गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पायो, अग्रपंक्तिमा खटिनेलाई एक करोड विनियोजन «

गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पायो, अग्रपंक्तिमा खटिनेलाई एक करोड विनियोजन


अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहनस्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री रामजी प्रसाद बरालले शुक्रबार शपथसहित पदभार ग्रहण गर्दै कोभिड १९ सँग सामना गर्न विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभाव अझै पनि गण्डकी प्रदेश तथा नेपालमा पनि रहेकोले त्यसको विरुद्ध अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहन स्वरुप एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।
मन्त्री बरालले आफूहरुले जति सक्दो छिटो कोरोना बिरुद्धको खोप ल्याउने गृहकार्यमा केन्द्रित हुने बताएका छन् । शुक्रबार शपथ ग्रहण लिएका उनले अर्थ मन्त्रालयका कर्मचारीलाई समेत केही निर्देशन दिएका छन् । क्षमता, दक्षता र सृजनशिलता आवश्यकता अनुरुप कार्यान्वयन गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै काम सम्पन्न गर्ने दाहित्व सवैले वहन गर्नुपर्नेमा जोड दिए । विना हिचकिचावट ढुक्क भएर आवश्यकताको आधारमा योजना कार्यान्वयन गर्न कुनै प्रकारको कठिनाइ र हस्तक्षेप नहुने मन्त्री बरालले बताए ।
उनले गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि गर्न संघको बजेट मात्र विनियोजन गरेर चलाएर नहुने बताए । प्रदेशलाई क्रमशः आत्मनिर्भर बनाउनको निम्ति श्रोतहरु के के हुन् त्यसको पहिचान गर्नु पर्ने मन्त्री बरालको भनाइ रहेको छ ।
अर्थका श्रोतहरु ध्यान केन्द्रित गर्ने गरी पुँजिगत खर्चलाई अधिकतम ढंगले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालको भनाइ छ । पुँजिगत खर्च गर्न नसकेको अवस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने उनको भनाइ छ ।
अर्थ मन्त्रालयका सचिव रमेश केसीले आफ्नो मन्त्रालयमा ४७ जनाको कर्मचारी दरवन्दी भए पनि हाल २८ जना मात्र भएको बताए । अहिलेको अवस्थामा ३६ जना कर्मचारी भए पनि हुने गरी कर्मचारी व्यवस्थापनको लागि मुख्यमन्त्री कार्यालयसम्म माग गरिएको मन्त्री समक्ष जानकारी गराएका थिए ।

मन्त्रीमण्डलले पूर्णता पायो
गण्डकी प्रदेशमा करिब एक महिना पछि मात्र मन्त्रीमण्डलले पूर्णता पाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिनापछि माओवादी केन्द्र र कांग्रेसका ३÷३ मन्त्री सहित मन्त्री मण्डल विस्तार गरेसँगै मन्त्री मण्डलले पूर्णता पाएको हो ।
माओवादी केन्द्रबाट दलका उपनेता रामजी प्रसाद बराल जीवनले अर्थ मन्त्रालय, माओवादीका चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र माओबादीकै दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण मन्त्रालय सम्हालेका छन् ।
त्यसै गरी शहरी विकास तथा यातायात मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालय र मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवार सम्हालेका छन् ।
कांग्रेसका कुमार खड्काको जिम्मेवारी हेरफेर भएको छ । उनलाई हाल भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ । यस अघि उनले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मा सम्हालेका थिए ।
माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् भने जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । त्यसै गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्रालयले जिम्मा सम्हालेका छन् । उनी तेश्रो पटक मन्त्री भएका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी थिइन् । सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री मधुमाया अधिकारी, मन्त्री राजीव गुरुङको सहभागिता रहेको थियो भने जसपाबाट मन्त्री भएका हरिशरण आचार्य सपथ ग्रहणमा सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस्