कांग्रेस वडा तहको अधिवेशन स्थगित «

कांग्रेस वडा तहको अधिवेशन स्थगित

आसन्न १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले पार्टीको वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गरेको छ ।
पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीको शनिबार बिहान सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले साउन १२ गतेबाट सुरु हुने भनि तोकिएको वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

तर भाद्र १६–१९ गते हुने भनिएको महाधिवेशनको अन्य कार्यतालिका भने कायमै रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले स्पष्ट पारे । उनले भने, “साउन १२ गते सुरु हुने भनेर निर्धारण गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने छलफल भएको छ । तर महाधिवेशनको अन्य कार्यतालिका भने कायमै छ । साउन १२ गते मंगलबार बिहान पार्टीको क्रियाशील सदस्यता छानवीन समितिले पार्टी सभापतिलाई आफ्नो प्रतिवेदन बुझाएपछि त्यसलाई अध्ययन गरेर पार्टीको केन्द्रिय कार्य समितिले वडा तहको अधिवेशनको मिति तय गर्नेछौं ।”
नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविनका क्रममा देखिएको विवाद केन्द्रिय कार्य समितिको बैठकबाट टुंगो लगाउने पनि स्पष्ट पारेको छ । शनिबारको बैठकमा पनि सभापति देउवाले सो विवादलाई लिएर पार्टी केन्द्रिय कार्यालयमा धर्ना बसेका नेता, कार्यकर्ताहरुको माग सुनुवाई गर्न पार्टीका नेताहरुलाई सचेत गराएको प्रवक्ता शर्माले बताए । बैठकले महाधिवेशनको तयारीमा क्रियाशील रहने काममा कुनै कमी आउन नदिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्