सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र चाहिन्छ : अर्थमन्त्री «

सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र चाहिन्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघको टोलीसँग भएको भेटघाटमा उनले सहकारीमा विकृति बढिरहेको र यसलाई नियमन गर्नका लागि छुट्टै संयन्त्र बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
सहकारीसँग ठूलो नेटवर्क भएपनि यसमा जम्मा भएको पुँजी उत्पादनशिल क्षेत्रमा लगानी नभएको भन्दै अर्थमन्त्री शर्माले यसका लागि सहकारी अभियानबाट प्रतिवद्धता आवश्यक भएको बताए । “सहकारीलाई अप्ठेरो परेका विषयमा सहजिकरण गर्न सरकार तयार छ” उनले भने, “अब सहकारीको लगानी गाडी, जग्गामा भन्दा पनि कृषि उत्पादन, उद्योगमा गर्नुपर्छ । त्यसका लागि अभियानबाट प्रतिबद्धता चाहिन्छ ।”
भेटमा महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको वर्तमान अवस्था र यसले नेपालको अर्थतन्त्रमा खेलेको भूमिको विषयमा प्रष्ट पार्दै सहकारी क्षेत्रलाई डिजिटलाइजेसनमा जानका लागि सहज वातावरण बनाउन आग्रह गरे । उनले ३० हजार सहकारीमा ७३ लाख भन्दा बढी सदस्य रहेको, ५६ प्रतिशत महिलाको आवद्धता रहेको र ७ खर्ब पुँजी परिचालन गरेको जानकारी दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीलाई उत्पादनशील क्षेत्रमा, उद्योगमा लगानी गर्नका लागि ऐनहरु बाधक रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने माग गरिन् । लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी अभियानलाई अगाडि बढाउन आवश्यक पर्ने विषयमा लिखित रुपमा जानकारी गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्