्राथमिकतामा राख्न नसक्नाले आफूसहित मालिकावासी दुःखी भएको अध्यक्ष थापाले प्रतिक्रिया दिए ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका प्रमुख सशांंक मिश्रले यस आर्थिक वर्षमा पाँचवटा पक्की पुलका लागि ठेक्का हुने बताएका छन् । पक्की पुलका लागि पक्रियाहरु अगाडि बढाएर यस वर्ष ठेक्का हुने भनाई छ । सडक बनेको ३० वर्षपछि पक्की सडक भएको मदनभण्डारी राजमार्गको यो खण्डमा अझै पक्की पुल बन्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्