बोनस स्वरूप आधा किलो घ्यू वितरण «

बोनस स्वरूप आधा किलो घ्यू वितरण

दोलखा दुग्ध उद्योगले स्थापनाको १७ वर्षपछि शेयरधनीलाई पहिलो पटक बोनस वितरण गरेको छ । स्थापनादेखि कुनै पनि बोनस दिन नसकेको उद्योगले १७ औं वार्षिक साधारणसभामा उपस्थित शेयर सदस्यहरूलाई बोनस स्वरूप आधा किलोग्राम घ्यू वितरण गरेको हो ।
२०५७ सालमा निजी र सार्वजनिक क्षेत्रको संयुक्त लगानीमा स्थापित दोलखा दुग्ध उद्योग लिमिटेड रुग्ण अवस्थामा पुगेपछि ४ वर्ष अघि दुग्ध विकास संस्थानले ५१ प्रतिशत थप सेयर लगानी गरेपछि उसैको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । संस्थानले व्यवस्थापन सम्हालेपछि उद्योगले पुनर्ताजगी लिन थालेको छ । शेयरधनीलाई रित्तो हात नफर्काउने उद्देश्यले आधा किलो घ्यू वितरण गरिएको उद्योगका अध्यक्ष लालकुमार केसीले बताए । यसलाई आगामी दिनमा उद्योगले बोनस वितरण गर्न सक्ने भन्ने संकेतको रूपमा लिनुपर्ने उनले बताए ।
शुरुमा १ करोड चुक्ता पुँजी रहेको उद्योगले पुँजी र शेयर संरचनालाई कायम राखेर पुँजी वृद्धि गरी चुक्ता पुँजी ५ करोड पु¥याएको अध्यक्ष केसीले बताए । अहिले पुरानो पुँजी ४९ प्रतिशत र डीडीसीको सेयर ५१ प्रतिशत रहेको उनले जानकारी दिए । अहिले डीडीसीको १ करोड २७ लाख, निजी क्षेत्रका ९० जना व्यवसायीको ५१ लाख ९६ हजार ३ सय, १७ वटा सहकारी संस्थाको १० लाख, ६७ हजार २ सय, दोलखा जिविस, रामेछाप जिविससहितका दोलखाका ९ वटा स्थानीय तहको २५ लाख ३६ हजार ५ सय गरी जम्मा २ करोड १५ लाख ५० हजार लगानी उद्योगमा भएको छ ।
चरिकोटमा रहेको उद्योगका लागि चरिकोटको खिम्ती र जिरी पशु फारामसम्म सञ्जाल विस्तार भएर दैनिक औसत १ हजार ५ सय लिटर दूध संकलन हुने गरेको छ । जबकी डीडीसीले व्यवस्थापन लिनुअघी दैनिक ३ सय लिटर दूध संकलन गर्न पनि मुस्किल पर्ने गरेको थियो ।
उद्योगका अध्यक्ष केसीका अनुसार उद्योगले आर्थिक वर्ष २०७३÷७४ मा ३ लाख ४४ हजार २९० लिटर दूध संकलन गरी किसानलाई १ करोड ४६ लाख ५८ हजार ३ सय भुक्तानी गरेको छ । उद्योगबाट दूध, दही, पनिर, पेडा, क्रि, मखन, घ्यू उत्पादन हुँदै आएको छ । उद्योगबाट बढी भएको ६ हजार लिटर दूध डीडीसीलाई समेत बिक्री गरेको छ ।
पछिल्लो समय दूध संकलन पनि वृद्धि हुँदै गएकाले उद्योग नाफामा जाने अध्यक्ष केसीले बताए । किसानको विश्वास बढेकाले अब स्थानीय तहले पशुपालनका क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनको जोड छ ।
जिविस दोलखाको विशेष पहल र स्थानीय स्वायत्त शासन कार्यक्रमको प्राविधिक सहयोगमा निजी तथा साझेदारी कार्यक्रमअन्तर्गत २०५७ सालमा यो उद्योग स्थापना गरिएको हो । तत्कालिन जिविस सभापति लालकुमार केसीकै पहलमा स्थापना उद्योग भएकैले पनि हालसम्म निरन्तर उद्योगका अध्यक्ष पनि केसी नै रहेका छन् । भीमेश्वर नगरपालिका–६ चोथाङमा सात रोपनी जग्गामा भवन निर्माण भई मेसिन जडानसमेत भएको छ । उद्योगमा अहिले डीडीसीका प्रतिनिधिहरू, निजी क्षेत्र र स्थानीय तहका प्रतिनिधि सञ्चालक छन् ।

प्रतिक्रिया दिनुहोस्